क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
सारांश
- विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जना क्षयरोगका बिरामी रहेका छन् ।
- सरकारले आगामी आर्थिक वर्षमा थप १०७ स्थानीय तहमा क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
- क्षयरोग मुक्त नेपाल अभियानले सन् २०५० सम्ममा क्षयरोग निवारण लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँ । प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक एक लाख जनामा ५३ जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२७ रहेको छ ।
साथै हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एक लाखमा ५३ जना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनाले क्षयरोगका बिरामी अरू कुनै कारणले मृत्यु भए भने पनि क्षयरोगकै कारण मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेकाले पनि मृतकको सङ्ख्या धेरै देखिएको हुनसक्ने बताए ।
यस्तो अवस्थाको रोकथामको उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्षमा थप १०७ वटा स्थानीय तहमा क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । योसँगै हाल सञ्चालित १४९ बाट बढेर अब २५६ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम पुग्ने केन्द्रले जनाएको छ ।
क्षयरोग मुक्त नेपाल अभियानले सन् २०५० सम्ममा क्षयरोग निवारण लक्ष्य हासिल गर्ने गरी कार्यक्रमहरू गर्ने केन्द्रले जनाएको छ । हाल एआई जडित डिजिटल एक्सरेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रूपमा भइरहेको छ । केन्द्रका उपसचिव तिमल्सेनाले क्षयरोगका लागि आगामी आर्थिक वर्ष १ अर्ब ५० करोड बजेट विनियोजन भएको जानकारी दिए । सङ्घमा ८२ करोड, प्रदेशमा १७ करोड र स्थानीय तहमा ५१ करोड बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधी संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरी उपचार गरिएको थियो । तीमध्ये ३९ प्रतिशत महिला ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए ।
उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशतमा फोक्सो बाहेक अन्य अमा हुने क्षयरोग देखिएको थियो । औषधी प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना पहिचान गरिएको थियो । उपचार सफलता दर औषधी संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधी प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन् । साथै औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको केन्द्रले जनाएको छ ।
अनुमानित ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । साथै ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहोर्नुपरेको छ भने लाञ्छना र सामाजिक भेदभावले पनि समस्या जटिल बनाएको छ । पर्याप्त स्रोतसाधनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण