बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय

थारू पनि नागरिक हुन् र ?

सोमबार, ०९ फागुन २०७८, १० : २७
सोमबार, ०९ फागुन २०७८

“बताया क्यूँ नही तुम ने
मेरी तो सोहरत भि गई, जोहर भि गई
अगर नही मिला तो जार हमे, तुम्हे निभाना पडेगा 
बदले मे सारा जग के सामने, तुम्हे मरना पडेगा ।”

अर्थात् भनेनौ आखिर किन तिमीले, मेरो त सम्पत्ति पनि गयो, श्रीमती पनि गयो, जार भेटिएन भने सम्झिराख्नु, सारा दुनियाकै सामु तिमीलाई मृत्युदण्ड दिइनेछ ।” आफ्नो श्रीमतीलाई सेनापतिले धनसम्पत्तिसहित भगाएर लगेपछि रानीको निजी सुसारे चारुलाई राजसभा सामु हप्काउँदै एक मुगल बादशाहले भनेको उक्ति हो यो । रानी भगाउँछ सेनापतिले । सेनापतिसँगै सम्पत्ति लिएर भाग्छिन् रानी । तर दोष भोग्न बाध्य पारिन्छ बिचरी सुसारे चारुलाई । राजसभाकै अगाडि राजाको खबरदारी छ, जार नभेटिए मृत्युको भागीदार चारु बन्नेछिन् । 

राजा, ज्योतिष, भारदार, रैती सबैलाई थाहा छ कि रानी भगाएर सेनापतिले लगेका हुन् । रानीले लुकाएर लगेको धन पनि उनैसँग छ । तर राजाको रिस अगाडि सबै नतमस्तक छन् । डरले सबै थुरथुर छन् । बोल्ने कसैको आँटै छैन । राजगुरु, सल्लाहकार, बाँकी महारानी मण्डल लगायत कसैले नबोलेपछि सखीको मृत्युदण्डको खबरदारी सहन नसकेर अर्की सुसारेले लुगलुग काम्दै राजसभा सामु बिन्ति बिसाइन्–

“सरकार, उप्परवाला ने जरुर देखा है
“सुरज गुस्साए होंगे
चाँद ने निहारी होगी
सत् जग को मालुम है
फिर भि मासुम को मृत्युदण्ड क्यूँ ?”

अर्थात् “सरकार, ईश्वरले जरुर देखेका छन् । त्यो देखेर सूर्य रिसाए होलान्, चन्द्रमाले नियाली होलिन् । सत्य संसारलाई थाहा छ, फेरि पनि निर्दोषलाई मृत्युदण्ड किन ?” एक सुसारेको रक्षाकवचका लागि अर्की सुसारे उत्रिएपछि महाराज रिसले चुर भए र राजसभामै आदेश दिए, “महाराजको रिससँग खेल्ने यस नोकर्नीलाई सय कोर्रा बर्साऊ ।” आज्ञा पालन भयो । सत्य ओकल्ने सुसारेले कोर्रा खाइन्, सभा सकियो ।

कोर्रा खाएकी सुसारेको शरीरमा बेलुकी तेल मालिश गरिदिँदै उनकी आमाले भनिन्,“ईश्वर माथि छन् । तर पृथ्वीका महाराजहरु आफूलाई ईश्वर सम्झिन्छन् । न रोऊ छोरी, तिम्री सखीले मृत्युदण्ड पाएको पनि दुनिया र उपरवालाले जरुर नियाल्लान् नि ।” 

धिपधिप बलिरहेको दियो अनि मलिन मुहारका साथ तेल घसिरहेकी उनकी आमा चम्पावति । कारुणिक चित्कार छाडिरहेकी सुसारे । राजगुरु अचानक टुप्लुक्क देखिए र निन्याउरो मुख लगाएर भने, ‘चम्पावति, आँखाले जे देख्छ, त्यो देखिन भन्नुपर्छ । कानले जे सुन्छ, त्यो सुनिन भन्नु पर्छ । मुखले सत्य भन्दा धेरै झुठ बोल्नुपर्छ । उनको हरेक स्वार्थमा स्वीकृति जनाउनु पर्छ । त्यसैको नाम हो, राज्य । राज्यलाई केवल आफ्नो स्वार्थसँग मतलब हुन्छ । दुनियामा छल्ने, ढाँट्ने, अपराध गर्ने र ईश्वरीय शक्ति भन्दा आफूलाई ठूलो ठान्ने एकमात्र निकाय राज्य हो । सत्य बोल्न खाज्दा आज बिना कारण तिम्री छोरी कोर्राको भागीदार बनी । तर चम्पावति, अन्ततः इश्वरले तिम्री छोरीमाथि ज्यादति गर्नेलाई दण्ड अवश्य दिन्छ ।’ 

छोरीको क्रन्दनसँगै राजगुरुको अर्तियुक्त कुराले चम्पावति असाध्यैै क्रोधित भइन् र बम्किइन्,“यही सत्य कुरा राजसभामा किन ओकल्न सकेनौ गुरुवर ?” दबिएको स्वरमा राजगुरुले जवाफ दिए, “म पनि चारु जस्तै बिना कारण सजायको भागीदार हुन सक्थँे । रानी भागेर गए पश्चात असाध्यै क्रोधित छन् । उनी जुनबेला जोसुकैलाई सजाय दिन सक्छन् ।”

–त्यसो भए राजर्षि, सल्लाहकार, मन्त्रीगण, खबरिया, पुरोहितको राजसभामा आवश्यकता किन ?

–एउटा मूर्ख राजाको स्वार्थमा सबैले सहमति जनाउनु नै राज्य हो चम्पावति ।

–राजर्षि, मैले पनि जीवन दरबारमै बिताएँ । घुंघरु बाँधिएका पैतालामा डोबहरु अझै मेटिएका छैनन् । जो सर्वश्री हुन सक्दैन, ऊ श्रीपेच पहिरिन लायक पनि हुन सक्दैन । राजकाजमा न्याय दिन नसक्नेहरु कहिल्यै कुशल शासक हुन सक्दैनन् । रानीलाई दरबारको सुखसयलमा राख्न नसक्नु कमजोरी हो । उनको निजी कमजोरीका कारण नोकरचाकरलाई सजायको भागीदार कसरी बनाउन मिल्छ ? तपाईं जान सक्नुहुन्छ राजगुरु ।” चम्पावति रिसले दाह्रा किटिरहेकी थिइन् ।

‘विनाशकाले विपरित बुद्घि’ भन्दै राजर्षि बाहिरिए ।

चम्पावति दरबारकी पुरानी नर्तकी थिइन् । वर्तमान राजाका पिता असाध्यै गुणवान र दयालु राजा थिए । उनी नोकरचाकर, प्रजा, भारदारको असाध्यै ख्याल राख्दथे । त्यसकारण उनको राज्यमा शुसासन थियो । जब राजाको देहान्त भयो, नवराजा मत्ता हात्तीको रुपमा प्रस्तुत भए । विगतको खिलखिलाउँदो राजदरबार सुनसान खण्डहरमा परिणत भयो । तर पनि पुराना नोकरचाकर र भारदारहरुमा विगतकै धङधङी अझै बाँकी थियो । त्यसैको परिणामतः राजसभामा सुसारे चारु बोल्न पुगिन् र सजायको भागीदार बनिन् । आभूषणसहित रानीले दरबार छोडेको पीडा राजाले पचाउनै सकेनन् । उनी आरिस जति आफ्ना भारदारहरुमा पोख्न थाले । खबरियाहरुलाई त्यही कारण देखाएर देश निकाला गरे । चारुले मृत्युदण्ड पाइन् । राजाको क्रोधले सीमा नाघेपछि रैतीको भागाभाग भयो । अन्ततः राज्य शुन्य भयो । त्यही मौका छोपेर रानी भगाएका आफ्नै सेनापतिले दरबारमा हमला बोले र राजकाज हत्याए । अरुलाई मृत्युदण्ड दिने राजा सेनापतिको हातबाट मृत्युवरण गर्नुपर्यो । “रैतीले अहंकार गरे घरबार जल्छ, राजाले अहंकार गरे दरबार जल्छ ।” राजाको सानो अहंकार र बेलैमा बुद्घि नपुर्याउँदा राज्य पनि गयो, मर्नु पनि पर्यो । 

अहिले नेपाली राजनीतिको क्यानभास ठ्याक्कै यस्तै छ । अहंकार र दम्भ बोकेका राज्य सञ्चालक छन् । यिनले देशलाई कुन बेला भड्खालोमा हाल्छन्, ठेगानै छैन । न यिनले ठोस मुद्दा बोक्छन्, न आफूले अंगालेको मार्गमा चल्छन् । यिनलाई जे मन लाग्छ, त्यही गर्छन् । मानौँ राज्य यिनको बपौती हो । पार्टी कार्यालयमा विदेशी दाह्रीवालको फोटो झुण्ड्याएर राष्ट्रवादको कुरा गर्छन् । एउटा मुद्दामा जनता उचाल्छन् अनि स्वार्थ पूरा भएपछि छाडिदिन्छन् । 

हामी जनता पनि हुस्सु हौँ नि । हिजोकै आज बिर्सिन्छौँ र फेरि उनकै पछि लाग्न थाल्छौँ । हामी समक्ष गरेको वाचा बिर्सिन्छौँ । नेताहरुले देशलाई स्वीट्जरल्याण्ड बनाउँछौ भनेका कबोल बिर्सिन्छौँ । जनतालाई पहिचान र पहिचान अनुरुप भूगोल दिन्छौँ भनेर खाएका कसम बिर्सिन्छौँ । युवालाई रोजगार, सबैलाई सरोबरी शिक्षा, उद्योग कलकारखाना, पर्यटन सबैलाई शिखरमा पुरयाउँछौ भनेर उफ्रि उफ्रि सार्वजनिक रुपमा गरेको भाषण बिर्सिन्छौँ । जनतालाई झुठो वाचा गरेर सडकमा ओराली मृत्युवरण गर्न बाध्य पारेको अवस्था बिर्सिन्छौँ । यही बिर्सिने बानीका कारण हामी पछि परेका छौँ, हाम्रा सन्तान दरसन्तान पछि छन् । अनि समग्रमा हाम्रो देश नेपाल पछि परेको छ । 

राज्य सञ्चालकले सोच्नु पर्छ, हामीले अन्याय गरेकै छौँ । विमान अपहरण गरेर राष्ट्र बैंकको रुपैंया लुटेको इतिहासको वर्णन तपार्इं उफ्रीउफ्री आफ्नो मञ्चमा गर्नुहुन्छ । वीपी जयन्तीमा मुक्ति सेनाको इतिहास बडो गर्विलो पारामा प्रजातान्त्रिक नेताहरुको मुखबाट सुन्न पाइन्छ । जनयुद्घको खिस्सा प्रायः सबैको मुखमा छ । टाउको काट्ने झापा आन्दोलन इतिहास बन्छ । तर “भौगोलिक साँस्कृतिक पहिचानसहितको संघीयता”का लागि गरिएको थरुहट आन्दोलनलाई अपराधीकरण गरिन्छ । यो जस्तो दुर्भाग्य के नै होला र ?

थरुहट आन्दोलनलाई अपराधीकरण कसले गरिरहेका छन् ? “जो आफ्नो इतिहासलाई जहाज अपहरण र मुक्तिसेनासँग जोड्छन् ।” “जसले आफ्नो इतिहास जमिन्दारको टाउको सफाया र झापा क्रान्तिसँग जोड्छन् ।” “जसले आफ्नो इतिहासको बखान हजारौँको बलिदानीका साथ गरिएको जनयुद्घसँग गर्छन् ।”

एउटा उखान छ, “मित मित मिले जित सुनिश्चित ।” आफू आफू मिलेर सर्वस्व आफ्नै हो भन्ठान्नाले राज्य धरापमा पर्छ । टीकापुर आन्दोलन विशुद्घ आफ्ना अधिकारका लागि गरिएको आन्दोलन थियो । त्यो आन्दोलनमा कसले घुसपैठ गरायो ? राज्य कहाँनेर कसरी चुक्यो ? त्यसको विस्तृत विवरण लाल आयोगको प्रतिवेदनमा जरुर होला । खै त लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको ?

राज्य के हो ? त्यसको परिभाषा सबैलाई थाहा छ । काँग्रेस, कम्यूनिष्ट, माओवादीको क्रान्ति हुन सक्छ । मधेशीको क्रान्ति हुन सक्छ । अनि थारूको क्रान्ति किन हुन सक्दैन ? राज्य चलाउनेलाई ज्ञात होस् । टीकापुर आन्दोलनमा भएको जघन्य अपराध थारूबाट भएको होइन । अपराध कोबाट भयो, सबैलाई जगजोहर छ । विनाकारण मोहडा बनाएर थारूहरूलाई झ्यालखानामा हुलेको परिणाम हामी आफ्नो मतमार्फत् दिनेछौँ । हाम्रै समुदायभित्रको गद्दारको पहिचान हामीले गरिसकेका छौँ, तिनलाई राजनैतिक दलले अंगाले पनि सम्पूर्ण थारूले बहिष्करणको सूचीमा राख्नेछन् । 

हामीलाई न्याय र हाम्रा माग पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ । हाम्रा कदम लड्खडिने छैन । राज्यलाई भूमिपुत्र थारूको कुनै मतलब छैन । थारू पनि नागरिक हुन् र ? यही सोच्छ राज्यले । नागरिक भए नागरिक सरह व्यवहार गर्थ्यो होला । राज्यले थारूलाई अनागरिकको सूचीमा राखेको स्पष्टै छ । आजभोलि थारू बस्तीमा एउटा गीत घन्किन्छ “जागा जागो थारु गोचाली, हम्रे हुइटि सक्कु नेपाली”

कार्यकर्ता बन्न हुने नेता चाहीँ नहुने

कर्मचारी बन्न हुने हाकिम चाहीँ नहुने 

कस्तो होला नेपाली भै नेपाली नहुने

नागरिकता भए पनि नागरिक नहुने

यही गीतको ज्वारभाटाले समाज लपक्कै लप्किसकेको राज्यलाई थाहा छ कि छैन ? सुने पनि नसुने झैँ गरिन्छ भने हामीलाई भन्नु केही छैन । 

हालः डिल्लीबजार, कारागार 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम चौधरी
रेशम चौधरी
लेखकबाट थप