शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुलाबजङ्ग शाहको गृहनगरमा एमालेभित्रै कचकच

मङ्गलबार, २० वैशाख २०७९, १५ : ५४
मङ्गलबार, २० वैशाख २०७९

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा स्थानीय तहको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयरमा साझा उम्मेदवारी दिए पनि काँग्रेसकै असन्तुष्ट पक्षले नेकपा एमालेलाई सघाउने भएको छ ।

यो पालिका नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह र एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृहनगर पनि हो । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट ५ हजार ७७ मत ल्याएर मेयर बनेका गोविन्द कुमार पुन फेरि उम्मेदवार बनेका छन् । उनलाई काँग्रेसको एउटा विद्रोही समूहले साथ दिएको छ । ०७४ मै पुनसँग ९३ मतले पराजित भएका माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन् । उनी माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष समेत हुन् ।

२०७४ को निर्वाचनमा बुढाथोकीले ४ हजार ९८४ मत ल्याएका थिए । जबकि पुनले त्यो बेला काँग्रेस–एमालेबीचको तालमेलका कारण उनीभन्दा ९३ मत बढी ल्याएर जितेका थिए ।

आसन्न निर्वाचनमा २०४७ सालको तुलनामा समीकरण फेरिएको छ । उतिबेला काँग्रेस र एमाले मिलेको अवस्थामा मेयरमा एमालेले बाजी मारेको थियो । तर अहिले एमाले विभाजन भइसकेको छ भने एमालेका उम्मेदवारलाई काँग्रेसको विद्रोही एउटा समूहले मात्र साथ दिएको अवस्था छ ।

अर्कोतिर एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीसहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार खडा गरेका छन् ।

एमालेका उम्मेदवार पुनलाई पार्टीभित्रैबाट कारबाहीको चेतावनी

एमालेबाट मेयरका उम्मेदवार बनेका गोविन्द कुमार पुनलाई पार्टीभित्रबाटै कारबाही गर्न माग गरिएको छ । उपमेयरका उम्मेदवारी दर्ता गराएकी एमाले जिल्ला कमिटी सदस्य चम्फा पुरी (ओली)को उम्मेदवारी खोसेको आरोप पुनमाथि छ । उम्मेदवारी फिर्ता गर्ने दिन (वैशाख १६ गते) एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहको निर्देशनमा एमाले सल्यानका अध्यक्षसमेत रहेका पुनले आफ्नो उम्मेदवारी खोसेको चम्फाको आरोप छ ।

यतिमात्र होइन, उनले १७ गते विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक, स्वेच्छाचारी र अराजनीतिक तरिकाले आफ्नो उम्मेदवारी खोसिएको भन्दै पुनमाथि कारबाहीको माग गरेकी छन् ।

चम्फाले मात्र होइन, सोमबार एमालेका विभिन्न जनवर्गीय संगठनहरुले समेत पुनमाथि कारबाहीको माग गरेका छन् । यस्तै जिल्ला कमिटी सदस्य तथा एमाले वडा नं –१० का अध्यक्षका उम्मेदवार मोतिलाल घर्ती, देवेन्द्र पुरी, नारद घर्ती, नगर सचिव राजेश ओली, तेजेन्द्र बुढा, पुष्पा कुमारी खड्का, वडा कमिटी अध्यक्ष, सचिव लगायतको सिंगो टीम अहिले पुनका विरुद्धमा एकबद्ध छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पुनलाई तत्काल कारबाही गरी सल्यान जिल्ला कमिटीको अध्यक्षबाट हटाउन अनुरोध गर्दछौं । यद्यपि यस कदमको सम्बोधन नभएमा कठोर निर्णय लिन बाध्य हुनेछौं ।’

के भन्छन् पुन ?

रातोपाटीसँग कुरा गर्दै पुनले आफू कुनै हालतमा पनि चुनाव जितेरै छाड्ने दाबी गरे । उनले भने, ‘प्रदेशबाट प्रमुखमा म र उपप्रमुखमा चम्फाजी लड्ने भनेर नाम आयो । हाम्रो सहमति अरु राजनीतिक दल एक्लाएक्लै लडे भने एमाले पनि एक्लै लड्ने भन्ने हो, जसअनुसार मेयरमा म र उपमेयरमा चम्फाजी । यदि गठबन्धन बन्यो भने चम्फाजीले छाड्ने र जोसँग समीकरण गर्छौं, त्यसैलाई उपमेयर दिने भन्ने थियो ।’

सोही आधारमा आफूहरुले काँग्रेसभित्रकै एउटा विद्रोही टीमसँग तालमेल गरेर उपमेयरमा काँग्रेसकै सोही समूहका दीपेन्द्र विष्टलाई उम्मेदवार बनाएको उनले बताए । उनले सत्तारुढ गठबन्धनमा त्रिपक्षीय तालमेल भएकाले एमालेले पनि तालमेल गरेर जानुपर्ने बाध्यता भएको बताए । उनले भने, ‘समाजवादी र माओवादीको मात्रै गठबन्धन भएको भए हामीलाई कुनै असर पर्दैनथ्यो ।’

अंकगणितमा एमाले कमजोर

०७४ को मत परिणामलाई हेर्ने हो भने यो पालिकामा एमाले कमजोर छ । पुनले काँग्रेस–एमालेको गरी पाँच हजार ७७ मत ल्याएका थिए भने माओवादीका बुढाथोकीले एक्लै चार हजार ९८४ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा माओवादीकी मन्जु यरीले चार हजार ८६२ मत ल्याएकी थिइन् भने एमाले–काँग्रेसका साझा उम्मेदवार दीपेन्द्र विष्टले चार हजार ४५५ मत ल्याएका थिए । १२ वटा वडामा ७ वटा माओवादीले एक्लै जितेको थियो भने काँग्रेसले एउटा र एमालेले चार वटा जितेको थियो ।

अहिले परिस्थिति बदलिएको छ । सल्यानमा पावरफुल नेताको छवि बनाएका ज्वाला र काँग्रेसकै एक समूह गठबन्धनसँग छ । एमाले अंकगणितका आधारमा कमजोर देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप