शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा छ : प्रधानमन्त्री देउवा

सोमबार, १५ कात्तिक २०७८, १७ : ३०
सोमबार, १५ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन् । विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनको भनाई छ ।  स्कटल्याण्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय  संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन  बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरूसँगको कुराकानीमा नेपालको लगानीमैत्री वातावरणका बारेमा प्रष्ट्याएका हुन् ।

वातावरणमैत्री हाइड्रो पावरमा लगानी गर्नका लागि नेपाल सबैभन्दा उचित स्थान भएको बताउँदै उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता समक्ष निश्चिन्त भएर लगानी गर्न पनि आह्वान  गरेका थिए। पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युत लगायतका माध्यामबाट क्लिन इनर्जीको प्रयोग गरेर दीगो विकासमा टेवा पुर्याउनुपर्ने पनि उनले बताए।

‘इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ। जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब उर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ। इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा बिजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रो पावरमा लगानी गर्न सबैलाई स्वागत छ। एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिबद्धता गर्दछु।’

देशमा स्थायी सरकार नहुँदा लगानीकर्ताहरु निश्चिन्त भएर लगानी गर्न नसकेको भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले लगानीको सुरक्षाको सुनिश्चितता सरकारले नभएर कानूनले गर्ने बताएका थिए। ‘गैरआवासीय नेपाली वा वैदेशिक लगानीकर्ता जोसुकै नेपालमा लगानी गर्न आउनुस्, सुरक्षाको ग्यारेन्टी हुनेछ। लगानीको सुरक्षा हुने वातावरण सरकारले होइन, कानूनले बनाउने हो। लगानीकर्ताहरु निश्चिन्त हुनसक्ने बलियो कानून हामीले बनाएका छौं। जुनसुकै सरकार रहोस् लगानीको सुरक्षा हुने ग्यारेन्टी त्यही कानूनले गर्छ,’ देउवाले भने।

लण्डनस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनरत गोर्खा सैनिकहरूप्रति सद्भाव पनि व्यक्त गरेका थिए। विश्वयुद्धमा शत्रुसँग लडेका गोर्खा सैनिकहरु हाल आफ्नै अधिकारका लागि लडिरहनु परेकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनमा ऐक्यबद्धता पनि प्रकट गरेका थिए।

यस्तै, विदेशमा बसेर पनि गैरआवासीय नेपालीहरुले नेपालप्रति देखाएको असीम मायाका लागि प्रधानमन्त्री देउवाले आभार व्यक्त गरेका छन्। साथै, नेपालको नागरिकता लिन चाहने गैरआवासीय नेपालीहरुलाई सहजीकरण गर्ने पनि उनले बताए। प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल कोप–२६ सम्मेलनमा सहभागी भएर कात्तिक १७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप