शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा नवआगन्तुकको समस्या : ‘भद्रगोलमै गोल हान्ने’ कार्यदलको सुझाव

वर्षौंदेखि कामविहीन बनेका नेता–कार्यकर्ताले नयाँ जिम्मेवारीको पाउने
शुक्रबार, ०५ कात्तिक २०७८, १७ : ५१
शुक्रबार, ०५ कात्तिक २०७८

 ‘रुँदारुँदै हाँस्नुपर्छ र हाँस्दाहाँस्दै रुनुपर्छ’ भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइ हो । भद्रगोलमै गोल हान्नुपर्छ भन्ने अभिव्यक्ति पनि माओवादी नेताहरुका मुखारविन्दबाट बेलाबखत आउने गरेको पाइन्छ । यतिबेला नेकपा माओवादी केन्द्रको संगठनात्मक अवस्था निकै नै अस्तव्यस्त र भद्रगोल पाइएको छ । अझ, विभिन्न पार्टी र समूहहरु छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हजारौं नेता–कार्यकर्ताहरुको अवस्था त जिम्मेवारीविहीन र भद्रगोल स्थितिमा छ । यसबारे माओवादीले कार्यदल नै बनाएर अध्ययन गरेको छ ।     

यसै सन्दर्भमा कार्यदलले दिएको सुझाव अनुसार नेकपा माओवादी केन्द्रले अब अरु पार्टीबाट भित्रिएका ‘नवआगन्तुक’ नेता–कार्यकर्ताको व्यवस्थापन सुरु गरेको छ । कार्यदलले काम सकेसँगै अब भद्रगोल अवस्थाको अन्त्य हुने नेताहरुले दाबी गरेका छन् । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी पार्टीले सदस्यता नवीकरणदेखि लिएर नवआगुन्तक नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्न थालेको हो । पार्टी संगठनका कामलाई चुस्त–दुरुस्त बनाउने र राष्ट्रिय सम्मेलन गर्ने उद्देश्यअनुसार माओवादीले विभिन्न तहका अधिवेशनहरुको तयारी गरिरहेको छ । यसक्रममा पुराना र नयाँ कार्यकर्ताहरुको व्यवस्थापन गर्न थालिएको माओवादीले बताएको छ ।

सांगठानिक संरचना र अभिलेख दुरुस्त नहुँदा नयाँ र पुराना नेता–कार्यकर्ताको व्यवस्थापनमा समय लाग्नुका साथै कठिनाइ समेत उत्पन्न भएको माओवादी नेताहरु बताउँछन् । कतिपय पुराना नेता–कार्यकर्ता त पार्टीको सम्पर्कमा समेत नआउने गरेको भेटिएको छ । अर्कोतर्फ, पार्टी संरचना र अभिलेख व्यवस्थित नहुँदा विभिन्न समयमा अरु पार्टीबाट माओवादीमा प्रवेश गरेका हजारौँ नेता–कार्यकर्ता लामो समयदेखि जिम्मेवारी विहीन भई निस्क्रिय बनेको माओवादीको निश्कर्ष छ ।

विभिन्न पार्टीबाट आएकाहरुको व्यवस्थापन गर्न माओवादी केन्द्रले २०७८ भदौ ६ गते तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलको सुझावअनुसार सबै नेता–कार्यकर्ताको व्यवस्थापनमा अब कुनै समस्या नरहेको माओवादी केन्द्रीय कार्यालय सचिवसमेत रहेका श्रीराम ढकालको भनाइ छ ।

तीन सदस्यीय कार्यदलमा स्थायी कमिटी सदस्यद्वय गिरिराजमणि पोखरेल, वर्षमान पुन र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल थिए । कार्यदलले झण्डै २ महिना लगाएर सुझावसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो । कार्यदलको सो प्रतिवेदन कात्तिक २ गते बसेको स्थायी कमिटी बैठकले पारित गरिसकेको छ ।

​गत २०७४ जेठ २ देखि २०७५ भदौ २८ सम्म  विभिन्न पार्टी र समूहबाट माओवादी केन्द्रमा समाहित भएका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै जिम्मेवारी दिन सुरु गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले रातोपाटीसँग भने, ‘कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । हजारौं नेता–कार्यकर्ताको व्यवस्थापन सुरु भएको छ । पार्टी संगठन व्यवस्थित बनाउन यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।’

‘कार्यदलको सुझाव केन्द्र, प्रदेश र जिल्ला तहमा कार्यान्वयन हुन थालेको छ’, कार्यदलका सदस्यसमेत रहेका ढकालले रातोपाटीसँग भने, ‘अब चाँडै नेता–कार्यकर्ताको व्यवस्थापनको काम सकिन्छ ।’

कार्यदलको सुझावमा के छ ?

कार्यदलले तयार पारेको सुझावमा झण्डै चार दर्जन समूह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख छ । तर, माओवादीमा प्रवेश गरेका मध्ये अहिलेसम्म सीमित नेता–कार्याकर्ताहरुले मात्रै जिम्मेवारी पाएका छन् । धेरै नवप्रवेशीहरु जिम्मेवारीविहीन अवस्थामै रहेका छन् ।

२०७५ जेठ २ मा माओवादी र एमाले मिलेर बनेको नेकपा र नेकपा विभाजनपछि एमालेबाट माओवादी केन्द्रमा लागेका नेता–कार्यकर्ताले समेत जिम्मेवारी नपाएकाले उनीहरुलाई उचित जिम्मेवारी दिन कार्यदलले सिफारिस गरेको छ ।

माओवादीमा को–को प्रवेश गरे ?

कार्यदलको प्रतिवेदन अनुसार विभिन्न १४ वटा पार्टी र समूहबाट नेता कार्यकर्ताहरु सामूहिक रुपमा माओवादी केन्द्रमा समाहित भएका छन् । यसरी माओवादीमा सामूहिक रुपमा समाहित हुनेहरुको सूची यस्तो छ–

१.नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२.नयाँ शक्ति पार्टी

३.नेपाल सदभावना पार्टी

४.जनसमाजवादी पार्टी नेपाल

५.नेकपा (विप्लव) समूह

६.नेकपा (क्रान्तिकारी माओवादी)

७.युनाइटेड नेपाल रिपब्लिकन पार्टी

८.माओवादी कम्युनिस्ट केन्द्र (एमसीसी)

९.अग्रगामी संघीय मोर्चा नेपाल

१०.फोरम लोकतान्त्रिक

११.जनमुक्ति पार्टी

१२.नेपाली कांग्रेस,

१३.नेकपा (टंक राई)

१४.तराई मधेस पहाड हिमाल एकता पार्टी

विभिन्न १४ वटा पार्टीबाट आएका नेता–कार्यकर्ताबाहेक विभिन्न समूह एवं स्वतन्त्र र व्यक्तिगत रुपमा माओवादीमा प्रवेश गरेकाहरुको हालत पनि उस्तै छ । पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी एकता वार्ता समिति संयोजक अमिक शेरचन लगायतका विभिन्न नेताहरुको उपस्थितिमा पार्टी एकता, ध्रुवीकरण तथा समायोजन गरे पनि ठोस रुपमा उनीहरुलाई माओवादी केन्द्रले लामो सयदेखि जिम्मेवारी दिन नसकेको हो ।

क–कसको नेतृत्वमा कति कार्यकर्ता प्रवेश ?

१.प्रकाश विकल्प, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट १६ जना ।

२. देवेन्द्र पौडेल, नयाँ शक्ति नेपालबाट–३३६

३.नरेन्द्रराज वाग्ले, सद्भावना पार्टी– ४९

४. परशुराम तामाङ, नयाँ शक्ति– ३४३

५. हरिबहादुर बेहोरा, जनसमाजवादी – ४९९

६. झक ब.मल्ल नेकपा(विकल्प) – २०

७.रामचन्द्र झा, नयाँ शक्ति– ८१

८. टी.आर खोम्बु नेकपा(विप्लव)–२९

९.धीरेन्द्र झा मैथिल र दीपक कुमार लाभ, युनाइटेड नेपाल रिपब्लिकन– ६३

१० । शिवराम यादव/भक्तराज थापा (नेकपा क्रान्तिकारी माओवादी)– ५७

११. ठाकुरप्रसाद चापागाईँ नयाँ शक्ति– ४५

१२. सञ्जीव तामाङ नेकपा(विप्लव)– ३५

१३. कोपिला कुँवर, नेकपा (विप्लव)– ५४

१४. शंकर लाखे, माओवादी कम्युनिष्ट केन्द्र– १४२

१५. नवीन रोकामगर, अग्रगामी संघीय मोर्चा– ८५

१६. बिमल अधिकारी, (नेकपा माओवादी)– २४१

१७. प्रकाश अधिकारी, नयाँ शक्ति– ५

१८. ठमानसिहं तामाङ, (नेकपा क्रान्तिकारी माओवादी) वैद्य– ३००

१९. पुष्पराज न्यौपाने, नेकपा (विप्लव)–३४

२०. कुमार राई, फोरम लोकतान्त्रिक– ५०

२१. बुद्धश्री लामा जनमुक्ति पार्टी नेपाल– ९

२२.पासाङछिरि शेर्पा, तमपहि पार्टी – १२०

२३. छिरिङ दोर्जी शेर्पा, नेपाली काग्रेस– ६०

२४. बङछु शेर्पा, राप्रपा(पशुपति)–४५

२५. बलराम पुन, नयाँ शक्ति पार्टी– २०६

२६. भूमिलाल लामा, नयाँ शक्ति पार्टी– १५०

२७.माधव गिरी, एसके महर्जन, जनमुक्ति पाटी–९

२८. टंक राई, नेकपा– ३५

२९.गणेश शाह, नेकपा (संयुक्त)– ६६

३०. भुवन सुनार, नेपाल श्रमिक एकता पार्टी– ७१

३१. रमेश रोक्का र मुलाल गुरुङ, नेकपा कान्तिकारी माओवादी (वैद्य)– ३००

३२. महेश्वरप्रसाद चौधरी,  नेकपा क्रान्तिकारी माओवादी (वैद्य)– ३००

३३. कमल चौलागाई,जनसमाजवादी पार्टी– ९७

३४.गोपाल पोखरेल, संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी– ७७

३५. बाबा बस्नेत नेपाल देशभक्त गणतान्त्रिक मञ्च– २६

३६.हिराबहादुर रोकाक्षेत्री, नेकपा(विप्लव)–१७

३७. योगेश साउद राष्ट्रिय युवा संघ नेपाल– ३६

जिम्मेवारीविहीन नबनाउन कार्यदलको सुझाव

उल्लेखित संख्या र नेतृत्वमा पार्टी प्रवेश गरेका बाहेक पनि अन्य समूह र संख्यामा माओवादीमा प्रवेश गरेकाहरु धेरैजना रहेको कार्यदलले उल्लेख गरेको छ । यी सबै नवआगन्तुकलाई  कार्यदलले उपयुक्त जिम्मेवारी दिन सिफारिस गरेको छ । उनीहरुलाई केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मको जिम्मेवारीको सिफारिस गरिएको छ ।

एकतामा समाहित पार्टी, समूह र व्यक्तिको अभिलेख अध्ययनका क्रममा कार्यदलले मुख्य पाँचवटा समस्याको पहिचान गरेको छ । कतिपयलाई नेकपा (माओवादी केन्द्र)मा समाहित गरिसकिएको अवस्था भए पनि कतिपयले एकतापछिको कुनै जिम्मेवारी नपाएको कार्यदलले बताएको छ ।

त्यसैगरी पार्टी एकतामा जिम्मेवारी लिएर समितिका बैठकमा सहभागी भएकाहरु पनि नेकपा गठनपछि भने जिम्मेवारी विहीन भएको पनि प्रतिवेदनमा औंल्याइएको छ । नेकपाको विभाजनपछि एमाले पृष्ठभूमिबाट नेकपा (माओवादी केन्द्रमा) आएकाहरु पनि जिम्मेवारी विहीन भएको र एकता भएर पनि कार्यदलसँग सम्पर्क हुन नसकेका समूह र व्यक्तिहरु पनि भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलले एकता प्रक्रियामा आएका नेताहरुसँग छलफल गरेर प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ । प्रतिवेदनमा माग गरिएको पद र विभागहरुको विषय पनि उल्लेख छ । सम्बन्धित नेता– कार्यकर्तालाई पार्टी समिति (केन्द्रीय निकाय, प्रदेश तथा स्थानीय समितिहरु) र जनवर्गीय, पेशागत र मोर्चा संगठनहरुको समितिमा प्रस्ताव गरिएको छ ।

कार्यदलले आगामी दिनमा कसैसँग पनि पार्टी एकता गर्दा वा प्रवेश गराउँदा विधि, पद्दति अपनाउन, सम्बन्धित पार्टी संगठनको राय लिन, जिम्मेवारीबारे पहिले नै ठोस समझदारी बनाउन र सबै सहमतिको अभिलेखीकरण गर्न पनि सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘यथाशीघ्र निर्णय गरी जिम्मेवारी विहीनताको अन्त्य गर्न जरुरी रहेको कार्यदलको सुझाव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप