शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिः रूपान्तरण कि भ्रष्टीकरण ?

सोमबार, ०३ माघ २०७८, ११ : ४६
सोमबार, ०३ माघ २०७८

क्रान्तिकारीहरू स्वभावैले पुरानो मान्यताको बिरोधी हुन्छन् । पुरानो व्यवस्थालाई भत्काउनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरूको मान्यतामा नयाँ व्यवस्था प्राप्तीका निम्ति संघर्ष, क्रान्ति र युद्ध अनिवार्य छ । युद्धको माध्यमबाट मात्र आमुल परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वास राख्दछन् । विश्वको सबै क्रान्तिकारीहरूको चारित्रिक विशेषता पनि यही हो । धेरै त्यस्ता राजनीतिक परिवर्तनको घटना छन्, जसले युद्ध इतिहासमा महत्वपूर्ण विरासत निर्माण गरेका छन् । जस्तै माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको सांस्कृतिक क्रान्ति त्यसको एउटा उदाहरण हो । अर्को  नेपालमा काँग्रेसले राणा शासनविरुद्ध गरेको शसस्त्र क्रान्ति दोस्रो उदाहरण हो । त्यस्तै माओवादी जनयुद्ध त्यसको कान्छो उदाहरण हो ।

विश्वमा यस्ता धेरै क्रान्तिहरू छन्, जसले राज्य सत्ता परिवर्तन र समाज रूपान्तरणमा विशेष भूमिका खेलेका छन् । मुख्यतः सात सालको क्रान्तिबाहेक चिनियाँ क्रान्ति र माओवादी जनयुद्धको दार्शनिक, सैद्धान्तिक र सँगठानिक आधार माओ विचारधारा (माओवाद) थियो । मुख्य कुरा मार्क्सवादी वर्ग संघर्षको तागतलाई माओले स्थान बिशेष किसानहरूको जीवन उत्थान गर्न दीर्घकालीन जनयुद्धको फरक ढाँचामा  विकसित गर्यो । र, त्यही कारण चीन साम्यवादी देशको नमुना बन्यो । दोस्रो नेपालका माओवादीले माओकै अनुसरणमा जनयुद्ध गरे । तर संघर्ष राजा ज्ञानेन्द्रको प्रतिगामी कदमको बिरुद्ध नेपाली काँग्रेसले नेतृत्व गरेको सात दलीय गठबन्धनसँग १२ बुँदे सम्झौता गर्दै शान्तिपूर्ण आन्दोलनमा जोडिनु पुगे । एक ढंगले हेर्दै गर्दा जनयुद्ध जन–आन्दोलनमा रूपान्तरित भयो ।

मूलतः राजनीतिक विचारहरू समयसापेक्ष रूपान्तरित हुँदै जान्छ र हुनु पनि पर्छ । रूपान्तरण भएन भने राजनीतिक विचारहरूको सान्दर्भिकता सकिन्दै जान्छ र कुनै बिन्दुमा पुगेर लोप हुन पुग्छ । त्यसैले राजनीतिक विचारहरू मात्र होइन, हरेक विचारहरू नयाँ मोडलमा रूपान्तरण हुनु जरुरी छ । सबैभन्दा महत्वपूर्ण र मुख्य कुरा भनेको नै राजनीति, राजनीतिज्ञ र नेता यथास्थितिमा रहिरहनु हो । र शास्त्रीय शैलीमा रमाउने चरित्र नेतामा हुनु हुँदैन । राजनीति त निरन्तर गतिशील हुन्छ, गतिशिलता राजनीतिज्ञको चरित्र हो ।  त्यसैले एक ढंगले हेर्ने हो भने रूपान्तरण जरुरी छ र हुनुपर्छ । तर रूपान्तरण गर्नु जरुरी छ भन्दैमा जुन प्रकारको अस्वाभाविक, अमर्यादित, अशोभनीय र अराजनीतिक गतिबिधिहरू भैरहेका छन् ।  यस्तो प्रक्रिया रूपान्तरणको उल्टो भ्रष्टीकरण हो, त्यो रूपान्तरण हुँदै होइन । त्यो ढंगले राजनीतिक भ्रष्टीकरण हुँदै जाने हो भने राजनीतिक व्यवस्था नेता त भ्रष्टीकृत हुन्छन् नै, व्यवस्था सँगसँगै विचार, सिद्धान्त र आदर्श पनि भ्रष्टीकरण हुन्छ । भ्रष्टीकृत राजनीतिले जस्तोसुकै उत्तम व्यवस्थाको अस्तित्व र सत्ता दुवै गर्ल्याम्म गुर्लुम्म ढाल्छ । राजनीतिक अस्थिरता हुने बित्तिकै राष्ट्रियतामाथि हमला हुने, आर्थिक संकट निर्माण हुने र अरु धेरै प्रकारका समस्या उत्पन्न हुँदै जाने हुँदा कालन्तरमा देश समस्याको भुमरीमा फँस्न पुग्छ । त्यसको उदाहरण नाइजेरिया, सुडानलाई लिन सकिन्छ ।

भ्रष्टाचार विश्व राजनीतिक व्यवस्थाको नयाँ आयाम झैं बन्दै गइरहेको जस्तो देखिन्छ । त्यसकारण राजनीतिका विचार सिद्धान्त र आदर्श जतिसुकै उपयोगी, प्रभावकारी र जनपक्षीय देखिए पनि रूपान्तरणभित्र भ्रष्टीकरण अन्तरनीहित हुँदो रहेछ । त्यसको अन्तिम चौतारी भनेको भ्रष्टीकरण नै रहेछ । 

भ्रष्टीकरणको सन्दर्भ

जब राजनीतिक चेतना र विचारको विकास भयो, त्यसबेला राजनीति एक प्रकारले सभ्य, अनुशासित र मर्यादित मानिथ्यो । त्रेता युगका (रामायण काल) राम राज्यलाई त्यसको उदाहरण मान्न सकिन्छ । उनको देशमा जनता र राजाबीचको सम्बन्ध अत्यन्त सुमधुर थियो भन्ने रामायणमा उल्लेख छ । त्यसकारण रामराज्य पूर्ण समानताको (समाजवाद) नमूना थियो भन्ने मान्यता स्थापित छ । त्यसैगरी पछिल्लो समय नरेन्द्र मल्लको शासनकाल पनि निकै चर्चाको विषय भएको इतिहासमा उल्लेख छ । किनकी उनको राज्यमा पनि चुलो बल्यो कि बलेन ? जनताले खाए कि खाएनन् ? भन्ने प्रसँगलाई निकै नै महत्वका साथ इतिहासमा उल्लेख गरिएको छ । जस्तो कि राजा जनताको हरेक दुःखमा सँगै हुनुपर्छ ,जनताप्रति उत्तरदायी र अत्यन्तै जिम्मेवार हुनुपर्दछ भने संकेतको रूपमा जनताको घरमा निस्केको धुवाँलाई लिन सकिन्छ ।

एक प्रकारले राम र नरेन्द्र मल्ललाई एक आदर्शवान र जनप्रेमी राजाको रूपमा लिएको देखिन्छ । विश्वमा जबसम्म देशको सेवक राजा हो भन्ने मान्यतालाई राजाहरूले बचाई राखे, त्यस बेलासम्म आस्था र आदर्शको प्रतीकका रुपमा राजा र राजसंस्था टिकिरह्यो । जब राजा, राजपरिवार र राजसंस्थामा स्वार्थ, लोभ र शक्तिको खिंचातानी बढ्दै गयो, त्यसबेलादेखि राजासंस्था नै भ्रष्टीकरण धरापमा फँस्यो । र, बिस्तारै राजसंस्था समाप्त हुँदै गयो । सन् २०२२ सम्म आईपुग्दा जापान, थाइल्याण्ड, बेल्जीयम, बेलायतलगायत केही खाडी मुलुकका साथै औंलामा गन्न सकिने मुलुकमा मात्र राजा र राजसंस्था सीमित हुन पुगे । त्यही क्रमको पछिल्लो घटना राजा ज्ञानेन्द्रको भ्रष्टीकृत मानसिकता र अहंकारको कारण नेपालको राजसंस्था पनि अन्त्य हुन पुग्यो ।

राजनीतिक विचार र सिद्धान्तमा देखिएको भ्रष्टीकरण र रूपान्तरणः  सामान्तवादी, पुँजीवादी, समाजवादी, साम्यवादी विचारले झन्डै १७ शताब्दी अघिदेखि २१औं शताब्दीसम्म निरन्तर गतिशील छ । यिनै विचारहरूको पेरिफेरिमा संसारले राजनीति फन्का मारिरहेको छ । यी विचारहरूको विकल्पमा नयाँ ढंगको विचारहरू आए । तर ती नयाँ विचारले त्यति प्रभाव छाडन सकेन । किनकि नयाँ विचार पनि पुरानै विचारको रुपान्तरित स्वरुपमा देखिएपछि बिलकुल नयाँ भन्ने कुरा भएन । जति पनि विचार सिद्धान्तको चर्चा गर्दछौं, त्यसको सम्बन्ध कुनै न कुनै रुपमा हेगलको ऐतिहासिक भौतिकवाद र मार्क्‍सवादसँग जोडिएको हुन्छ ।

मार्क्सको सैद्धान्तिक पक्ष द्वन्द्वात्मक भौतिकवाद र वर्ग संघर्षको सिद्धान्तसँग सम्बन्धित देखिन्छ । जस्तो कि लेनिन र माओत्सेतुङले मार्क्सवादको रूपान्तरण गर्दै नयाँ ढंगको विचार बनाए । मार्क्सवाद रूपान्तरण गरिरहँदा लेनिन र माओका समकालीन नेताहरूबाट मार्क्सवादको अपब्याख्या भयो । क्रान्तिकारी विचारको भ्रष्टीकरण भयो भन्ने तर्क नभएको पनि होइन । तर भौगोलिक परिस्थिति र स्थान विशेषलाई जोड दिंदै चीन र  रुसमा फरक–फरक ढंगले क्रान्ति सम्पन्न भयो । रुसी र चिनियाँ क्रान्तिको प्रारम्भदेखि सम्पन्न हुने बेलासम्म धेरै क्रान्तिकारीहरू व्यक्तिगत लोभ, प्रलोभन र महत्त्वकांक्षाका कारण कारबाहीमा परे । त्यसको तथ्याङ्क चिनियाँ क्रान्तिको इतिहासमा समेटिएको विभिन्न पुस्तक तथा माओ, चउ एन लाई, देंग साओ पिङको अटो बायोग्राफीमा उल्लेख छ । 

त्यसकारण जब मार्क्सवादको नयाँ प्रयोग र वैज्ञानिक ढंगमा व्याख्या गर्न थालियो, ठिक त्यही बेलादेखि मार्क्सवादको रूपान्तरणसँगै भ्रष्टीकरण भएको देखिन्छ । किनकि मार्क्सकै चेला व्रनश्ताइनले समाजवादमा पुग्न संघर्ष गरे मात्र पुग्न सकिन्छ भन्ने होइन, क्रमिक सुधारको मार्गबाट पनि पुग्न सकिन्छ भन्दै मार्क्सवादी सिद्धान्तलाई भ्रष्टीकरणको दिशातिर लगेको देखिन्छ । त्यही भ्रष्टीकरणको पछिल्लो उदाहरण नेपालको कम्युनिष्टहरूमा देखिएको सैद्धान्तिक र वैचारिक विचलनलाई मान्न सकिन्छ । जस्तो कि संसद्वाददेखि दक्षिणपन्थीहरूसँगको मोर्चाबन्दी ।

नेपालको सन्दर्भमा भ्रष्टीकरण र रूपान्तरण

नेपालको सन्दर्भमा रूपान्तरण र भ्रष्टीकरण दुवै आ–आफ्नै गतिमा गतिशील देखिन्छ । मूलतः सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरण सन्दर्भलाई कोट्याई रहँदा राजसंस्थादेखि काँग्रेस, कम्युनिष्ट, मधेशवादी पार्टी हुँदै अरु नयाँ साना पार्टीहरूको सैद्धान्तिक, बैचारिक र नीतिको व्यवहारिक पक्षको व्यवहारिक प्रयोग कस्तो थियो र कस्तो छ, त्यो प्रमुख कुरा हो । प्रथमतः राजसंस्थाको गरिमा, ओज र प्रभावकारिता भत्किँदै जान थालेपछि क्रमशः त्यसको औचित्य पनि समाप्त हुँदै गयो । त्यो विश्वमा राजसंस्था समाप्तिको दृष्टान्तले प्रष्ट देखाउँछ । ठिक त्यसैगरी नेपालको  राजसंस्था र राजाहरू त्यसैगरी पथभ्रष्ट हुन पुगे । जनतालाई दुःख दिने, अधिकार खोस्ने, तानाशाह नोकरशाही मार्गतिर जाने जुन कदमहरू चाले, त्यसले राजा र राजसंस्था दूषित बन्न पुग्यो । त्यही दूषित, प्रतिगामी, भोगविलासमा डुबेको विरासतको अहंकार गर्ने राजालाई जनताले पाखा लगाए ।

जसरी राजा र उनको परिवारमा भोगविलास र धनी बन्न सक्रिय थिए, त्यसैगरी ०४६ पछि बहुदलीय व्यवस्थामा पनि सोही अनुरुपको संस्कार सुरु भयो ।  ठिक त्यसैगरी कुम्ल्याउने र मस्ती गर्ने पात्रको रुपमा नेता, उनका सन्तान, नातागोता र कार्यकर्ता झन आक्रामक ढंगमा देखिन थाले । यसले नेता र तिनका आफन्त रातारात मालामाल बन्न पुगे । मानौं कि २०४६ पछि नातावाद सबैभन्दा शक्तिशाली बन्यो । सानो काम गर्नलाई पनि नेताको श्रीमती, साली, दाजुभाई तथा कार्यकर्तालाई मोटो रकम चढाउनुपर्ने संस्कार संस्थागत भयो । मानौं कि बहुदलको मैदानमा नातावाद नतमस्तक तरुनी स्टेजमा क्याब्रे डान्स गरिरहेको जस्तै  । ०४८ देखि ०६३ सम्मको सरकारले त्यही गरे, जुन कुरा सामन्ती राज्य सत्ताले गर्थ्यो ।  

२०६३ पछि माओवादी क्रान्तिक्रारीको पगरी गुथ्दै, ठूला हल्ला र दम्भको साथ सत्तामा पुग्यो । सुरुको समयमा पुँजीवादी र दलाल पुँजीवादीसँग सजग र सतर्क हुनुपर्छ भन्ने बोली बोले पनि पछि गएर तिनैसँग लम्पसार हुन पुग्यो । माओवादीका नेता कार्यकर्ता वाईसीएल गठन गर्दै हरेक ठेक्कादेखि योजनामा भाग खोज्दै दलाल पुँजीवादको मुख्य प्रवर्द्धक नै बने । बहुलवादको विशेषता प्रतिस्पर्धा हो भन्दै एमालेले पनि युथ फोर्स सक्रिय बनायो । यी घटनाक्रमले नेपाली  राजनीतिलाई कुना दिशातिर लग्यो, त्यो हामी सामु छर्लंग छ । एमाले रूपान्तरणको नाममा विभाजित छ । माओवादी वैज्ञानिक ढंगको रूपान्तरण भन्दाभन्दै टुक्रा टुक्रामा विभाजित भयो । र, अझै पनि बैज्ञानिक समाजवाद भन्दै छन् । रूपान्तरणकै प्रक्रियामा क्रान्तिकारी पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्र पार्टी हिजोको दुश्मन नेपाली काँग्रेससँग गठबन्धनमा छ ।

परिवर्तित अवस्था र वर्तमान राजनीतिका अस्थिरतालाई हेर्दा हिजोको सामन्ती राज्यसत्ताले जनताको भलो गरेन । नोकरशाही व्यवस्था साम्राज्यवादको कठपुतली हो, पुँजीवादी व्यवस्था हाम्रो घोर सत्रु हो, दलाल पुँजीवादसँग होसियार रहनुपर्छ, प्रतिक्रियावादीको ढाड भाँच्नुपर्छ, पुँजीपति वर्गको सत्ता भत्काउनुपर्छ भन्दै क्रान्ति गरेका माओवादी पार्टी होस् या संसदवादलाई स्वीकार्ने एमाले होस् । या त प्रजातन्त्रलाई देखाएर पुँजीवादको पृष्ठपोषण गर्ने नेपाली काँग्रेस होस् । तराई र पहाडका जमिन्दार, मुखिया, सामन्तीहरूको पार्टी जसपा नै किन नहोस् । धर्म र  विरासतको आडमा राजनीति गर्न खोज्ने र सबै कोणबाट ‘नपुङ्सक’ सावित भईसकेको राजसंस्था समेत रुपान्तर भन्दै गर्ने भन्दै पूर्ण रुपमा भ्रष्टीकरणको दलदलमा भासिएका छन् ।

भ्रष्टीकरणको चरण

भ्रष्टीकरण चरणहरूको उल्लेख गर्दा सन् २०२१ मा विश्वका केही भ्रष्ट्राचारको घटना हेर्नु पर्दछ । अफ्रिकाको राष्ट्रपति ज्याक अफ जुमालाई  भष्ट्राचारको आरोप लाग्यो  । ब्राजिलका पूर्वराष्ट्रपति दि सिल्भा भ्रष्टाचारको आरोपसँग भिड्दै छन् भने अर्का पूर्वराष्ट्रपति मिसेल टेमेअरले भ्रष्टाचार गरेको स्वीकार्दै प्रहरीसमक्ष आत्मसमर्पण नै गर्नुपर्यो । थाइल्यान्डकी प्रधानमन्त्री इन्लक सिनेवात्र भष्ट्राचार गरेकै कारण जेल परिन् । छिमेकी मुलुक चीनमा भ्रष्ट्राचार गरेकै कारण कर्मचारीलाई फाँसी दिएको समाचार बाहिरियो  । बंगलादेशका प्रधामन्त्री शेख हसिनामाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । घटनाक्रम नियाल्दै जाँदा विश्वका अधिकांश देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूका साथै उच्च पदस्थ कर्मचारीहरू भ्रष्टाचार गरेरै बदनाम भएका छन् ।

नेपालमा पनि भ्रष्टाचारको समाचार दिनहुँजस्तो आइरहेको हुन्छ । गत बर्ष मात्र ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘ग्लोबल करप्सन ब्यारोमिटर एशिया २०२०’ प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको ग्राफ बढेको उल्लेख गरेको छ । जुन नेपाल सरकारले पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित भनेर खण्डन नै गर्न बाध्य भयो । यद्यपी, नेपालमा भ्रष्टाचारको दर बढ्दै गएको बुझ्न सकिन्छ । यसरी हेर्दा भ्रष्टाचार विश्व राजनीतिक व्यवस्थाको नयाँ आयाम झैं बन्दै गइरहेको जस्तो देखिन्छ । त्यसकारण राजनीतिका विचार सिद्धान्त र आदर्श जतिसुकै उपयोगी, प्रभावकारी र जनपक्षीय देखिए पनि रूपान्तरणभित्र भ्रष्टीकरण अन्तरनीहित हुँदो रहेछ । त्यसको अन्तिम चौतारी भनेको भ्रष्टीकरण नै रहेछ । 

लेखक नेपाली काँग्रेसका नेता हुन् ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लाओस राई
लाओस राई
लेखकबाट थप