शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण चाहन्छन् देउवा चुनावी गठबन्धन

काँग्रेसका लागि गठबन्धन कति घाटा, कति फाइदा ?
शुक्रबार, २७ फागुन २०७८, २० : ५४
शुक्रबार, २७ फागुन २०७८

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनलाई तीन तहकै निर्वाचनसम्म डोर्याउने पक्षमा देखिएका छन् । बिहीबार पर्सा पुगेर सार्वजनिक रुपमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तीन तहकै निर्वाचनमा तालमेल हुने प्रस्ट सन्देश दिएका हुन् ।

उनको यस्तो अभिव्यक्तिसँगै चुनावी गठबन्धनको पक्षमा उभिनु सरकारको नेतृत्व गरेका देउवाको बाध्यता हो वा काँग्रेसको आवश्यकता भन्ने प्रश्न उठेको छ । काँग्रेस नेताहरुका अनुसार गठबन्धनको सरकारको नेतृत्व गरिरहेकाले पक्षमा अभिव्यक्ति दिनु देउवाको बाध्यता पनि हो । तर देउवाको अभिव्यक्तिका पछाडि एमसीसी अनुमोदन गर्दा चुनावसम्म गठबन्धन गरेर जाने एकखालको सहमति भएको हुन सक्ने विश्लेषण पनि गरिएको छ ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसी पास गर्दा गठबन्धन गरेर जाने सहमति भएको कतिपयको बुझाइ छ । प्रधानमन्त्री देउवाले पनि पार्टीभित्र र बाहिर गठबन्धन गरेर जाने सन्दर्भमा माहोल सिर्जना गर्न गर्दै गएका छन् ।

देउवा किन चाहन्छन् गठबन्धन ?

माओवादी र एकीकृत समाजवादीलाई चुनावी गठबन्धन गरेर केही ठाउँ नदिँदा बाम गठबन्धन हुन सक्ने भय देउवामा छ । काँग्रेस गठबन्धनका लागि तयार नभए माओवादी र एकीकृत समाजवादी सरासर एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुग्ने उनको बुझाइ छ । काँग्रेसका एक नेताका अनुसार बाम गठबन्धनका लागि बाह्य शक्तिका रुपमा छिमेकी मुलुक चीनले मध्यस्थकर्ताको भूमिका खेलिदिने छ भने आन्तरिक रुपमा बाम गठबन्धन एमाले र माओवादीको आवश्यकता हो ।

बाम गठबन्धन गरेर चुनावमा जाँदा हुने लाभको स्वाद एमाले र माओवादीले चाखिसकेको अवस्था छ । त्यसैले गठबन्धनका लागि काँग्रेस उदार नभए बाम गठबन्धन भन्छ भन्ने देउवाको सामान्य रिडिङ रहेको ती नेताले रातोपाटीलाई बताए ।

‘बाम गठबन्धन हुँदा काँग्रेसको हालत ०७४ को चुनाव झै हुन्छ । ०७४ को चुनावमा भन्दा सिनारियो केही फरक छैन । बाम गठबन्धन हुँदा काँग्रेस २३–२४ सिटमा खुम्चिनुपर्छ,’ ती नेताले देउवाको मनमा रहेको भय सुनाए ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवाको पहिलो र अन्तिम मिसन नै आसन्न चुनावमा बाम गठबन्धन हुनबाट रोक्ने हो । तर स्थानीय तहमा माओवादी र एकीकृत समाजवादीलाई ठाउँ नदिँदा रोक्न कठिन हुने देउवाको बुझाइ छ । त्यसैले स्थानीय तहको चुनावमा सकेसम्म गठबन्धन गर्नुपर्छ भन्ने देउवाको सिधा लाइन छ ।

तर काँग्रेसका केही नेताले भने निर्वाचनपछिको गठबन्धन फाइदाजनक हुने बताउँछन् । चुनावमा काँग्रेसले एक्लै लडेर बहुमत ल्याउन नसकेपछि सरकारमा माओवादीसँग सहकार्य गर्दा राम्रो हुने उनीहरुको बुझाइ छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका नेताको जोड सत्ता गठबन्धनमा छ । उनीहरुले प्रधानमन्त्री देउवालाई उक्त सुझाव दिने गरेका छन् । तर माओवादी चुनावपछि गठबन्धन गर्ने गरी चुनाव लड्दै लड्दैन भन्नेमा उनी प्रस्ट छन् । प्रधानमन्त्री देउवामा माओवादी कोही न कोहीसँग मिलिहाल्छ भन्ने चिन्ता छ । यसलाई फागुन १२ को घटनाले बल पुर्याएको देखिन्छ ।

एमसीसी पारित गराउने सन्दर्भमा काँग्रेसले एमालेसँग संवाद गर्दा माओवादी एमालेसँग सहकार्यका लागि अग्रसर भयो । फागुन १२ गते संघीय संसद भवनमा प्रधानमन्त्री देउवा र ओलीको भेटवार्तालगत्तै प्रचण्ड ओलीलाई भेट्न पुगे ।

प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरी सहकार्यको प्रस्ताव राखेका थिए । ओली अहिले बाम गठबन्धनका लागि तयार नभएपछि रोकिएको थियो । तर ओली र प्रचण्डबीचको सम्बन्ध नाटकीय रुपमा बदलिनेमा देउवा जानकार छन् । ओली र प्रचण्डको अहिलेको जस्तो सम्बन्ध ०७४ को चुनावअघि पनि थियो ।

भारतको मध्यस्थकर्तामा देउवा र प्रचण्ड मिलेर ओलीको सरकार ढालेर काँग्रेस–माओवादीको सरकार बनेको थियो । प्रचण्ड र ओलीबीच बोलचालसम्म नभएको अवस्था थियो । स्थानीय तहको चुनावमा काँग्रेसले प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताइदिएको थियो । तर काँग्रेसले आम चुनावमा गठबन्धन गर्न सकिँदैन भन्दा प्रचण्ड ओलीसँग गएर मिलिदिए ।

ओली र प्रचण्डको सम्बन्धलाई लिएर अहिले बाम गठबन्धन सम्भव नै छैन भनेर कसैले भन्छ भने अरुले पत्याए पनि देउवाले पत्याउँदैनन् । किन भने ०७४ को आम चुनावअघि पनि प्रचण्ड र ओलीको यस्तै सम्बन्ध थियो । त्यस्तो अवस्थामा पनि उनीहरु मिले । त्यसैले देउवा कुनै पनि बेला बाम गठबन्धन हुने सम्भावना देखेर नै सत्ता गठबन्धनलाई चुनावसम्मै डोर्याउन चाहन्छन् ।

गठबन्धन गर्दाका फाइदा

सत्ता गठबन्धनलाई चुनावसम्मै लैजाँदै गर्दाको हिसाब किताबमा काँग्रेसलाई नाफा हुने एकखालको विश्लेषण छ । जिल्लाको वस्तुगत स्थिति अध्ययन गरेर गठबन्धन गर्दा पार्टीलाई फाइदा हुने काँग्रेस नेताहरु बताउँछन् । ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ भने अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा छ,’ ती नेताले भने, ‘गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’

राजनीतिक धरातलीय यथार्थको जगमा तालमेल गर्दा स्थानीय तहदेखि केन्द्रसम्म फाइदा हुने ती नेताको भनाइ छ ।

०७४ मा भएको आम निर्वाचनमा माओवादीसँगको चुनावी गठबन्धनले एमालेका अधिकांश उम्मेदवार निर्वाचित भएकोमा काँग्रेस जानकार छ । १६५ निर्वाचन क्षेत्रमा एमालेले ९९ र माओवादीले ५६ सिट लिएर चुनाव लडेका थिए । बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीलगायतलाई दिइएको थियो । जसमा एमालेलाई ८० र माओवादीलाई ३६ सिटमा सफलता मिल्यो ।

समग्रमा एमालेले १९ र माओवादीले २० सिट गुमाए । ०७४ को निर्वाचनमा काँग्रेससँग पराजित हुनेमा एमालेभन्दा माओवादीका उम्मेदवार बढी थिए । गठबन्धन गरेर जाँदा ०७४ मा एमालेले लिएको स्थानमा सहजै पुग्न सकिने काँग्रेस नेताहरुको हिसाब छ ।

काँग्रेसका एक पदाधिकारीका अनुसार एमालेमा आएको विभाजन र गठबन्धनको साथमा आसन्न आम चुनावमा काँग्रेस ९० सिटमा लड्दा ८० सिटसम्म जित्न सक्छ ।

७५ सिट गठबन्धनलाई दिएर जान काँग्रेस तयार हुने काँग्रेस नेताहरु बताउँछन् । यता ०७४ मा समानुपातिकतर्फ ४० सिट जितेको काँग्रेस आसन्न चुनावमा ४५ सिट जित्न सक्ने आँकलन गरिरहेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभामा काँग्रेसको १२५ सिट हुन जान्छ ।

जसले काँग्रेसका लागि पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर मिल्छ । यसरी हेर्दा गठबन्धन गर्दा काँग्रेसका लागि लाभदायी हुन्छ ।

गठबन्धनमा जाँदा के हुन्छ घाटा ?

एमाले–माओवादी गठबन्धन जस्तो काँग्रेसलाई गठबन्धन गर्न सजिलो भने छैन । गठबन्धन गर्दा पनि एक अर्काको मत पाउन काँग्रेस–माओवादीमा कठिन छ । काँग्रेसको नेचरले गर्दा गठबन्धनबाट परिणाम निकाल्न गाह्रो छ ।

काँग्रेसका एक नेताले भने, ‘हाम्रो मान्छेले हँसिया हतौडामा भोट हाल्ने, उनीहरुले रुखमा भोट हाल्ने कुरा एकदम गाह्रो छ ।’

उनका अनुसार काँग्रेसका कार्यकर्ताबाट विद्रोहको खतरा पनि छ । ‘काँग्रेसका ठुलो संख्यामा मतदाताले विद्रोह गर्छन् । त्यो मत एमालेतिर जान्छ । काँग्रेसको ठूलो मतदाता लिबरल मतदाता हो । उनीहरुलाई सबैभन्दा मन नपर्ने पार्टी माओवादी हो,’ ती नेताले भने, ‘माओवादीसँगको गठबन्धन अभिशाप पनि हुने खतरा हुन्छ ।’

यस्तै काँग्रेसले गठबन्धन गरेर जाँदा नयाँ मतदातालाई पार्टीसँग जोड्ने अवसरबाट बन्चित हुन्छ ।

‘नयाँ मतदातालाई हामीले अन्य पार्टीलाई मतदान गर्न लगायौँ भने दीर्घकालीन रुपमा हाम्रो संगठनलाई ठूलो असर पार्न सक्छ,’ उनले भने, ‘गठबन्धनका गर्दा काँग्रेस पहिलो पार्टी भए पनि एमाले र हाम्रो मत उस्तै छ । हामी एमालेभन्दा धेरै पछाडि पर्ने खतरा हुन्छ ।’

गठबन्धन गर्ने कुरा समय अगावैभन्दा कार्यकर्तामा संगठन निर्माणको गति कम आउने एक पदाधिकारीले बताए ।

‘हामी खटेर, भिडेर लाग्नै परेन । माओवादी र एकीकृत समाजवादीसँग मिलेपछि हामी जितिहाल्छौँ भन्ने हुन्छ । धेरै अगाडि गठबन्धनको टुंगो गरेमा भने पार्टीलाई क्षति गर्छ ।’

एमसीसी पासपछि देउवा गठबन्धनको मुडमा

एमसीसी पास नहुँदासम्म प्रधानमन्त्री देउवा सबै कुरामा खुला थिए । एमसीसी पारित भएपछि देउवाले गठबन्धन चुनावसम्मै लिएर जाने लय समातेको पाइएको छ । यो बीचमा देउवाले बार एशोसिएसन नेपालको चुनावमा गठबन्धन गराए । यता पार्टीको चुनावी अभियानमा खटेका प्रतिनिधिलाई गठबन्धनको विपक्षमा नबोल्न निर्देशन दिए ।

२४ गते पार्टी कार्यालय सानेपामा उनीहरुलाई प्रशिक्षण दिँदा देउवाले गठबन्धनको विपक्षमा नबोल्न निर्देशन दिएका थिए ।  बिहीबार देउवाले पर्सा पुगेर सर्वाजनिक मञ्चबाट गठबन्धनको आवश्यकता र औचित्य सुनाए । उनले विस्तारै गठबन्धनका पक्षमा माहोल सिर्जना गर्न सुरु गरेको देखिन्छ ।

काँग्रेसका एक नेता भन्छन्, ‘सभापति आजको दिनमा सबैभन्दा बलियो पोजिसनमा हुनुहुन्छ । सभापतिले बोलेपछि काँग्रेस यही लाइनमा जाने रहेछ भन्ने माहोल बनाउन थाल्नुभयो ।’

पार्टीभित्र माहोल बनाउन मात्रै होइन, प्रचण्ड र माधव नेपाललाई काँग्रेससँगको गठबन्धन कुनै पनि विकल्प सोच्न नदिने देउवाको रणनीति छ । त्यही अनुसार देउवाले बिहीबार पर्साबाट चुनावी गठबन्धन हुने सन्देश प्रवाह गरेको काँग्रेस नेताहरुको भनाइ छ ।

‘प्रचण्ड र माधव नेपालहरुले विकल्पबारे नसोचुन् । विकल्पको ढोका सबै बन्द होस् भन्न चाहनुहुन्छ । यसका लागि काँग्रेसभित्र माहोल बनाउनु छ,’ एक नेताले भने, ‘उहाँ यसरी लाग्दा प्रचण्ड र माधव नेपालले राहत हुन्छ ।’ आफूले चाहेअनुसार निर्णय गर्न सक्ने संख्याको ताकत देउवासँग रहेकाले गठबन्धन हुन्छ भन्ने प्रचण्ड र माधवलाई पर्न जान्छ । यो सन्देश दिन देउवाले गठबन्धनको पक्षमा माहोल बढाउँदै गएको देखिन्छ ।

उनले भने, ‘अब अलमल छैन । गठबन्धन गरेर जाने हो । दायाँ बायाँ कुरा छैन भन्नेमा प्रधानमन्त्रीजीले लाइन क्लियर पार्नुभयो ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार एमालेलाई पराजित गर्न काँग्रेसले सबै खालका रणनीति अख्तियार गर्न खोजेको देखिन्छ ।

‘आगामी निर्वाचनमा काँग्रेसको प्रमुख प्रतिस्पर्धी पार्टी नेकपा एमाले नै हो । एमालेलाई पराजित गर्न काँग्रेसले सबै खालका रणनीति अख्तियार गर्न खोजेको देखिन्छ,’ उनी भन्छन् ।

एमाले पराजित गर्न गठबन्धन गर्ने स्थिति सिर्जना हुने उनको बुझाइ छ । वाग्लेले रातोपाटीलाई भने, ‘०७४ को निर्वाचनबाट पाठ सिकेर वामपन्थीको गठबन्धन नबनोस् भन्ने दृष्टिकोणले काँग्रेस उच्च सतर्क भएको देखिन्छ ।’

आसन्न निर्वाचनमा विजयी हासिल गर्न काँग्रेसले सबै रणनीतिलाई अगाडि बढाउने सम्भावना उच्च रहेको पनि उनले बताए ।

महामन्त्रीद्वय भन्छन् – तल्लो तहमा निर्णय गर्न दिनुपर्छ

काँग्रेस महामन्त्री गगन थापाले भने स्थानीय तहको चुनावी गठबन्धनबारे तल्लो कमिटीहरूलाई निर्णय गर्ने छुट दिनुपर्ने बताए । ‘स्थानीय कार्यकर्ताको मनोविज्ञान र आवश्यकता अनुसार गठबन्धनबारे निर्णय गर्ने छुट दिनुपर्छ,’ थापाले भने, ‘केन्द्रबाट गठबन्धन गर्र्दै तालमेल गरेर जान खोज्यौं भने पार्टीलाई धेरै ठूलो दुर्घटनामा पार्न सक्छ ।’

केन्द्रले तल्लो कमिटीलाई विश्वास गर्नुपर्नेमा पनि थापाले जोड दिए । काँग्रेसको विधानले नै स्थानीय तह (महानगर र उपमहानगर बाहेक) को उम्मेदवार छनोट सम्बन्धी निर्णय गर्ने अधिकार तल्लो तहलाई दिएको छ ।

यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा तालमेल गरेर जाँदा पनि केन्द्रबाट निर्देशन नदिने बताए । ‘गठबन्धन गर्ने–नगर्नेबारे टिकट बाँड्ने तहले गरेको अध्ययन, त्यहाँका साथीहरुले पुर्याउने विवेक र जिम्मेवारीमा छोड्दा बढी लोकतान्त्रिक, बढी व्यवहारिक हुन्छ भन्ने कुरामा प्रस्ट छौं,’ शर्माले भने । तर यसबारे अन्तिम निर्णय केन्द्रीय कार्यसमितिबाट लिइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप