शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

बुधबार, १२ माघ २०७८, २१ : ४१
बुधबार, १२ माघ २०७८

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भयो ।

क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए भने एमालेका सोनाम ग्याल्जेन शेर्पाले अनपेक्षित जित हात पारे । गठबन्धनमा अन्तरघात भएका कारण काँग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । अन्ततः गोला प्रथाको भरमा काँग्रेसका उम्मेदवार गोपाल बस्नेतले एमाले नेता बराललाई हराए । अरू सबै प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले जितेका छन् ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवारले भन्दा काँग्रेसका उम्मेदवारले कम भोट पाएको देखिएको छ । प्रदेश १ मा धोका पाएको जसपाले प्रदेश २ मा माओवादीको भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङ भएको पाइएको छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्कलाई हेर्दाखेरि सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको देखिएको छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जाथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेकोमा जनप्रतिनिधिकै भोट बदर हुनु अर्को हास्यास्पद परिघटना देखिएको छ ।


हरेक प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले कसरी फरक–फरक मत पाए भन्ने उदाहरण हेरौँ–

प्रदेश १ मा गठबन्धनकी उम्मेदवार जयन्ती राईले ४६९२ पाउँदा गोपालकुमार बस्नेतले ४४८८ मत मात्रै पाए । त्यस्तै हेमराज राईले मत मात्रै पाएर पराजित बने । गठबन्धनको अनुशासन पालना भएको भए तीनै उम्मेदवारको बराबरी मत खस्नुपर्ने थियो ।

​मधेस प्रदेशमा पनि त्यस्तै भयो । गठबन्धनकी माओवादी उम्मेदवार उर्मिला अर्यालले ६१५६ मत पाएर जित्दा जसपाका मोहम्मद खालिदले ६६७८ मत पाएर जिते । यहाँ गठबन्धनका प्रतिनिधिले माओवादीलाई कम र जसपालाई बढी भोट दिएको देखियो । प्रदेश १ मा यसको ठिक विपरीत जसपाका हेमराज राईले कम र एकीकृत समाजवादीकी जयन्ती राई र काँग्रेसका गोपाल बस्नेतले बढी मत पाएका थिए । यो परिघटनाले गठबन्धनमा मनपरी ढंगले क्रस भोटिङ भएको स्पष्ट हुन्छ ।

बागमती प्रदेशमा पनि त्यस्तै भयो । एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिनाले ४८२४ मत ल्याएर जित्दा काँग्रेसका कृष्णप्रसाद पौडेलले ४७९४ मत मात्रै पाएर जिते । यहाँ गठबन्धनमा संलग्न कम्युनिस्टहरुले काँग्रेसलाई कम भोट दिएको अनुमान गर्न सकिन्छ ।  

गण्डकी प्रदेशमा जितेका गठबन्धनका तीन उम्मेदवारले पाएको मतमा पनि एकरूपता देखिएन ।  यहाँ गठबन्धनबाट काँग्रेसकी कमला पन्तले ३०८४ मत पाउँदा माओवादीका भुवनबहादुर सुनारले ३०४८ मत मात्रै पाए । माओवादीका सुरेश कुमार आले मगरले सबैभन्दा बढी ३०९६ मत पाए ।

गठबन्धनले तीनवटै सिट जितेको लुम्बिनी प्रदेशमा पनि तीन उम्मेदवारले पाएको मत असमान देखिएको छ । यहाँ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेले ४३७४ मत पाउँदा नेपाली काँग्रेसका युवराज शर्माले ४३४४ मत मात्र पाए । राष्ट्रिय जनमोर्चाका तुल प्रसाद विश्वकर्मा (राजेश बिक) ले ४३५६ मत पाए ।

कर्णालीमा माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोराले भने बराबरी मत पाएका छन् । उनीहरू दुवैले ३००६ मत ल्याएर जितेका छन् । यहाँबाट जितेकी काँग्रेसकी दुर्गा गुरुले भने कम भोट (२९७०) पाइन् ।

गठबन्धनले तीनवटै सिट जितेको सुदुर पश्चिम प्रदेशमा पनि काँग्रेसले कम्युनिस्ट भन्दा कम भोट पाएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीकी मदन कुमारी शाह (गरिमा)ले ३८३४ मत पाइन् भने माओवादीका जगत पार्कीले ३७६२ मत पाए । काँग्रेसबाट जितेका नारायण दत्त मिश्रले भने ३७४४ मत मात्र पाए ।

त्यसो त गठबन्धन दलमा मात्रै होइन, एमाले पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाएनन् । साथै एकीकृत समाजवादीकी जयन्ती राईले एमालेको समेत भोट पाइन् । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर स्विङ भएको पाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप