शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी  : चार दलबाट यी १८ जना बन्दैछन् मन्त्री

बुधबार, १३ असोज २०७८, ०८ : ००
बुधबार, १३ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् ।

असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट दिने भनेका थिए । आइतबार पनि देउवाले उनीहरूलाई मन्त्रीको नाम दिन ताकेका गरेका थिए । त्यसपछि प्रचण्ड, माधव र उपेन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका हुन् ।

यता, काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । उनीहरूले मन्त्री बन्नेको सूची बुझाएपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

माधव र उपेन्द्रलाई परेको पार्टीगत रूपमा कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ७५ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् ।

देउवाले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष यादव मधेसमा रहेकाले बिहीबारसम्मका लागि धकेलिएको हो । यादव बुधबार काठमाडौँ आइपुगेपछि गठबन्धनको बैठक बसेर मन्त्रीको भागबण्डा र मन्त्रिपरिषद् विस्तारको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । भोलि बस्ने बैठक मन्त्रालयगत भागबण्डा टुङ्ग्याउने छ ।

मंगलबार नै गठबन्धनको बैठक राख्ने तयारी भए पनि जसपा अध्यक्ष यादव काठमाडौँ बाहिर भएकाले सोमबार र मंगलबार सत्तारुढ गठबन्धनको बैठक बसेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार गठबन्धनको बैठक बस्ने तयारी छ ।

पौडेल–सिटौला समूहबाट को को बन्दै छन् मन्त्री ?

बुधबारसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रधानमन्त्री देउवाको आग्रह छ । पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ ।

पौडेल समूहले तीनजना मन्त्री पाउने अपेक्षाका साथ पाँच जनाको नाम छलफलका लागि अगाडि सारेको थियो । तर, अब पाँच जनाबाट दुई जनाको नाम छनोट गर्नुपर्ने भएको छ ।महामन्त्री शशांक कोइराला निकट स्रोतका अनुसार काँग्रेसबाट मन्त्रीमा महिलाको सहभागिता नभएकाले सुजाताको सम्भावना बलियो छ ।

प्रधानमन्त्री देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर, आफ्नो समूहबाट ४ जना मन्त्री बनाउँदा देउवाको रोजाइमा भुसाल पर्न सकिनन् । त्यसको लाभ सुजातालाई पर्ने देखिएको छ ।

सुजाताले पनि महामन्त्री शशांक कोइरालामार्फत उपप्रधानमन्त्रीसहित सरकारमा जान लबिङ गरिरहेकी छन् । तर, यस पटक उपप्रधानमन्त्री नराख्ने प्रधानमन्त्री देउवाको अडान छ । सुजाताले उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने इच्छा जाहेर गएकाले उनको सम्भावना बलियो देखिएको पौडेल समूहका एक नेताले रातोपाटीलाई जानकारी दिए ।

ती नेताले भने, ‘हाम्रो समूहले पहिला तीनजना मन्त्री पाउने आशा थियो । प्रधानमन्त्रीजीले किस्ता–किस्तामा गरी आफ्नै समूहका चार जनालाई मन्त्री बनाइसक्नुभयो । काँग्रेसले ७ मन्त्रालय मात्र पाउने कुरा सुनिन्छ । एक मन्त्रालय सिटौलाजी होला । अब हामीले दुई मन्त्रालय मात्र पाउने अवस्था देखियो । हाम्रो समूहभित्रका कमन मान्छेलाई मन्त्री बनाउनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आफू निकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै असोज ६ गते देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका  छन् । अब काँग्रेसले पाउने तीन मन्त्रालयमा पौडेल र सिटौलाको कोटा मात्र बाँकी छ ।

ती नेताका अनुसार शशांक कोइरालाले सुजाता, मिनेन्द्र र दिलेन्द्रमध्ये एकजनालाई मन्त्री बनाउनेछन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले तेजुलाल चौधरी र राजन केसी मध्येबाट एक जना छान्ने अवस्था छ । चौधरी पौडेलसँग नजिक छन् भने केसी सिंह निकट हुन् ।

ती नेताका अनुसार कोइराला परिवार र पौडेल–सिंह मध्येबाट दुई जनाको नाम मन्त्रीका लागि पठाइने भएको छ । त्यसमा सुजाता र तेजुलालको सम्भावना बलियो देखिएको ती नेताको भनाइ छ । यता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने भएका छन् ।

सोमबार साँझ सिटौलाले मन्त्री छनोटका विषयमा छलफल गरेका थिए । सुरुमा सिटौलाले यसपटक चौधरीलाई मौका दिनुपर्ने धारणा राखेका थिए । देउवाको नेतृत्वमा सरकार बनेको केही दिनमै गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानसँग सिटौलाले छलफल गरेका थिए । उक्त छलफलमा सिटौलाले भनेका थिए, ‘गगन र भीमसेनजी यसअघि मन्त्री भइसक्नुभएको छ । अब उमाकान्तजीलाई मौका दिनुपर्ला ।’

तर, यतिबेला गगन थापा सिटौला समूह परित्याग गरी पौडेल समूहमा पुगेपछि चौधरी र प्रधानमध्ये एक मन्त्री बन्ने पक्का देखिएको काँग्रेस नेताहरू बताउँछन् । पौडेल समूहबाट तेजुलाल चौधरी मन्त्री बनेको अवस्थामा समावेशीका आधारमा आफूले मौका पाउने प्रधानको आशा छ ।

महाधिवेशनमा काठमाडौँलाई मध्यनजर गरी देउवाले आफ्नो नाम पठाउन सिटौलालाई सुझाउने उनको बुझाइ छ ।

माओवादी केन्द्रबाट को-को ?

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आकाङ्क्षीसँग आन्तरिक छलफल थालेको पाइएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार मन्त्री छनोटको जिम्मेवारी पाएका प्रचण्डले आन्तरिक छलफल लागेका छन् । 

यस्तै बुधबार आज बस्ने नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताए । मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो ।

यसअघि जनार्दन शर्मालाई र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाएको छ । अब माओवादीले चार मन्त्री पाउने छ । अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने नीति लिएपछि नेता नारायणकाजी श्रेष्ठ भने मन्त्रीको रिङबाट आउट हुन पुगेका छन् ।

एकीकृत समाजवादीमा लाग्यो मन्त्रीको टुंगो

एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।

एकीकृत समावादीबाट खतिवडाको नेतृत्व गर्ने विषय समेत टुंगिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्री छनोटमा पार्टीभित्र कुनै समस्या नभएको बताए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न चाहँदा अब एकीकृत समाजवादीमा कुनै बाधा नरहेको उनको भनाइ छ ।

यी हुन् जसपाबाट मन्त्री बन्नेहरु

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ ।​ तर​ नेतात्रयले मन्त्री बन्ने नेताहरूको नाम टुंगाइसकेको जसपाको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

ती नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप