
निर्धारित समयमा नहुने भो महिला राष्ट्रिय लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए । ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।’ तुलाधरले भने ।
यसअघि एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारण सभाले महिला राष्ट्रिय लिग यहि १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो ।
यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो । तर, कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने योजनामा पुगेको छ । ‘अहिले नै हुन्छ भन्न सकिँदैन । हामी कोरोनाको प्रभाव कत्तिको पर्दै जान्छ । त्यसलाई हेरेर नयाँ मिति तोक्छौं,’ तुलाधरले भने । यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए ।
लिगमा गतवर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले लिग खेल्नेछन् ।
गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ