आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा नेपाली ब्राण्ड चिनाउँदै आस्मा

मङ्गलबार, १३ पुस २०७८, १० : ३८
मङ्गलबार, १३ पुस २०७८

सन् २०१५ को महाभूकम्पले लाखौं नेपालीको खुशी लुटेको थियो । त्यतिखेर ठूलो धनजन क्षति भयो अनि कयौंले रोजीरोटी गुमाए । तीमध्ये केही भूकम्प पीडितको वेदना प्रत्यक्ष सुनिन् न्यूजिल्याण्डमा केही गर्ने सपना बोकेर भौंतारिरहेकी आस्मा लुईंटेलले । 'न्यूजिल्याण्ड फर्कंदा केही नेपाली सामान लान्छु भनेर ठमेल पुगेको थिएँ । सोध्दा सामान बेच्ने भूकम्प पीडित रहेछन्', सप्ताहन्तमा भेटिएकी उनले विगत सुनाइन्, 'त्यो देखेर उनीहरुलाई पनि सहयोग गरौं, विदेशमा पनि नेपाली उत्पादन प्रवर्धन गरौं भन्ने सोचले मैले आफ्नो विजनेश थालेँ ।

' न्यूजिल्याण्डमा दैनिक ११ घण्टा आफ्नो जागिर गरेर बचेको समय नेपाली हस्तकला तथा सामग्री प्रवर्धन गरिरहेकी छन् आस्मा । उनको कान्तिपुर एनजेड कम्पनी छ । त्यही कम्पनीमार्फत उनी ठमेलबाट मेड इन नेपाल, ऊं, माउण्ट एभरेष्ट अंकित कटनका टिसर्ट, हस्तकला सामग्री, ढाकाको सारी, पूजाआजा सामग्री आदि झिकाएर प्रत्येक आइतबार त्यहाँ लाग्ने 'फ्रि मार्केट' मा नेपाल प्रवर्धन गरिरहेकी छन्  । 'न्यूजिल्याण्डकै लोकलले लिन्छन् ।

कलरफुल सामान, बुद्धका आँखा, ओम लेखेको टिसर्ट औधी रुचाउँछन्', उनी भन्छन्, 'एडमण्ड हिलारी र सगरमाथाको नामले नेपालीलाई हेर्ने नजर नै फरक छ यहाँ । मैले नेपाली भन्दा फर्कि फर्कि आएर सामान लिन्छन् ।' नेपालीले धेरै 'बार्गेन' गर्ने बरु स्थानीयबाटै सामान खरिद हुने उनी बताउँछिन् । न्यूजिल्याण्डका नागरिकले शेर्पालाई ज्यादै राम्रो र सहयोगी मान्ने आस्माको अनुभव छ । नेपालीको 'इमेज' समग्रमा राम्रो छ । व्यवसाय शुरु गरेपछि केही समय सोचेजस्तो भएन । आफ्नो जागिर पनि भएकाले उनले पर्याप्त समय दिन सकिनन् । ल्याएको सामान 'पेण्डिङ' भयो ।

अनलाइनमा राख्दा समेत सन्तोषजनक व्यापार भएन । तर, कोभिड समयमा घरमै बसेर सामान लिने 'ट्रेन्ड' भएपछि व्यवसायले विस्तारै 'पिकअप' लिन थालेको उनले सुनाइन् । नाफाभन्दा पनि नेपाललाई न्यूजिल्याण्डमा चिनाउन पाएकामा आत्मसन्तुष्टि छ उनलाई । उनले गरिरहेको काम सजिलो छैन् । फाइदा पनि कत्ति छैन् नेपालबाट ल्याउन । नेपालबाट सामान ल्याउँदा न्यूजिल्याण्डको भन्सारमा दुःख हुने उनको भोगाइ छ । 'हरेक सामानमा १० प्रतिशत भ्याट तिर्नुपर्छ ।

 फाइदा त पटक्कै छैन्', उनले भनिन्, 'नेपालका लागि केही गरौं भनेर एक्लै संघर्ष गरिरहेकी छु ।' एनआरएन भन्नेहरुले पनि दुःख पर्दा सहयोग नगरेको तीतो अनुभव उनीसँग छ । 'एनआरएन नेताले केही सहयोग माग्यो भने शारिरिक लाभ लिन खोज्छन्', उनको गुनासो छ, 'नेपाली इभेन्ट हुँदा स्टल राख्न खोज्यो भने पनि कि आयोजकको नजिक हुनुपर्ने कि फाइदा खोज्ने बिडम्बना छ ।

' मोरङ स्थायी घर भएकी आस्मा विगत ८ वर्षदेखि न्यूजिल्याण्ड अकल्याण्डमा छिन् । अहिले व्यापारिक हिसावले नभएपनि यसलाई दीर्घकालिन रुपमा अगाडि बढाउने सोच आस्माको छ । 'अझै राम्रो गर्न मन छ, भविष्यमा नेपालका गरिव र असहाय बच्चालाई सहयोग गर्ने सोच पनि छ', उनी भन्छिन् । न्यूजिल्याण्डबाट नेपालको पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना देख्छिन् उनी । 'स्थानीयले नेपालबारे निकै चाख मानेर सोध्छन् । मैले सित्तैमा पर्यटन प्रचार प्रसार सम्बन्धि काम गरिदिन सक्छु', उनले भनिन् 'तर, नेपाल सरकारका प्रतिनिधिले प्रचार सामग्रीमा सहयोग गरिदिनुपर्छ ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप