शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा आपत्तिजनक दृश्य देखियो : भीम रावल

‘यो लोकतन्त्रका लागि धेरै नै खतरनाक संकेत हो’
आइतबार, १२ मङ्सिर २०७८, २० : २६
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।

‘एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेद्वारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता पो थियो कि ?’, नेता रावलले प्रश्न गरे ।

सौराहामा रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै रावलले भने, ‘म पार्टीको उपाध्यक्षले आफ्नो महाधिवेशनमा उम्मेद्वारी दिनसमेत नपाउने भनेपछि यस्ता नेताले देशको लोकतन्त्रको रक्षा गर्छु, जनताका निम्ति काम गर्छु भन्नु कत्तिको पत्याउने कुरा हो ?’

खासगरी यो महाधिवेशनमा दुईवटा विषय आपत्तिजनक रहेको रावलले बताए–  

पहिलो– देशको सबैभन्दा ठूलो राजनीतिक दलले १० गतेदेखि १२ गतेसम्म महाधिवशेन गर्ने भनेर काठमाडौंबाट सम्पूर्ण योजना बनाएको थियो । खुल्लासत्र १० गते गर्ने र बन्दसत्र ११ गते बिहानदेखि गर्ने निर्णय भएको थियो । मनोनयनसम्बन्धी सम्पूर्ण कार्यक्रम हिजो ११ गते नै गर्ने, उम्मेदवारी फिर्ता लिने पनि ११ गते नै पूरा गर्ने र आज १२ गते बिहान ८ बजेदेखि भोटिङ मेसिनहरुबाट मतदान गर्ने भनेर पार्टीले सारा निर्णय गरेर हामी त्योअनुसार चितवन आएका थियौं ।  

तर, दुई दिनसम्म सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अलपत्र पारेर उनीहरुचाहिँ मान्छे नै हैनन् जस्तो व्यवहार गरेर अहिलेसम्म बन्दसत्र बैठक सुरु भएको छैन । यो लोकतन्त्रका लागि धेरै नै खतरनाक संकेत हो । देशको सबैभन्दा ठूलो पार्टीले यस्तो गर्नु भनेको गैर जिम्मेवार र अत्यन्त आपत्तिजनक कुरा हो ।

दोस्रो– यो त नेतृत्व चयनको महाधिवेशन हो । हाम्रो देशमा संविधानअनुसार पनि लोकतन्त्र छ, बहुदलीय व्यवस्था छ र मतदान हुन्छ । तर, हाम्रो यहाँ अध्यक्षले हिजो मान्छेको नाम सुनेर ताली बजाउने भन्ने प्रस्ताव विष्णु पौडेलले ल्याउनुभो । यो विष्णु पौडेलले मात्रै ल्याएको होइन, महासचिव र केही उहाँका निकटतम भनिनेहरुको सल्लाहबाट आएजस्तो बुझिन्छ । त्यसको मैले विरोध गरें । विरोध गर्नेमा म एक्लै परें । मैले विरोध गरिसकेपछि त्यो हिजो अगाडि बढेन । त्यसो नगर्ने, उम्मेदवार हुन दिने भन्ने कुरा भयो ।

तर,आज दिनभरि, बिहानदेखि अहिलेसम्म बैठक नगरेर राति धाँधली गर्न, मान्छेलाई दबावमा राख्न र मान्छेलाई त्रसित तुल्याएर सूती पढ्ने भनेको यो त लोकतन्त्रका लागि यति धब्बा हो । कम्युनिस्ट पार्टीका लागि त यो लाजमर्दो कुरा हो ।

म पार्टीको उपाध्यक्षले आफ्नो महाधिवेशनमा उम्मेद्वारी दिनसमेत नपाउने भनेपछि यस्ता नेताले देशको लोकतन्त्रको रक्षा गर्छु, जनताका निम्ति काम गर्छु भन्नु कत्तिको पत्याउने कुरा हो ?

यी एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेदवारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा यो लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता देखिन्छ ।          

(कुराकानीमा आधारित)

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप