शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
माैसम

मौसमविद् भन्छन् : ‘अब पानी पर्छ, पश्चिमबाट प्रणाली नेपाल भित्रिरहेको छ’

आइतबार, २३ वैशाख २०८१, ०९ : ०४
आइतबार, २३ वैशाख २०८१

काठमाडाैँ । यो वर्षको हिउँदमा सुख्खा याम लम्बिँदा देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढिरहेको छ । विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार ३ दिनको अवधिमा देशका ७२१ भन्दा धेरै ठाउँका जङ्गलमा डढेलो लागेको छ । आगलागीबाट वनजंगलको छेउछाउमा रहेका घर गोठ, पशुचौपायका साथै मानवीय जोखिम र क्षतिका घटनाहरू बढिरहेका छन् । 

धुमिल वायुमण्डल र अत्यधिक गर्मी बढिरहेका बेला शुक्रवारदेखि भने तापक्रममा केही गिरावट आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका मौसमविद् गोविन्द झा बताउँछन्  । 

उनले भने–‘अघिल्लो साता बुधबार, बिहीबारसम्म जुन गर्मी थियो, त्यो अलि कम भएको छ । तापक्रममा केही गिरावट आएको छ । नेपालमा पश्चिमबाट पानी पार्ने प्रणाली प्रवेश गरिरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका कारण अहिले अकासमा बादल बन्ने प्रक्रिया बढिरहेको छ  ।’

उनले दुई तीन दिन भित्र देशका पहाडी भूभागहरूमा अलिअलि छिटपुट वर्षा हुन सुरु हुने उल्लेख गरे । विशेषगरी कोसी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमसम्म हल्का वर्षाको सम्भावना रहेको उनको भनाई छ । 

मौसमविद् झाले भने–‘अलि अलि पानी आइतबारदेखि नै पर्न सक्ने देखिएको छ । सोमबार, मंगलबारसम्म देशका अधिकांश भूभागमा पानी पर्न सक्छ । अहिले अलि बढी सुदूर पश्चिम क्षेत्रमा सम्भावना देखिएको छ । सो प्रणाली पूर्वतिर सर्र्दै आउने अवस्था रहेको छ, क्षणिक हल्का वर्षा चाहिँ हुन्छ ।’

अघिल्लो साता सोमबार, मंगलबारसम्म १५ वटा सहरमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा शुक्रबारसम्मको आँकडामा कुनैपनि ठाउँमा ४० डिग्री तापक्रम कटेको अवस्था नरहेको झाले बताए । केही दिन तापक्रम बढ्ने अवस्था नरहेको उनको भनाई छ । 

उनले भने–‘अरब सागरबाट चिसो हावा प्रवेश गरिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीबाट तापक्रममा गिरावट र वर्षाको सम्भावना बढाएको छ ।’

५ डिग्रीसम्म घट्यो तापक्रम, हिमाली क्षेत्रमा भने बढ्यो

पछिल्ला केही दिनमा तापक्रम घट्दो क्रममा रहेको छ । बैशाख १९ गते भैरहवामा ४१ दशमलव ४ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा २० गते ३७ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । शनिवार भने केही बढेर ३९ डिग्री सेल्सियस पुगेको थियो । 

यता काठमाडौँमा बुधबार अधिकतम तापक्रम ३३ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो भने बिहीबार ३० दशमलव ५ र शुक्रबार अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियसमा घटेको थियो । 

भैरहवा र काठमाडौँ जस्ता अन्य तराई तथा पहाडी क्षेत्रमा पछिल्ला दिन तापक्रम केही घटेपनि हिमाली क्षेत्र जोमसोममा भने तापक्रम बढ्दो क्रममा रहेको छ । बुधबार जोमसोममा अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री मापन भएकोमा बिहीबार २० दशमलव ५ डिग्री र शुक्रबार २२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । 

यस्तै जुम्लामा पनि तापक्रम बढ्दो क्रममा रहेको छ । बुधबार जुम्लामा अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो, बिहीबार २५ दशमलव ३ र शुक्रबार २८ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ । 

वर्षातबाट डढेलो नियन्त्रणमा केही राहत हुन सक्छ

आइतबारबाट हुने सामान्य वर्षापछि डढेलो रोकथाममा केही राहत पुग्न सक्ने मौसमविद् झाले बताए । 

उनले भने–‘अहिले मौसममा सुख्खापन छ । अबको केही दिनमा वायुमा जल वाष्पको मात्रा बढ्छ । जलवाष्पयुक्त हावाका कारण डढेलो लगायतका आगलागीका घटनामा केही गिरावट पनि हुन सक्छ ।’

अरब सागरबाट आएको वायु अफगानिस्तान, पाकिस्तान, भारतका क्षेत्रमा प्रवेश गरेको र नेपाल प्रवेशको क्रममा रहेको जानकारी दिए ।

नेपालमा धेरै पानी पार्नका लागि अरब सागरबाट र बङ्गालको खाडीबाट विकास भएको पानी पर्ने प्रणाली नेपाल आइपुग्नुपर्ने मौसमविद् बताउँछन् । एकतिरबाट मात्र पानी पार्ने प्रणाली नेपालमा आइपुग्दा हल्कादेखि मध्यम खालको वर्षा हुने र दुवैतर्फबाट आउँदा भने ठुलो पानी पर्ने मौसमविद् झाले जानकारी दिए । 

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शनिवार देशभर सामान्य बदलीको अवस्था रहेको थियो । 

आज (आइतबार) पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली हुनेछ । केही भागमा भने मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबारपनि देशको पहाडी भागमा आंशिक बदलीको अवस्था रहने, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप