मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कहाँ चुक्यो मिडिया ?

आइतबार, २९ फागुन २०७८, १६ : ४२
आइतबार, २९ फागुन २०७८

जब टेलिभिजनमा कुनै विशेष घटना सन्दर्भमा रहेर कार्यक्रम बनाइन्छ, तब आममानिसले आफ्नो कौतुहलताको उत्तर कार्यक्रमका अतिथिबाट खोजिरहेका हुन्छन् । पत्रकारले आफ्ना मनमा उठेका प्रश्न कतिबेला अतिथिसामु राखिदिन्छन् र जिज्ञासा मेटिन्छ भन्नेमै सबैको ध्यान केन्द्रीत हुन्छ । तर पत्रकारले ती प्रश्न नै राखिदिएन भने के हुन्छ, कस्तो लाग्छ ? पत्रकार, विषयसन्दर्भ भन्दा बाहिर बहकियो भने त्यो कार्यक्रमको औचित्य के हुन्छ ? टिआरपी र भ्यूजका लागि मात्र टेलिभिजनले कार्यक्रम उत्पादन गर्ने त होइन होला । 

आममनिसको प्रश्न समेट्न नसक्ने पत्रकारका कारणले पत्रकारिताप्रति उनीहरुको विश्वासनीयता कमजोर हुन सक्ने जोखिमप्रति मिडिया हाउस सचेत हुनुपर्ने हो । अझ श्रव्यदृश्य कार्यक्रममा त दर्शकले अतिथि र कार्यक्रम प्रस्तोताको हाउभाउ पनि नियालिरहेका हुन्छन् । यस्ता कुराले एउटा आम सरोकारको विषयमा पक्कै प्रभाव पार्दछ । पत्रकारिता संवेदनशील हुन्छ, भनिएकामध्ये एउटा कारण यो पनि हुन सक्छ । 

आचारसंहिताको पालना गर्दै प्रश्नको सीमा र प्रकृतिले नै आमन्त्रित अतिथिलाई संयमित राख्ने वा उत्तेजित—अराजक बनाउने भन्ने निर्धारण गर्दछ । यो पनि दर्शकले उत्सुकताका साथ हेरिरहेका हुन्छन् । पत्रकार र पत्रकारिताको स्तर मापनको आधार आम दर्शकश्रोता र पाठकको यस क्षेत्रप्रतिको चासो र विश्वसनीयता नै हो । जब देशमा कुनै घटनाक्रम विकास हुन्छ,  पत्रकारिताका स्तर मापनको उचित समय पनि त्यही समय हुन्छ । पत्रकार र नाम चलेका व्यक्तित्वहरुले मिडियाको प्रयोग कसरी गरिरहेका छन् र त्यसको प्रभावबारे उनीहरू कतिको सचेत छन् भनी जान्ने समय त्यतिबेलै त हो । 

नायक पल शाह र एक युवती गायिकाको विषयलाई लिएर आजभोलि सामाजिक सञ्जाल तातिएको छ । केही समय अघिदेखि नै खटपट चलिरहँदा उनीहरुको सम्बन्धलाई लिएर थुप्रै धारणा बाहिरिदै थिए  । यद्दपी उनीहरू त्यस विषयलाई लिएर आफ्नो स्पष्टिकरण दिइरहेका थिए । गत फागुन ११ गते युवतीको परिवारले पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेपछि भने उनीहरु बीचको चर्चा चुलिएको हो । उनीहरु दुवैका फ्यान दुई पक्षमा विभाजित भएका छन् । मूल धारका मिडियामा समेत र केही राष्ट्रिय स्तरको अनलाइनमा आएका टीका—टिप्पणीले पनि यो घटनाको अनावश्यक विश्लेषण र अनुसन्धान प्रभावित हुने गतिविधि थप बढ्ने अनुमान लगाउन सकिन्छ ।

जब पल र ती युवतीको सम्बन्धलाई लिएर सुरुवाती दिनहरुमा अपुष्ट कुराहरू बाहिर आउन थाल्यो, तबदेखि नै उनीहरुको सम्बन्धमा चिसो पसेको शंका सबैले गरेका हुन् । खास गरी केही युट्युबमार्फत् यस विषयलाई ‘काण्ड’ को रुप दिई सम्पूर्ण दर्शक श्रोताको ध्यान केन्द्रित गरी उनीहरूको चरित्र हत्या गर्ने काम भयो । सही श्रोतको अभावमा बजारमा आएका गसिफको भरमा सम्प्रेषण भएका त्यस्ता सामग्रीले युट्युब मिडिया कति अपारदर्शी छन् भन्ने कुरा छर्लङ्ग भएको हो । क्यामेरा अघि तेर्सिएर बुम हातमा लिएर बोल्नेहरू सबै पत्रकार हुन् भन्ने भ्रम अझ पनि सर्वसाधारणमा छ । यो कुराले पत्रकारितामा भविष्य व्यतित गर्ने दरिलो सपना बुनेका म जस्ता कैयौं अध्येताको मन पटक पटक कुँडिएको छ । वास्तवमा न उनीहरू पत्रकार हुन्, न उनीहरू पत्रकारिता नै जान्दछन् ।

गत फागुन ११ गते नायकविरुद्ध उजुरी परेपछि यस विषयले मूलधारका मिडियामा पनि विशेष प्रवेश पायो । उक्त दिनसम्म मौन बसेका पत्रकार र मिडिया हाउसहरूले ब्रेकिङ न्यूज दिने क्रममा सुरुमै चुक्न पुगे । देशको संवैधानिक व्यवस्था र पत्रकारिताको आधारभूत मूल्य मान्यताको सीमा तोड्दै पीडित भनिएकी तीनै युवतीको व्यक्तिगत सूचना प्रकाशन प्रसारण गर्न पुगे । पीडित भनिएकी युवतीको हुलिया सहितको समाचार सम्प्रेषण भएपछि भने नेपालमा वादी पक्ष कति असुरक्षित छ भन्ने कुरा दर्शाएको छ ।

सन् २००२ मा एक राष्ट्रिय स्तरको पत्रिकामा तथ्यहीन सामग्रीसहित आफ्नो आपत्तिजनक फोटो प्रकाशित गरिएको भन्दै एक नायिकाले आत्महत्याको बाटो रोजेकी थिइन् । पत्रकार आचार संहिताको वेवास्ता गर्दै बेला बेला बाहिर ल्याइने यस्ता संवेदनशील सामग्रीले उक्त घटना व्यूँताई रहन्छ । नेपाली पत्रकारिताले यस घटनाबाट पाठ नसिकेको सहज अड्कल गर्न सकिन्छ ।

नायक र गायिकाकै विषयलाई लिएर अभियुक्त नै पीडक, गायिका नै पीडित हो भन्ने आशयका सूचनाले जनताबीच समर्थन वा विरोध गर्ने होडबाजी नै चलेको छ । अदालतमा प्रवेश पाउन लागेको अनुसन्धनात्मक चरणमा रहेको यो मुद्दालाई “आफै अदालत आफै न्यायाधीश”को दृष्टिकोणबाट बहस चलाइनाले अनुसन्धान प्रभावित हुने संभावना रहन्छ । आफू खुसी समर्थन वा विरोध गर्दै सर्वसाधारण प्रदर्शनमा उत्रेपछि मानव अधिकार आयोगले यस्ता गतिविधि नगर्न विज्ञप्ती नै जारी गर्नुपर्यो । जनता कति चेतनशील छन् ? यो प्रश्नको उत्तर खोज्न कहीँ जानु पर्दैन, मात्र एक बुम र क्यामेरा बोकेर जथाभावी प्रश्न सोधिदिनु पर्छ,  त्यसपछि उनीहरु आफ्नो स्तर आफैँ प्रस्तुत गर्नेछन् । 

व्यक्तिकोे गोपनीयतासँग जोडिएका विषय कुन हदसम्म खोतल्ने भन्ने ध्येय नराखी हचुवाका भरमा प्रश्न सोध्नाले सार्वजनिक व्यक्तिहरुको निजी जीवनप्रतिको सम्मान नगरेको÷नभएको जस्तो भान दर्शकदीर्घमा पर्न जान्छ । तिनै मूलधार मिडियाको युट्युबले पनि भ्यूज र लाइकको लोभमा ‘सनसनीपूर्ण खुलासा’ किसिमको सामग्री सम्प्रेषण गर्दा त्यसैलाई आधार मानेर पक्ष–विपक्षमा रहेर जुलुस वा प्रदर्शनजन्य गतिविधिमा प्रश्रय पुगिरहेको छ । 
अब सामाजिक सञ्जालको कुरा गरौँ । आज हरेक माानिस सामाजिक सञ्जालमा जोडिएका छन् । आफ्ना विचार साझा गर्न यो खास र विशेष छ । जब जब करणी, हत्या आदि अपराधिक घटना घट्छन्, तब सामाजिक सञ्जाल थरी थरीका धारणाले भरिन्छ । सञ्जालमार्फत् आफ्नो धारणा बाहिर ल्याउन जो कोहीलाई छुट छ । तर त्यसको साइड इफेक्टको हेक्का राखेर विचार बाहिर ल्याउनु—नल्याउनु के कति उपयुक्त हुन्छ भन्नेतर्फ पनि पनि ध्यान जानुपर्दछ । 
अझ सार्वजनिक व्यक्तिहरुले आफ्नो वैत्तिक विचारलाई सार्वजनिकीकरण गर्दा उनीहरुको दृष्टिकोणले सर्वसाधारणको ठूलो भीडलाई प्रभावित पार्दछ । भीड उत्तेजित र अराजक नहोला भन्न सकिन्न । यो प्रकरणमा पनि नाम चलेका सेलिब्रेटी र  कलाकारहरुले एकपक्षीय विचार सञ्जाल र अन्य मिडियाबाट बाहिर ल्याउँदा निष्पक्ष हुनुपर्ने प्रहरी  अनुसन्धानले ट्रयाक गुमाउला कि भन्ने शंका पनि छ । पीडित र अभियुक्तबीच को दोषी, को निर्दाेष ? भन्ने सावित भइ नसकेको अवस्थामा ती युवतीले अकल्पनीय बाटो रोजिन् भने को जिम्मेवार हुने ? 

पत्रकारिता गर्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस्ता प्रकरणहरूमा संयमता अपनाउने र अनावश्यक कोणबाट घटना गिजोल्न बन्द गर्ने हो भने अनुसन्धानकर्ताहरु स्वतन्त्र रहेर निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छन् । असम्बन्धितहरुबाट लिइएका कथ्यपरक र पूर्वाग्रही भनाइले विषय थप जटिल बन्ने स्पष्ट छ । यस्ता विचारले सार्वजनिक ठाउँ पाउँदा आम ानिसमा भ्रम पैदा हुने जोखिम पनि रहन्छ । आफू खुसी दोषी र निर्दोष घोषणा गर्नुपूर्व हामी कानुनी शासनमा छौँ भन्ने यथार्थता बिर्सनु हुँदैन ।

मिडियाको भूमिका
यस्ता संवेदनशील घटनामा मूलधारका मिडियाको भूमिका अहम् हुन्छ । सर्वसाधारणको समूहलाई एकपक्षीय बनाउने कि तथस्त राख्ने भन्ने कुरा विषयसँग सम्बन्धित सम्प्रेषण हुने सामग्रीको स्तरले निर्धारण गर्दछ । व्यक्तिको गोपनीयता र उसको चरित्रमाथि चलाइने बहसले दर्शकलाई डोर्याउने हुँदा अतिथिलाई गरिने प्रश्न पत्रकारिताको नैतिक धरातलभन्दा तल चिप्लिनु हुँदैन ।
अन्त्यमा, हाम्रा मिडियामा आन्तरिक मनिटरिङ र स्वनियन्त्रण गर्ने संयन्त्र पो कमजोर भएका हुन् कि ? यसप्रति पनि सम्बन्धित सबैको ध्यान जान आवश्यक छ । तपाईंले सोध्ने प्रश्न वा तपाईंको मिडियाले चलाउने कार्यक्रमले यस्ता घटनाको निरूपण पश्चात् सार्वजनिक भएर ऊ (वादी वा प्रतिवादी) सामाजिक क्रियाशीलतामा फर्किदा उसमा कुनै अठ्यारो त निम्त्याउँदैन नि ? भन्ने हेक्का हुनुपर्छ । पत्रकारिता स्तरीय हुनुपर्छ, यसलाई खस्किन नदिऔँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप