शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोहोराटारको निश्कर्ष : संस्थापनइतरबाट प्रकाशमान ‘रिङ आउट’ हुने

शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ५४
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्न असफल  भएपछि सो समूहबाट नेता प्रकाशमान सिंह ‘रिङ आउट’ हुने भएका छन् । संस्थापन इतर भनेर चिनिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष समूहबाट एकल उम्मेदवार तय गर्न भएको पटक–पटकको प्रयासमा नेता सिंह सहमतिमा नआएपछि पौडेल समूहबाट सिंह आउट हुने भएका हुन् । नेता सिंहले आफू सभापतिको उम्मेदवारी दिनबाट पछि नहट्ने भन्दै तयारी समेत थालेका छन् । 

यो समूहबाट सुरुमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइराला मध्येबाट एकल उम्मेद्वार बनाउने प्रयास भएको थियो । सहमति जुटेमा सभापतिको उम्मेदवार बन्ने दौडबाट वरिष्ठ नेता पौडेल र डा. शशांक कोइराला केही दिनअघि नै व्याक भए पनि शेखर र प्रकाशमानबीच सहमति हुन सकेको थिएन । शेखर र सिंह दुई नेताबीच सहमति जुटाउन बुधबार भएको छलफलमा सिंहले अड्डी कस्दै आफू पछि नहट्ने बताएका थिए । 

सिंहको यस्तो अडानपछि वरिष्ठ नेता पौडेल सिंहको अर्घेलोबाट दिक्क भएपछि आफु काँग्रेसको राजनीति नै छोड्ने भन्दै चाक्सीबारीको छलफल नै छोडेर हिडेँका थिए । नेताहरुको अडानले अप्ठेरोमा परेका पौडेलले महाधिवेशन उद्घाटन समारोहमा नै उपस्थित नहुने र काँग्रेसको राजनीति समेत छोड्ने चेतावनी दिएका थिए ।

शुक्रबार बिहान काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी र अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका थिए । त्यसक्रममा पनि नेताहरुबीच सिंहले आफ्नो अडान नछोडेकाले उनलाई सँगै लैजान नसक्ने निश्कर्ष निकालेको सहभागी एक काँग्रेस नेताले रातोपाटीलाई बताए । सो क्रममा बरु वरिष्ठ नेता पौडेललाई साझा उम्मेदवार बनाउने र छिटै घोषणा गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा सहभागी नेता महेश आचार्यले बोहोराटारमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भएको प्रतिक्रिया दिए । ‘साझा उम्मेदवार तय गर्ने बारेमा नै छलफल भयो । त्यस्तै महाधिवेशन उद्घाटन समारोहमा नेताहरुले सम्बोधन गर्दा आफ्ना तर्फका प्रतिनिधहरुलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा समेत कुराकानी भयो’, आचार्यले रातोपाटीसँग भने ।

स्रोतका अनुसार सोही अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि सिंहबाहेकका इतरपक्षका नेताहरुबीच छलफल गरेर सभापति लगायत उम्मेदवारको प्यानल घोषणा गर्ने तयारी पौडेल पक्षले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप