शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उम्रिन थाल्यो डुबेको धान

किसान भन्छन्– सरकारले उद्धारमा सहयोग गरेन
शुक्रबार, ०५ कात्तिक २०७८, १६ : १८
शुक्रबार, ०५ कात्तिक २०७८

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।

धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए । उनले भने, ‘तैपनि त्यसलाई बचाउन सकिन्छ कि भनेर हामीले प्रयास गरिरहेका छौं, बाहिर निकालेर सुकाएपछि केही धान त काम लाग्छ कि भन्ने आशा छ । हेरौं, के हुन्छ !’

बडायत जस्ता धेरै किसानको हालत उस्तै छ । खेतमा काटेर राखिएको धान डुबानमा पर्दा अहिले धानको दानामा टुसा आइसकेको छ, तै पनि केही धान जोगिन्छ कि भन्ने आशमा किसानहरु धान निकाल्ने प्रयासमा छन् ।

पाकेको धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा गत आइतबारदेखि अविरल वर्षाका कारण खेत नै डुबानमा परेको हो । पाँच दिनसम्म डुबेको धानमा टुसा उम्रिन थालेको छ ।

पानीभित्रै रहेको धान परालसहित कुहिन थालेको छ भने पानीबाट बाहिर निकालेर थुपारेर राखिएको धानमा टुसा उम्रिन थालेको कैलालीका किसान प्रकाश थापाले बताए । पछिल्लो तथ्याङ्क अनुसार कैलालीमा ७० प्रतिशत धान नोक्सान भएको छ । ‘जहाँ धेरै पानी जमेको छ, त्यहाँबाट अझै पनि धान निकाल्न सकिएको छैन, त्यस्तो धान कुहिन थालिसकेको छ । कतिपय किसानले धान बाहिर निकाले पनि त्यसमा टुसा उम्रिन थालेको छ,’ थापाले रातोपाटीसँग भने ।

चार÷पाँच दिनदेखि डुबेका कारण अब न धान काम लाग्ने, न त पराल नै काम लाग्ने उनको भनाइ छ । उनले भने, ‘पानीमा डुबेको धानलाई किसान आफैले निकालेर बाहिर राख्न सम्भव नै थिएन, चार दिनसम्म लगातार पानी परिरह्यो, घरबाट निस्किने अवस्था पनि थिएन, तै पनि कतिपय किसानले धान निकाल्ने प्रयास गरे तर पनि धानलाई जोगाउने अवस्था छैन ।’

उनका अनुसार सुरुमै पानीबाट निकाल्नका लागि सरकारले सहयोग गरेको भए किसानलाई केही राहत मिल्न सक्थ्यो ।

राष्ट्रिय कृषक समूह महासंघको लुम्बनी प्रदेश सचिवसमेत रहेका बर्दियाका किसान पूर्णसिंह साउद कतिपय किसानले पानीबाट धान निकाले पनि त्यसलाई सुकाउन नपाउँदा उम्रिएर टुसा पलाएको बताउँछन् । ‘किसानले जसोतसो खेतबाट उठाएको चिसो धानलाई सुकाउनसम्म पनि सरकारले सहयोग गरेको खण्डमा केही राहत मिल्थ्यो,’ उनले भने, ‘घाम लागेको छैन, धान नसुकाउने हो भने अब उम्रिएर सबै कुहिन्छ ।’

टुसा लागेको धानलाई कसरी जोगाउने ?

धान विज्ञका अनुसार टुसा लागिसकेको धानलाई पनि जोगाउन सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धान वैज्ञानिक डा.रामवरण यादवले कैलाली, कञ्चनपुरतिर पानीमा डुबेको धानको बालामा टुसा आइसकेको भए पनि त्यसमा आत्तिनु नपर्ने बताए । उनले भने, ‘त्यो धान बिग्र्रिँदैन, त्यसलाई उसिनेको चामल, च्युरा र भुजा बनाउन सकिन्छ ।’

उनका अनुसार भिजेको धान (परालसहित) पैडल प्रेसर प्रविधिबाट झार्न सकिन्छ । ‘त्यसका लागि नसुकाए पनि हुन्छ र, त्यो धानलाई सिधै स्टीम गरेर चामल बनाउन सकिन्छ वा च्युरा बनाउन सकिन्छ,’ उनले भने, ‘टुसा आए पनि त्यो नकुहिएसम्म काम लाग्छ, किनभने त्यसमा पात आउँदैन, जरामात्र आउँछ, जरा आए पनि उसिना चामलका रुपमा प्रयोग गर्न सकिन्छ ।’

नेपालमा वार्षिक पाँच अर्बको उसिनेको चामल आयात हुन्छ । सरकारले चाह्यो भने भिजेको धानलाई निकालेर उसिना चामल बनाउन सकिने उनले बताए । च्युरा र भुजा बनाएर पनि त्यस्तो धान प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘तर सरकारले त्यसका लागि तत्परता देखाउनुपर्छ ।’

कति भयो क्षति ?

बाढी तथा डुबानका कारण धानमा मात्रै हालसम्म १० अर्बको क्षति पु¥याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेश, लुम्बनी प्रदेश र प्रदेश २ र प्रदेश १ मा किसानलाई बढी क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र ४३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, सुदूरपश्चिममा ११ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ५० देखि ७० प्रतिशत धान नष्ट भएको छ ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा पनि १५ प्रतिशतसम्म क्षति पु-याएको प्रारम्भिक तथ्यांकले देखाएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप