सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चिसोमा काल बन्दै मकल र गिजर

अकाल मृत्यु वर्षेनी बढ्दै
बिहीबार, ०८ पुस २०७८, ०७ : १६
बिहीबार, ०८ पुस २०७८

काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–३ जर्सिङपौवामा एउटा नाम चलेको रिसोर्ट छ । सो रिसोर्टको नाम हो–‘लाङटाङ ईको रिसोर्ट ।’ पुस ३ मा सो रिसोर्टमा कार्यरत उर्मिला आले मगर मृत फेला परिन् । १९ वर्षीया मगर ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–९ की हुन् । 

उर्मिला  र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगर लिभिङ टुगेदरमा थिए । राति सँगै सुतेका उनीहरूले चिसो छल्न मकलमा कोइला बालेर सुतेका हुन् । बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् । खाटमुनी मकल बालेका थिए, झ्याल ढोका बन्द थियो । झ्याल ढोका बन्द गरेर मकल बालेको हुनाले उर्मिलाको निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउँछन्, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपाने । 

जाडो मौसममा बर्षेनी यस्ता घटना हुने गरेका छन् । मकल, हिटर बालेर सुत्दा र ग्याँस गिजरमा नुहाउँदा वर्षेनी मानिसहरूले अकालमा ज्यान गुमाउँछन् । तर, त्यसरी हरेक वर्ष कत्ति मानिसहरूले ज्यान गुमाउँछन् भन्ने यकिन तथ्याङ्क प्रहरीसँग पनि छैन । 

२०७६ माघ ७ मा घुम्न आएका ८ जना भारतीय नागरिक मकवानपुरको थाहा नगरपालिका–४ दामन स्थित पानोरोमा रिसोर्टमा बेहोस अवस्थामा भेटिए । रातभर हिटर बालेर सुतेका भारतीयलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । तर, काठमाडौँको ह्याम्स अस्पतालमा उनीहरूको मृत्यु भयो । घुम्न आएका १५ जना मध्ये मृत्यु हुनेमा केरला घर भएका रञ्जित कुमार पी, इन्द्र लक्ष्मी, प्रवीण कृष्ण नायर, सांख्य ससि, ५ वर्षीय अभिनभ सोराङग्य नायर, ७ वर्षीया अर्चा प्रवीण, २ वर्षीय वैष्णव रञ्जित र ९ वर्षीया श्री भद्र छन् । 

मकल र हिटर बालेर सुत्दा घातक हुने बताउँछन् फरेन्सिक विज्ञ डाक्टर प्रमोद श्रेष्ठ । कोइला बालेर सुत्दा निस्कने धुवाँबाट कार्वनमोनोअक्साइड ग्याँस निस्कन्छ । सो ग्याँसका कारण मानिसलाई मृत्युको मुखमा लैजान्छ । मानिसको रगतमा हेमोग्लोबिन भन्ने तत्त्व हुन्छ । हेमोग्लोबिनले अक्सिजन लिएर शरीरको विभिन्न भागमा सञ्चार गर्छ । तर, सुतेको बेला श्वाससँगै शरीर भित्र जाने कार्वनमोनोअक्साइडसँग हेमोग्लोबिन भन्दा १५ गुना बढी अक्सिजन लिने शक्ति हुने बताउँछन् फरेन्सिक विज्ञ डा. श्रेष्ठ । 

‘कार्बन मोनोअक्साइडको धेरै अक्सिजन लिने शक्तिले गर्दा शरीरले अक्सिजन पाउँदैन’ डाक्टर श्रेष्ठले रातोपाटीसँग भने–‘अनि, मानिस बेहोस हुँदै जान्छ र मृत्यु हुन्छ ।’ 

कार्बन मोनोअक्साइडले हेमोग्लोबिनसँग हुने अक्सिजन लिनसक्ने शक्ति घटाउँछ । र, कार्बन मोनोअक्साइडले नै शरीरमा भएको अक्सिजन लिन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएर बेहोसी बढ्छ । तत्काल झ्याल, ढोका खोले मात्र कार्बन मोनोअक्साइडको मात्रा कम भएर मानिस बाँच्ने सम्भावना बढ्छ । 

गिजरमा नुहाउँदा पनि खतरा 

बाथरुममा ग्याँस गिजरमार्फत पानी तताएर नुहाउँदा पनि धेरैको मृत्यु हुने गरेको छ । सोमबार दिउँसो बागजबारको काठमाडौँ मोडल कलेज (केएमसी)को होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील शहनी धेरै बेरसम्म निस्केनन् । होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिए । 

उनलाई उपचारका लागी काठमाडौँ मोडल अस्पतालमा भर्ना गरियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । शहनी ११ कक्षामा अध्ययनरत थिए ।

ग्याँस गिजर चलाउँदा ग्याँस लिक भएमा मृत्यु हुने बताउँछन् डा. श्रेष्ठ । ‘गिजरबाट पनि ग्याँस लिक हुँदा कार्बन मोनोअक्साइड निस्किन्छ’ डा. श्रेष्ठले भने–‘त्यसकारण बेहोस भएर मानिसको मृत्यु हुन्छ ।’  

मकल बाल्दा धुवा बाहिर जान पाउँदैन त्यो धुवाँ शरीरमा जान्छ । पोष्टमार्टममा गर्दा चिकित्सकहरूले रगतमा कार्बन मोनोअक्साइडको लेभल परीक्षण गर्छन् । कार्बन मोनोअक्साइडका कारण निसास्सिएर मृत्यु हुँदा शरीरका भागहरू स्वाभाविक भन्दा रातो र रगत पनि सामान्य भन्दा बढी रातो देखिने डाक्टर श्रेष्ठले बताए । 

होमोग्लोबिन भन्दा कार्बन मोनोअक्साईडसँग दुईसय गुणा छिटो अक्सिजन लिन क्षमता हुन्छ । त्यसकारण, हेमोग्लोबिनले अक्सिजन लिन सक्दैन । अनि, मानिसको मृत्यु हुन्छ । 

२०६७ पुस ६ मा ललितपुर उपमहानगरपालिका–१७ ग्वार्कोमा २० वर्षीया समानता अधिकारी बाथरुममा ग्याँस गिजरमा नुहाउँदा अशक्त भइन् । काभ्रेको पाँचखाल घर भएकी अधिकारीको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । 

ग्याँस गिजरमा नुहाउँदा र मकल बालेर सुत्दा निसास्सिएर बर्षेनी मृत्यु हुनेगरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर । ‘चिसोका कारण मानिसहरू कोठा तताउन कोइला बालेर सुत्छन्’ एसएसपी कुँवर भन्छन्–‘सचेतनाको कमीका कारण चिसो मौसममा वर्षेनी यस्ता घटना दोहोरिएका छन् ।’

२०७३ माघ ५ मा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली बस्ने २९ वर्षीय मुकेश भण्डारी बाथरुममा ग्याँस गिजरबाट नुहाउँदा बेहोस भएर ढले । पत्नी सुलोचना भण्डारीले देखेर निजामती अस्पताल मीन भवनमा लगिन् तर, मुकेश होसमा फर्केनन् ।

गिजरमा नुहाउँदा २०७३ माघ ९ मा काठमाडौँ–१६ सामाखुसी टाउन प्लानिङमा ३२ वर्षीया सुमिता सुराफले ज्यान गुमाइन् ।  उनी नुहाउँदा ग्यास गिजर पड्किँदा दुर्घटना भयो । 

२०७६ पुसमा सिन्धुपाल्चोकको बाह्रबिसे स्थित केतु बोर्डिङ स्कुलकी शिक्षिका २५ वर्षीया सिनोरा गुरुङको मृत्यु भयो । दार्जिलिङ घर भएकी गुरुङ  बाथरुममा नुहाउन पसिन्, तर लामो समय निस्किनन् । होस्टलमा बस्ने विद्यार्थीहरूले झ्यालबाट हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको मृत्यु भएको थियो । 

पुस १ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठ बाथरुममा नुहाउँदा अचेत भइन् । बाँकेको कोहलपुर घर भई जुम्लाको चन्दननाथ नगरपालिका–५ मा बस्ने श्रेष्ठको पुस २ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भयो । 

२०६७ पछि यस्ता घटनाबाट २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ । समयमै अस्पताल लैजाँदा १० जना बाँच्न सफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सुगम, दुर्गम सबैतिर क्षति 

२०७६ माघमा डडेलधुराको पर्शुराम नगरपालिका–३ मा गाई बाँधेको गोठमा आगो बालेर सुतेकी ८० वर्षीया मानमति देबीको मृत्यु भयो । धुँवाले निसास्सिएर उनको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

मानमतिको मृत्यु हुनुभन्दा १ महिनाअघि २०७६ पुसमा ललितपुरमा नुहाउँदा १९ वर्षीया जोनित चौहानले ज्यान गुमाइन् । पर्सा घर भएर सातदोबाटो स्थित सरिबा होस्टलमा बस्ने चौहानको गिजरमा नुहाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

इलाममा किरियापुत्रीलाई कुर्न बसेका ३ जनाले ज्यान गुमाए । ०७२ भदौ १८ मा श्रीअन्तु–६ मा हिटर बालेर सुतेका वर्ष १८ का नितेन मगर र ४५ वर्षीय फुर्वा लामा सहित ३ जनाले ज्यान गुमाएका हुन् । 

२०७६ पुस २२ मा काठमाडौँ महानगरपालिका–३१ मिलन चोकमा ताप्लेजुङ घर भएकी २१ वर्षीया शोशिका शेर्पाले ज्यान गुमाइन् । बाथरुममा नुहाउँदा बेहोस भएकी शोर्पाको उपचारको क्रममा मीनभवन स्थित सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीको तथ्याङ्क अनुसार चिसो मौसममा सुगम वा दुर्गम सवैतिर यस्ता घटनाका कारण मानवीय क्षति हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप