शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फर्केर हेर्दा २०७८ : आवेग केन्द्रित हत्याका शृङ्खला

यस वर्ष पनि सुल्झेन निर्मला हत्या प्रकरण
बिहीबार, ०१ वैशाख २०७९, ०६ : ४२
बिहीबार, ०१ वैशाख २०७९

वर्ष २०७८ बिदा भइसकेको छ । यो वर्ष नेपाली समाजमा आवेग केन्द्रित हत्याका शृङ्खला डरलाग्दो गरी देखा परे । ०७८ वैशाख ४ मा काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरे । मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजू रोशनीराज भण्डारीलाई फलामको गलले हिर्काएर हत्या गरेका हुन् । भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा गए, प्रहरीसमक्ष अपराध स्वीकारे ।

वर्ष २०७८ मंसिरमा ‘कमिशन विवाद’मा ललितपुर र मोरङमा योजनाबद्ध ढंगले ३ जनाको हत्या भयो । हत्या गरेर पुरेको शव प्रहरीले उत्खनन गरेको थियो । सो हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु भन्छन्– त्यो हत्याकाण्ड भारतीय चलचित्र ‘दृश्यम’ शैलीको थियो ।

माघ २० मा ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित दिप्ती गुरुङको घर छिँडीबाट प्रहरीले तेह्रथुम घर भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको शव निकाल्यो । घरको पछाडिको भागमा ५ फिट गहिरो खाल्डो खनेर लिम्बुको शव पुरिएको थियो ।

सिरहा घर भएका अनिलकुमार मण्डलले योजनाबद्ध रुपमा मंसिर २८ मा लिम्बुलाई हत्या गरेर पुरेको अनुसन्धानबाट थाहा भएको छ । त्यसअघि माघ १३ र १४ मा मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।

ललितपुरमा लिम्बुको हत्या गरेर शव व्यवस्थापन गरेपछि अनिलकुमार मण्डल मोरङको विराटनगर हिँडेका थिए । मण्डलसँगै जाने अरु दुईजना थिए– शम्भु चौधरी र राजेन्द्र कुमार श्रेष्ठ ।

चौधरी र श्रेष्ठको हत्या गरेर शव उखुबारीमा पुरिएको थियो । श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको अनुसन्धानबाट थाहा भएको छ ।

सङ्खुवासभा सामूहिक हत्या

२०७८ भदौ २१ मा संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भयो । उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा हत्यामा अरुको पनि संलग्नता खुल्यो । सो हत्यामा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । आवेगमा लोकबहादुर सहित ५ जना मिलेर एकै परिवारका ६ जनाको सामूहिक हत्या गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार हुन् ।

सैनिक हत्यामा सेनाकै ‘एसएमजी’

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा साउन ७ मा  नेपाली सेनाका हुद्दा भरत गुरुङको शव भेटियो । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत भरतलाई सोही पल्टनमा कार्यरत जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेका थिए ।

हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो । ३६ वर्षीय गुरुङ ६ दिनको बिदामा चितवन गएका थिए । सैनिक जवान  गंगाधर ढकालले हत्याअघि भरत गुरुङको खाताबाट ९ लाख रुपैयाँ निकालेका थिए । धादिङको निलकण्ठ नगरपालिका घर भएका गुरुङ हत्या प्रकरणमा नेपाली सेनाको अदालतमाथि प्रश्न उठ्यो । हत्यामा प्रयोग गरिएको एसएमजी चितवनस्थित कालीबहादुर गणबाट २०७५ पुस ३ मा चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङलाई सैनिक अदालतले २८ महिनादेखि थुनामा राखेको थियो ।

२०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायकरथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला गरेका थिए । तर, हतियार भेटिएपछि सो मुद्दा उल्टियो ।

दुई वर्षअघि एसएमजी फेला परेपछि सैनिक अदालतको आदेश र नेपाली सेनाले गरेको आन्तरिक अनुसन्धानमाथि प्रश्न उठ्यो । हत्या अरोपित सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । झ्यालको जाली उधारेर अंकुशेले तानेर हतियार चोरेको सैनिक अनुसन्धानबाट थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका ढकालले प्रहरीसँग ‘अंकुशेले तानेर एमएमजी चोरेको’ बयान दिएका छन् ।

हतियार चोरी भएको साँझ कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ दोहोरी साँझमा गएका थिए । गण नजिकै रहेको ‘फेमिली दोहोरी साँझ’मा गएको पुष्टि भएपछि सोही ‘क्लू’मा टेकेर समरी जनरल सैनिक अदालतले उनीहरुलाई जेल सजाय हुने फैसला गरेको थियो । भरत गुरुङ हत्याकाण्डसँगै गठन गरिएको सैनिक अदालतले हतियार चोरेको मुद्दामा गंगाधरलाई सजाय तोकेर अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङलाई सफाई दियो ।

सुजिता भण्डारी प्रकरण : हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या

२०७८ असार २० मा चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा सुजिता भण्डारी मृत फेला परिन् । राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता असार ११ मा घरबाट हिँडेकी थिइन् । १० दिनपछि उनी मृत फेला परेकी हुन् । हाडनाता सम्बन्धका कारण सुजिताले विष खाएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।

सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई प्रहरीले पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा अघि बढाएको थियो ।

नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन् । तर, उनीहरुको बिचमा प्रेम सम्बन्ध थियो । हाडनाता भित्रको सो अफेयर आत्महत्याको कारण बनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सुकदेव काठमाडौंमा बस्थे । २०७७ फागुनमा काठमाडौं आएकी सुजिता दिदीकोमा १० दिन बसेर चितवन फर्केकी थिइन् । त्यसपछि चैतमा फेरि उनी काठमाडौं आइन् । रेष्टुरेण्टमा काम गर्ने सुकदेव र सुजिता काठमाडौंमा फ्ल्याटमा सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सँगै बस्न थालेपछि सुजिताले विवाह गर्न दबाब दिइन् ।

‘बिहे गरौं नत्र मर्दिन्छु’ भनेर सुजिताले दबाब दिएपछि सुकदेवले उनलाई फकाएर चितवन पठाएका थिए । चितवन जानुअघि दाजु–बहिनीको बिच ‘अपहरण’ मा परेको कथा बनाएर सुटुक्क विवाह गर्ने योजना बनेको थियो । सो योजना अनुसार सुजिता चितवन गइन् । ०७८ असारमा सुजिता फेरि काठमाडौं आउन खोजेकी थिइन् । सकुदेवले मानन् ।

काठमाडौं आउने र विवाह गर्ने विषयमा झगडा गरेपछि सकुदेवले सुजितालाई ‘मरे पनि फरक पर्दैन’ भनेर म्यासेज पठाए । झगडापछि घरबाट हिँडेकी सुजिताले आत्महत्याको निर्णय गरिन् ।

नुभिव उप्रेती हत्या प्रकरण

कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै मृत फेला परेका थिए नुभिव उप्रेती । ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिवको हत्या आरोपमा पक्राउ परेका ३ जना किशोरलाई अदालतको आदेशले थुनामा पठाइएको छ । 

वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घटना अनुसन्धान गरेको थियो । नुभिवको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यामा संलग्न रहेको आरोपमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको हो । वालिग नभएका कारण आशिषलाई बाल सुधार गृहमा राखिएको छ । बिगेन र बासुदेव १९ वर्षका छन् ।

पोखराको घारीपाटन बस्दै आएका ३ जना मिलेर लेकसाइडको स्ट्रिट नम्बर–१३ मा मरणासन्न हुनेगरी नुभिवलाई कुटेका थिए ।

वैशाख ३ मा काठमाडौंबाट पोखरा गएका नुभिव राति होटल वेलकम इनमा बसेका थिए । यसअघि अपरिचित किशोरहरुसँग पोखराका एउटा रेष्टुेण्टमा भनाभन हुँदा कुटपिट गरेको आरोपितहरुले स्वीकार गरेका छन् । बुबा, आमालाई थाहा नदिइकन उनी पोखरा गएका थिए ।

(फोटो : गण्डक न्युज)

अझै सुल्झेन निर्मला प्रकरण

कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले यस वर्ष पनि पक्राउ गर्न सकेन । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलातकारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २०७८ मा भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेको थियो । तर, डिएनए नमिलेपछि उनलाई छाडिएको थियो ।

यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई पनि रिहा गरिएको थियो । प्रहरी प्रधान कार्यालय र विज्ञ नेतृत्वको छानविन समितिले संकलित भेजाइनल स्वाबाट डिएनए रिपोर्ट यकिन नआउने भन्दै यसअघि नै ‘ह्युमेन इन्टेलिजेन्स’ प्रयोग गरेर अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर, अनुसन्धान अधिकृतहरु सो विधि प्रयोग गर्दा ‘फसिन्छ’ भनेर डराउने गरेका छन् ।

यसैगरी, २०७८ जेठ २५ मा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा शवको खुट्टा भेटिएको थियो । सो शवको खुट्टा कसको हो भन्नेबारे पत्ता लागेको छैन । प्रहरीको अनुसन्धानबाट चार जना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ ।

घटनास्थल नजिकै रहेको सिसिटिभी फुजेटमा चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीको फुटवल मैदान हुँदै हिँडेको देखिएको छ । तर, शव फाल्नेहरुको पहिचान हुन सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । तर, अनुसन्धानमा असर पर्नसक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको छ ।

त्यस्तै, कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।  

लागु औषधको ‘चेन ब्रेक’

लागु औषध नियन्त्रण ब्युरोले वर्ष २०७८ मा विदेशबाट नेपालमा हुने लागु औषधको तस्करी र जेलमा बसेर गरेका कारोबारको ‘चेन ब्रेक’ गरेको छ ।

धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुबई गए । दुबईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल आउँदा पेटमा निलेर प्लाष्टिक कोट गरिएको ९३ क्याप्सुल खैरो हेरोइन ल्याएका थिए । सो हेरोइन ९ सय ग्राम थियो ।

खैरो हेरोइन तस्करीमा संलग्न दावा र उनलाई पाकिस्तान पठाउने समूहका चारजनालाई ब्युरोले नियन्त्रणमा लियो । उनीहरु थिए– धादिङको सत्यवेदी घर भएकी ५९ वर्षीया गोपी तामाङ, रुवीभ्याली गाउँपालिका–३ की ४५ वर्षीया होनीमाया तामाङ र लमजुङ घर भएका वयस बहादुर गुरुङ ।

गोपी तामाङ पाकिस्तानबाट लागु औषधको ¥याकेट संचालन गर्छिन् । उनले दुईवटा नागरिकता लिएकी छन् । ०६५ र ०६९ मा ब्युरोले चलाएको मुद्दाको फरार सूचीमा रहेकी उनलाई सो मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

सिन्धुली कारागारमा जेल भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताको लागु औषध कारोबारको जालो ब्युरोले ‘ब्रेक’ गरेको छ । २०७८ पुसमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध नियन्त्रण व्यूरोले ७ हजार एम्पुल लागु औषधसहित १७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङ घर भएका सुरज सिंह ठकुरी र काठमाडौंको बालाजु बस्ने दिपक महर्जनसहित थिए । आरोपितहरुलाई सिन्धुली कारागारमा जेल भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले लागु औषध पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपितहरु र गुड्डु गुप्ताको बिचमा सो कारागारमा जेल भुक्तान गरिरहेका सन्तोष स्याङतानले फोन सम्पर्क गराउँथे ।

सिन्धुली कारागारमा टेलिफोन नाइके रहेका स्याङ्तान र गुड्डुलाई अहिले जेल सरुवा गरेर रौतहट कारागारमा पठाइएको छ । गुड्डु गुप्ताले जेलबाटै लागु औषध कारोबारको चेन स्थापना गरेर मासिक १५ हजार तलव दिनेगरी संग्राम मुक्तान, पञ्च स्याङतान र सुरज सिंह ठकुरीलाई परिचालन गरेका थिए ।

लागु औषध बेचेको पैसा गुप्ताले भनेअनुसार आरोपितहरुले कारागार कार्यालय सहयोगी रीता सारुमगर लगायतका नाममा मनि ट्रान्सफरबाट पठाउने गरेका थिए ।

गुड्डु २०६८ मा ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । ०६९ कार्तिकमा काठमाडौं जिल्ला अदालतले उनलाई १८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

सन्तोष स्याङतानलाई २०७६ मा प्रहरीले सिन्धुलीबाट ५५ किलो गाँजासहित पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेपछि उनी रौतहट कारागारमा जेल भुक्तान गरिरहेका छन् ।

ब्राउन सुगर कारोबारीहरुसँगै पुस १४ मा प्रहरीले र्‍यापर लाउरेलाई पक्राउ गरेको थियो । पोखराबाट पक्राउ परेका लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । उनी अदालतको आदेशले धरौटीमा रिहा भएका छन् ।

फेरि नक्कली डाक्टर

२०७८ मा पनि सिआईबीले नक्कली डाक्टरलाई पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र पेस गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई पक्रेर प्रहरीले अनुसन्धान गरेको थियो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम सहित ७ जना छन् । सिआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ संचालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँमा एकैपटक अपरेशन गरेको थियो । नक्कली भनिएका चिकित्सकहरुले प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको भेटिएको छ । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्ममिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।

सहकारीको बचत ‘स्वाहा’

वर्ष २०७८ मा प्रहरीले काठमाडौं उपत्यकाका दुईवटा सहकारी ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याएको छ । सिभिल ग्रुप अन्तर्गतको सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभ मार्फत ठगेको आरोपमा पूर्व सांसद इच्छाराज तामाङ सहितको समूह थुनामा परेका छन् ।

इच्छाराज तामाङलाई असोज १८ मा सिआईबी (केन्द्रीय अनुसन्धान व्यूरो)ले सुन्धाराबाट पक्राउ गरेको थियो । सहकारीमार्फत ठगेको आरोपमा ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मंसिर १७ मा अभियोगपत्र दायर गरेको थियो ।

त्यस्तै, ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगीमा संलग्न दिवाकर श्रेष्ठ सहितलाई प्रहरीले मुद्दा चलाएको छ । श्रेष्ठलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए । दिवाकरले गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको अनुसन्धानबाट खुलेको थियो ।

सांसद र अभिनेतालाई बलात्कारको ‘बात’

मुगुका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाइन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफूलाई बलात्कार गरेको ती महिलाको आरोप थियो । बानियाँ जिल्ला अदालतको आदेशमा छुटिसकेका छन् ।

बलात्कार मुद्दामा चलचित्र अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । फागुन १५ उनी पक्राउ परेका थिए ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा र पूर्वी नवलपरासीमा जाहेरी दिएकी थिइन् ।

जसले ११ वर्षीया छोरीलाई विष पिलाए !

२०७८ फागुनमा काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा एक परिवारले सामूहिक रुपमा विष पिए । विष पिएका ४ जनाको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदैछ । ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भइसकेको छ ।

मनमोहन अस्पतालमा उपचार गराइरहेकामध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधानचाहिँ भिमकी आमा हुन् । ११ वर्षकी सुप्रिया प्रधान  भने भिम र मन्दिराकी छोरी हुन् । बालाजुस्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा ६ कक्षामा अध्ययनरत सुप्रिया पढाइमा अब्बल थिइन् । सबै विषयमा उनको ‘ए प्लस’ रिजल्ट आएको थियो । तर, जन्म दिएका बुवा–आमाले विष पिलाएपछि ती अबोध बालिका अहिले मनमोहन अस्पतालमा जीवनको लडाइँ लड्दै छिन् ।

ज्यान गुमाएका सुवर्णमानचाहिँ भिमका भतिजा हुन् । उनी भिमकै परिवारसँग बस्थे । भिम र मन्दिरा दम्पतीले आफूसँगै छोरी, भतिज र ६२ वर्षीया आमालाई विष पिलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप