सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खराब कर्जायुक्त शीर्ष तीनमा सरकारी बैंक

७ वाणिज्य बैंकको एनपीएल कसरी बढ्यो ?
बुधबार, ०४ फागुन २०७८, ०७ : ०३
बुधबार, ०४ फागुन २०७८

निजी क्षेत्रका बैंकको तुलनामा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू ऋणीलाई दिएको कर्जा समयमै उठाउन कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको ६ महिनाभित्र तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) दर उच्च देखिएको हो । 

चालु आर्थिक वर्षको ६ महिनामा २७ वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) औषतमा १.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार सरकारी स्वामित्वको तीन वाणिज्य बैंकसहित २४ निजी बैंकहरूले आर्थिक वर्षको पुस मसान्तसम्म प्रवाह गरेको कूल ४१ खर्ब ४३ अर्ब ७० करोड कर्जामध्ये ४७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी खराब कर्जामा रूपान्तर भएको हो । अर्थात्, कूल कर्जाको १.१५ प्रतिशत कर्जा बैंकहरूले असुल्न सकेका छैनन् । खराब कर्जा ५ प्रतिशत नाघेमा त्यस्तो बैंकलाई जोखिमयुक्त मानिन्छ ।

यस्तो खराब कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूले ०.५३ प्रतिशतले घटाएका छन् । अघिल्लो वर्ष बैंकहरूको खराब कर्जा (एनपीएल) दर औषतमा १.६८ प्रतिशत थियो ।

खराब कर्जायुक्त शीर्ष तीनमा सरकारी बैंक !

खराब कर्जाको स्थिति हेर्दा २७ वाणिज्य बैंकहरूमध्ये तीन सरकारी स्वामित्वका बैंकहरू नै अग्रस्थानमा देखिएका छन् । तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एनपीएल उच्च देखिएको छ । 

यी तीन सरकारी बैंकहरूमध्ये पनि राष्ट्रिय वाणिज्य बैंकको एनपीएल उच्च छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कूल दुई खर्ब १३ अर्ब ८९ करोड कर्जा लगानी गरेको बैंकको एनपीएल ३.०६ प्रतिशत कायम भएको हो । प्राथमिक क्षेत्र अर्थात् कृषि, पर्यटन, साना, लघु, घरेलु तथा एसएमई क्षेत्रसहित हाइड्रोपावरमा कूल कर्जा लगानीकोे ३७.६२ प्रतिशत लगानी गरेकोमा सोही क्षेत्रबाट खराब कर्जाको दर बढेको हुनसक्ने देखिन्छ ।

यद्यपि, बैंकले अघिल्लो वर्षको तुलनामा यस वर्ष आफ्नो खराब कर्जाको दर १.१७ प्रतिशतले घटाएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको एनपीएल ४.२३ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा सरकारी स्वामित्वकै कृषि विकास बैंक २.०८ प्रतिशत एनपीएलसहित दोस्रो स्थानमा देखिएको छ । पुस मसान्तसम्म एक खर्ब ७५ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले प्राथामिकताप्राप्त क्षेत्रमा कूल कर्जाको अधिकतम ७०.६४ प्रतिशत प्रवाह गरेको छ । 

बैंकले यस अवधिमा कृषि तथा पर्यटन, साना तथा मझौला एसएमईका क्षेत्रमा मात्र एक खर्ब २३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिन्छ । यो क्षेत्रबाट बैंकको खराब कर्जादर बढेको सहजै अनुमान गर्न सकिन्छ । यद्यपि, बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खराब कर्जामा १.०६ प्रतिशतले सुधार गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कूल एक खर्ब ७२ अर्ब ९१ करोड कर्जा लगानी गरेको नेपाल बैंकको एनपीएल १.९१ प्रतिशत रहेको छ । बैंकले यस अवधिमा प्राथमिकताको क्षेत्रमा कूल कर्जाको ६१.५१ प्रतिशत लगानी गरेको छ । यसै क्षेत्रबाट खराब कर्जाको दर बढ्न गएको देखिन्छ ।

समग्रमा तीन सरकारी बैंकको एनपीएल यस वर्ष औषतमा २.४० प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.९८ प्रतिशतले कमी हो । पुस मसान्तसम्म यी तीन बैंकले ५ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ माथि कर्जा लगानी गरेका छन् ।

अन्य बैंकहरूको अवस्था कस्तो ?

पुस मसान्तसम्म ३५ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ माथि कर्जा प्रवाह गरेका २४ निजी बैंकहरूको एनपीएल औषतमा ०.९१ प्रतिशत मात्र रहेको छ । जुन निकै राम्रो अवस्था हो ।

बैंकगत हेर्ने हो भने निजीतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको एनपीएल अधिकतम २.०६ प्रतिशत रहेको छ । पुस मसान्तसम्म कूल एक खर्ब ७८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा २२ प्रतिशत कर्जा लगानी गरेको देखिन्छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा बैंकले खराब कर्जादर ०.६९ प्रतिशत घटाएको हो ।

यस्तै, सिटिजन बैंकको पुस मसान्तसम्म १.८७ प्रतिशत एनपीएल हुँदा नेपाल बंगलादेश बैंकको १.७४, बैंक अफ काठमाडौंको १.६० प्रतिशत, एनएमबी बैंकको १.४९ प्रतिशत, सनराइज बैंकको १.४१ प्रतिशत, एनसीसी बैंकको १.३३ प्रतिशत, सेन्चुरी बैंकको १.३० प्रतिशत, प्रभु बैंकको १.२३ प्रतिशत छ ।

ग्लोबल आइएमई बैंकको १.१३ प्रतिशत, नबिल बैंकको १.११ प्रतिशत, कुमारी बैंकको १.०६ प्रतिशत, मेगा बैंकको १.०५ प्रतिशत, सिभिल बैंकको ०.९४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ०.७८ प्रतिशत, लक्ष्मी बैंकको ०.८३ प्रतिशत, हिमालयन बैंकको ०.७२ प्रतिशत, माछापुच्छ«े बैंकको ०.५७ प्रतिशत, एनआईसी एशिया बैंकको ०.४७ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ०.४४ प्रतिशत, सिद्धार्थ बैंकको ०.३७ प्रतिशत, सानिमा बैंकको  ०.३१ प्रतिशत, एभरेष्ट बैंकको ०.२६ प्रतिशत र नेपाल एसबीआई बैंकको ०.१४ प्रतिशत एनपीएल रहेको छ । यीमध्ये अधिकांश बैंकले गत वर्षकोे तुलनामा आफ्नो खराब कर्जाको दर घटाएका छन् ।

सात बैंकको खराब कर्जा वृद्धि

सातवटा वाणिज्य बैंकहरूको खराब कर्जादर भने अघिल्लो वर्षभन्दा बढेको छ । बैंक अफ काठमाडौं, एनएमबी, सनराइज, नबिल, लक्ष्मी, एनआईसी एशिया र एभरेष्ट बैंकको खराब कर्जा अर्थात् एनपीएल बढेको हो । 

यी बैंकहरूको खराब कर्जा अघिल्लो वर्षको तुलनामा न्यूनतम ०.०४ प्रतिशतदेखि अधिकतम ०.८९ प्रतिशतसम्म बढेको छ । उच्च दरमा एनपीएल बढ्नेमा एनएमबी बैंक (०.८९ प्रतिशत) र कम बढ्नेमा एनआईसी एशिया बैंक (०.०४ प्रतिशत) छ ।

बैंकहरूको खराब कर्जाको दर जति बढी हुन्छ–उतिधेरै कमजोर र जति कम हुन्छ–त्यति राम्रो मानिन्छ । खराब कर्जाको दर बढी हुने बैंकहरू लगानीका लागि समेत जोखिमपूर्ण मानिन्छ । जोखिमपूर्ण कर्जालाई अंग्रेजीमा एनपीएल अर्थात् नन् पर्फमिङ लोन भन्ने गरिन्छ । नेपालको केन्द्रीय बैंकले हाल पाँच प्रतिशतसम्म खराब कर्जा भएका बैंकहरूलाई राम्रै मान्न सकिने बताएको छ ।

वाणिज्य बैंकहरूको खराब कर्जा अवस्था (प्रतिशतमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप