शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

निःसन्तान दम्पतीले कस्तो अवस्थामा गर्ने आईभीएफ र आईयूआई ?

आइतबार, २३ वैशाख २०८१, ०६ : ३४
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । दाङका एक दम्पती (परिचय गोप्य राखिएको)ले सन्तान जन्माउने योजना बनाएको दुई दशक नाघिसक्यो । अनिल (परिवर्तित नाम ) र रिता (परिवर्तित नाम) ले २५ वर्ष अगाडि विवाह गरेका थिए । सन्तान प्राप्ति नहुँदा धेरै ठाउँमा यो दम्पती उपचारका लागि पुगे पनि गर्भ बस्न सकेन ।

अनिल ४५ वर्ष र रिता ४२ वर्ष पुगिन् । सन्तान जन्माउनका लागि नेपालदेखि भारतका विभिन्न अस्पतालमा जाँच गराउँदा करिब ६ लाख रुपैयाँ खर्च भइसकेको अनिलले बताए । ‘बच्चा जन्माउनका लागि नेपाल र भारतका विभिन्न अस्पताल पुग्यौँ,’ उनले भने, ‘त्यहाँ प्राकृतिक विधिबाटै बच्चा जन्माउन सल्लाह दिनुभयो, तर हालसम्म गर्भ बसेन ।’

साथीको सहयोगले यो दम्पती गत फागुनमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) मा पुगे । जाँच गराउँदा रिताको पाठेघरको डिम्बवाहिनी नली अवरोध (फैलोपियन ट्यूब ब्लक) भएको रिपोर्ट आयो । रिताको डिम्बवाहिनी नली अवरोध भए पनि पाठेघर स्वस्थ रहेको चिकित्सकले बताए ।

यस्तो अवस्थामा आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रविधिबाट बच्चा जन्माउन सकिने चिकित्सकले सल्लाह दिएको रिताले सुनाइन् । ‘पाठेघरको ट्युब ब्लक भए पनि पाठेघर स्वस्थ छ भन्दै आईभीएफ गर्न डाक्टरले सल्लाह दिनुभयो,’ उनले भनिन्, ‘ट्युब ब्लक भएकाले अण्डा उत्पादन हुँदैन, यसले गर्दा बच्चा जन्माउन समस्या भएको डाक्टरले भन्नुभयो ।’

निजी स्वास्थ्य संस्थामा आईभीएफका लागि १५ देखि १६ लाखभन्दा बढी खर्च लाग्ने रिताले सुनाइन् । तर सरकारी संस्थाबाट आईभीएफका लागि जम्मा २ लाख रुपैयाँ हराहारीमात्र खर्च भएको उनको भनाइ छ । ‘अस्पतालमा ओटीका लागि ५५ हजार र सेवाशुल्क ३५ हजार गरी ९० हजार बुझाएका छौँ,’ उनले भनिन्, ‘इन्जेक्सनका लागि करिब १ लाख खर्च भएको छ, अरु यताउता गर्दा करिब ३ देखि ४ लाख खर्च लाग्छ ।’

आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि पाठेघरभित्र राखिन्छ ।  सो विधिबाट अनिल र रिताको बच्चा जन्माउने योजना रहेको निःसन्तान विशेषज्ञ तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) का निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

Dr. shree

एकमात्रै सरकारी निकायबाट आईयूआई र आईभीएफ सेवा

देशभर सरकारी निकाय अन्तर्गत प्रसूति गृहमा मात्रै आईयूआई र आईभीएफ सेवा दिइँदै आएको छ । निजी स्वास्थ्य संस्थाको तुलनामा यहाँबाट दिइने सेवा सस्तो रहेको दाबी गरिएको छ । प्रसूति गृहमा आईयूआई प्रविधि ६ हजार रुपैयाँमा उपलब्ध हुने चिकित्सकको भनाइ छ । आईभीएफबाट सन्तान जन्माउनका लागि प्रसूति गृहमा ३५ हजार रुपैयाँ सेवाशुल्क लाग्ने गरेको छ ।

आईयूआई र आईभीएफ किन आवश्यक छ ?

पछिल्लो समय निःसन्तानको समस्या बढेको छ । निःसन्तान हुने समस्या समाधान गर्नका लागि चिकित्सकहरूले आईयूआई र आईभीएफ (टेस्टटुयुब बेबी) प्रविधि अपनाउन थालेका छन् । परिवार नियोजनको साधन प्रयोग नगरी कम्तीमा एक वर्षसम्म पनि गर्भ रहेन भने त्यसलाई निःसन्तानको समस्या मानिने डा. अधिकारीले बताए ।

के हो आईयूआई ?

पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आईयूआई (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) हो । उमेर बढ्दै जाँदा महिलाको अण्डा समयमा नबन्ने भएकामा अण्डा बन्ने औषधिहरू दिने, शुक्रकीटको मात्रा कम भएकाहरूको शुक्रकिटलाई सफा गरेर स्वस्थ शुक्रकीटलाई पाठेघरमा राख्ने विधिलाई आईयूआई भनिने डा. अधिकारीले बताए । उनका अनुसार आईयूआई सजिलो, सस्तो र सरल विधि हुन्छ ।

के हो आईभीएफ ?

आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि पाठेघरभित्र राखिन्छ । ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आईयूआई धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आईभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिने डा. अधिकारीले बताए ।

आईयूआई र आईभीएफ कति सफल हुन्छ ?

अन्तर्राष्ट्रिय अभ्यासमा आईयूआई २० प्रतिशत सफल भएको पाइन्छ । यस्तै, आईभीएफ ३० देखि ३५ प्रतिशत सफल भएको पाइन्छ । योभन्दा बढी दाबी गर्नु गलत सूचना प्रवाह गरिएको डा. अधिकारीको दाबी छ । प्रस्तुति गृहमा आईभीएफ २० देखि २५ प्रतिशत सफल भएको उनले सुनाए ।

प्रसूति गृहसम्म आइपुग्दा ३० वर्ष बढी उमेरका हुने भएकाले सफलदर कम भएको उनको भनाइ छ । तर यो सुविधा थपिदै जाँदा सफल दर पनि बढ्ने उल्लेख गरे । ‘यहाँ सेवा लिन आउने बढी उमेरका हुन्छन् । त्यसकारण हाम्रोमा सफलदर कम छ,’ डा. अधिकारीले भने । डा. अधिकारीले अन्तर्राष्ट्रिय अभ्यासमा आइयुआईको २० प्रतिशत सफल दर रहेको उल्लेख गरे ।

बानी व्यवहार सुधारले ९० प्रतिशत निःसन्तानको समस्या समाधान

निःसन्तानको समस्या लिएर आउनेमध्ये करिब ९० प्रतिशत बानी व्यवहार सुधार गरेमा समाधान हुने डा. अधिकारीले बताए । निःसन्तानकोे समस्या भएका करिब ९० प्रतिशतले चिकित्सकको सल्लाह अनुसार सामान्य उपचार, खानपिनमा परिवर्तन, शारीरिक व्यायामको माध्यमबाट पनि बच्चा जन्माउन सक्ने डा. अधिकारीको भनाइ छ ।

प्रसूति गृहले कहिलेदेखि सेवा दिँदैछ ?

प्रसूति गृहमा निःसन्तानको सेवा २०३९ सालबाट सुरु भएको थियो । सो समयमा बिरामी जाँच्नेमात्रै कार्य हुने गरेको सिनियर नर्सिङ निरीक्षक राधा शाक्यले बताइन् । ‘बिरामी जाँचले मात्रै नहुने भएपछि आइयुआई र आइभीएफ सञ्चालनका लागि २०६० सालमा योजना बन्यो,’ उनले भनिन्, ‘२०६२ सालमा पाँच जनालाई भारतमा तालिमका लागि पठाएका थियौँ ।’

radh sakya nurse

प्रसूतिमा २०६३ सालमा आइयुआई स्थापना भयो । यो सेवा दिदैँ जाँदा ओभरी फेल भएका, पाठेघरको नली बन्द भएकाहरू जाँच गर्न आउने गरेको राधाले सुनाइन् । ‘आइयुआईले मात्रै नभइ आइभीएफको पनि आवश्यकता देखियो,’ उनले भनिन् ।

पाँच जनाको चिकत्सकीय टोली २०६८ सालमा पुनः आइभीएफको लागि भारतमै तालिम लिन गयो । सो पश्चात २०६८ सालमा आइभीएफ सेवा सञ्चालन भएको राधाले बताइन् । तर २०७२ सालको भूकम्पमा भवन भत्कियो र सो सेवा बन्द भयो । ‘भवन नभएका कारण केही समय आइभीएफ सेवा बन्द भयो,’ उनले भनिन्, ‘२०७८ सालबाट फेरि सो सेवा सञ्चालन गरिएको छ, हाल कुपण्डोलस्थित आइभीएफ सेन्टरबाट सेवा दिदैँ आएका छौँ ।’

प्रसूतिबाट कतिले लिए सुविधा ?

नर्सिङ निरीक्षक राधाका अनुसार प्रसूति गृहबाट हालसम्म १८४ जनाले आइभीएफ सेवा लिएका छन् । यसमध्ये ४३ जनाले सन्तान जन्माउन सफल भएका छन् भने २५४ जनाले आइयुआईको सुविधा लिएका छन् । यसमध्ये ३० जनाले बच्चा जन्माउन सफल भएको उनले बताइन् । बर्सेनि यहाँबाट ९ हजार बढी निःसन्तानले परामर्श लिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप