शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
टिप्पणी

नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’

आइतबार, २३ वैशाख २०८१, ०९ : ३५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेपाल सरकारले १ सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे प्रतिक्रिया जनाएका छन् । उनले यस विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् ।

विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने पनि स्पष्ट पारे । ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ,’ भुवनेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरिएको चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । नेपालले सन् २०२० मा मे महिनाको सुरुवातमा ती क्षेत्रहरू समावेश गरेको नयाँ नक्सा प्रकाशित गरेको थियो ।

यसअघि भारतले सन् २०१९ को नक्सामा ती क्षेत्रहरूलाई समावेश गरेको थियो । नेपालको यो निर्णयले दिल्ली र काठमाडौँबिच तनाव सिर्जना गरेको थियो ।

वि.सं २०३२ मा नेपालले प्रकाशित गरेको पूरानो नक्सामा गुन्जी, नाभी र कुरीलाई समावेश गरेको थिएन । नयाँ नक्सामा भने थप ३३५ वर्ग किलोमिटर क्षेत्रफल नेपालले आफ्नो नक्सामा राखेको थियो ।

त्यसपछि सन् २०२० को मे ८ मा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरसम्म नयाँ सडक उद्घाटन गरेपछि दुई देशबिचको तनाव थप बढेको थियो । नेपालले यसबारे आपत्ति जनाउँदै भारतलाई कूटनीतिक नोटसमेत पठाएको थियो ।

कूटनीतिक नोट पठाउन अघि नेपालले सडक बनाउने भारतको एकतर्फी निर्णयको कडा रूपमा विरोध गरेको थियो । यस विषयमा भारतको विदेश मन्त्रालयले उक्त सडक उत्तराखण्डको पिथौरागढ जिल्लामा निर्माण हुने र उक्त क्षेत्र भारतीय भूभागभित्र पर्ने स्पष्टीकरण दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप