शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्ष जेल बसेर छुटेपछि फेरि चरेस कारोबार

अन्तर्राष्ट्रिय बजारमा नेपालबाट चरेस पठाउने ९ जना पक्राउ
मङ्गलबार, ०५ असोज २०७८, १७ : २२
मङ्गलबार, ०५ असोज २०७८

नुवाकोट जिल्लाको विदुर नगरपालिका–१३ घर भएका ५२ वर्षीय उर्पा तामाङ उर्फ सेसे १९ वर्ष जेल बसेका छन् । २०५४ सालमा खैरो हेरोइन सहित पक्राउ परेर जेल परेका सेसे २०७३ मा जेलबाट निस्किए । तर, उनी अझै सुध्रेका छैनन् । 

लागु औषध नियन्त्रण ब्युरोले उनलाई फेरी पक्राउ गरेको छ । उर्पा तामाङ ‘सेसे’लाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको ब्युरोका प्रमुख (एसएसपी) हृदय थापाले रातोपाटीलाई बताए । 

लागु औषध ‘खैरो हेरोइन’ मुद्दामा जेल गएका सेसेले अहिले चरेस तस्करीको ‘धन्दा’ शुरु गरेका छन् । नेपालबाट भारतको बाटो हुँदै हङकङ, थाइल्याण्ड र टर्की सहितका मुलुकमा चरेस पठाउने समूहका ९ जनालाई पक्रेर ब्युरोले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

म्याग्दी घर भएका श्याम प्रसाद रोका (३६ वर्ष) र वीर बहादुर रोका मगर (३५ वर्ष)लाई ब्युरोको टोलीले भदौ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरू कतार एयरवेजको विमानमार्फत दोहा जान लागेका थिए । श्याम प्रसाद र वीर बहादुरको साथबाट प्रहरीले ४ किलो ३५ ग्राम लागु औषध ‘चरेस’ बरामद गरेको छ । उनीहरूलाई चरेस पठाउने समूहबारे अनुसन्धान गर्दै जाँदा थप ७ जना पक्राउ परेका हुन् । 

विमानस्थलबाट पक्राउ परेकाहरूको बयानका आधारमा म्याग्दीका दिल बहादुर रोका (४४ वर्ष), धादिङ घर भएका अनिल बहादुर घले (३३ वर्ष), जित बहादुर तामाङ उर्फ याङ्की (२८ वर्ष) र ३६ वर्षका माइला भन्ने कृष्ण बहादुर तामाङ पक्राउ परे । 

कतार पठाउन भनी चरेस दिने व्यक्ति थिए उर्पा तामाङ ‘सेसे’ । सेसेको बयानका आधारमा नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई भदौ ३० मा ब्युरोले पक्राउ गरेको छ । प्रहरीले सो समूहबाट ७ किलो ६ सय ग्रामभन्दा बढी चरेस बरामद गरेको छ । 

डायरी र हेन्डीक्राफ्टमा लुकाएर ‘कारोबार’ 

टोखा नगरपालिका–३ स्थित कपनमा रहेको उर्पा तामाङ उर्फ सेसेको डेरा छ । त्यहाँ उनले चरेशलाई नोटबुक र हेन्डीक्राफ्ट भित्र चरेस लुकाउने कारखाना नै सञ्चालन गरेको भेटिएको छ । 

नेपाली कागजबाट बनेका डायरी र ऊनबाट बनाइएका विभिन्न रङका हेण्डिक्राफ्टमा कार्बन पेपरले छोपेर विदेश पठाउन चरेस तयार गर्ने गरिएको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ । सो समूहले विदेश जानेहरूलाई ति डायरी र हेण्डीक्राफ्ट सहितको सुटकेस दिएर ‘मेरो मान्छेलाई दिनु’ भनेर पठाउने गरेका थिए । 

‘विदेश जानेहरूलाई सो सामान चरेस भन्ने थाहा दिँदैनथे’ एसएसपी हृदय थापा भन्छन्–‘कपडा र डायरी छ भनेर पठाउँथे र सम्बन्धित मुलुकमा पुगेपछि रिसिभ गर्ने मान्छे तयार गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’ 

सो समूहले भारतीय नागरिकसँग मिलेर कलकत्ता हुँदै पानि जहाजबाट थाइल्याण्ड लगायतका देशमा चरेस पठाउने गरेका थिए । भरियालाई जहाजको टिकट र होटलबास खर्च दिएर उनीहरूले प्रयोग गरेको एसएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप