मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ मत्थर भएपछि विदेशिनेको संख्या ह्वात्तै बढ्यो

९ महिनामा ४ लाख बाहिरिए, दैनिक २०० जना दक्षिण कोरियातर्फ
बिहीबार, ०३ चैत २०७८, २२ : ३३
बिहीबार, ०३ चैत २०७८

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मत्थर भएसँगै विश्व श्रम बजार चलायमान भएको छ । सोही कारण पछिल्लो समय नेपालबाट समेत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या ह्वातै बढेको छ  । यस्तो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ७१ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैत २ गतेसम्ममा विभिन्न श्रम गन्तव्य मुलुकहरूमा काम गर्न जानका लागि कुल ४ लाख ६ हजार ९५६ जनाले श्रम स्वीकृति लिएका छन् । जबकी अघिल्लो वर्षको माघदेखि असार मसान्तसम्ममा जम्मा एक लाख १८ हजार ९३७ जनाले मात्र विभागबाट श्रम स्वीकृति लिएका थिए । तुलनात्मक रूपमा समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको संख्या ७०.७७ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७६/७७ को फागुन लगत्तै विश्वमा कोभिड–१९ को महामारी तीव्र रूपमा फैलिएको थियो । सो प्रभाव विश्वका प्रायः सबै श्रम गन्तव्य मुलुकहरूमा पर्दा श्रम बजार बन्द भई नेपालसमेत प्रभावित हुन पुगेको थियो । तर, पछिल्लो समय कोभिड–१९ को प्रभाव विश्वभर विस्तारै मत्थर भएसँगै श्रमका लागि विदेशिने नेपालीहरूको संख्या ह्वातै बढेको वैदेशिक रोजगार विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक कृष्णप्रसाद भुसालले रातोपाटीलाई जानकारी दिए ।

‘विभागबाट श्रम स्वीकृति लिने र श्रमकै लागि बाहिरिनेहरूको संख्या गत कात्तिकबाट मात्र बढेको हो । चालु आर्थिक वर्षको ९ महिनामा ४ लाखभन्दा धेरैले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । यस्तो संख्या विश्वमा कोभिड–१९ को प्रभाव कम भएसँगै अनिवार्य क्वारिन्टिनको प्रावधानसमेत पूर्णरूपमा हटिसकेपछि थप बढ्ने देखिन्छ,’ भुसालले भने ।

उसो त पछिल्ला दिनहरूमा वैदेशिक रोजगारीकै लागि भनेर दैनिक ४ हजार हाराहारीमा नेपाली श्रमिकहरू त्रिभुवन विमानस्थलबाट बाहिरिने गरेका छन् । यस्तो संख्या नेपालीसहित विदेशीसमेत गरी दैनिक ४२ सयको हाराहारीमा दैनिक रूपमा बाहिरिने गरेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘पछिल्लो समय नेपाल आउने र विदेशिनेको संख्या करिब उस्तै छ । आजभोलि दैनिक सरदर ४२ सय हारहारीमा नेपाली र विदेशी नागरिक यहाँ आइरहेका छन् भने सोही हाराहारीमा बाहिरिन थालेका छन,्’ भट्टराईले भने, ‘अझ यस्तो संख्या ४–५ महिनाअघि (दशैं/तिहारको समय)मा त दैनिक ५ हजारकै हाराहारीमा भएको थियो ।’

दैनिक २०० जना दक्षिण कोरियातर्फ

कोभिड–१९ को प्रभाव कम भएसँगै इम्प्लोएमेन्ट परमिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर बसेका युवाहरू पनि धमाधम कोरिया जान थालेका छन् । यस्तो संख्या अचेल दैनिकजसो २०० हारहारी रहेको वैदेशिक रोजगार विभागका ईपीएस शाखा प्रमुख पुष्प कटुवालले बताए ।

‘गत कात्तिकदेखि खुलेको दक्षिण कोरियामा अहिले धमाधम कामदार पठाउने प्रक्रिया चलिरहेको छ । कात्तिक यतामात्र एक हजार जना ईपीएस श्रमिकहरू कोरिया पठाइसकिएको छ,’ कटुवालले भने, ‘भाषा पास गरेर बसेका बाँकी श्रमिकहरूलाई समेत ६ महिनाभित्र पठाइसक्ने योजना छ ।’

ईपीएस भाषा पास गरेका करिब ७ हजार जना हाल कोरिया जाने प्रक्रियामा छन् । ती मध्ये १५० जना अघिल्लो हप्तामात्र कोरिया पठाइएको कटुवालले रातोपाटीलाई जानकारी दिए । यही आइतबार १७४ जना कोरिया पठाइएकोमा बुधबार पनि १५२ जना पठाइँदै गरिएको र आगामी अप्रिल २३ तारिखका दिन थप २०० जना पठाइने तालिका रहेको कटुवालले बताए ।

‘आजभोलि दैनिकजसो करिब २०० हाराहारीमा कामदारहरू कोरिया पठाइँदैछ । हप्तामा एउटा फ्लाइटले कामदार लैजाँदैछ । कोभिड–१९ को प्रभाव कम भएसँगै कोरिया सरकारले समेत थप कामदार माग गरेसँगै र अनिवार्य क्वारिन्टिनको व्यवस्था समेत हटाएसँगै थप कामदार पठाउने गृहकार्य हुँदैछ । यसका लागि अब हप्तामा दुई वटा फ्लाइट गर्ने कि भन्ने प्रस्ताव आएको छ । यसो भए छिट्टै बाँकी कामदारहरू पनि कोरिया जानेछन्,’ कटुवालले भने ।

गत सोमबार पनि एक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागको ईपीएस शाखाले दक्षिण कोरिया पठाउने गरी थप ९ हजार ६५४ जनाको आवेदन माग गरेको छ । विभागले सन् २०२२ र २०२३ का लागि दक्षिण कोरिया पठाउने कामदारहरूका लागि उक्त आवेदन माग गरेको हो ।

विभागका अनुसार आउँदो वर्षका लागि कोरियाले उत्पादनतर्फ ६ हजार ९१४ हजार र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ श्रमिक लैजान चाहेको हो । भाषा पास गरेर बसेका परिक्षार्थीले कुनै एक क्षेत्रमा आवेदन दिन सक्नेछन् ।

इजरायलतर्फ पनि श्रमिक पठाउँदै सरकार

यता जीटूजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबाट इजरायल कामदार पठाउने प्रक्रियासमेत सरकारले थालनी गरेको छ । हालै मात्र सरकारले २९७ जना नेपाली कामदार इजरायल पठाएको छ । गत साउनमा सूचना जारी गर्दै सरकारले तत्काल इजरायल पठाउने गरी एक हजार जनाका लागि आवेदन माग गरेको थियो ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रूपमा काम गर्न इच्छुक नेपाली कामदारहरूलाई पठाउन थालिएको हो । आवेदन दिएर छनोट भएका कामदारहरूलाई छिट्टै पठाउने योजना रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप