मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

नौलो होइन ‘मङ्कीपक्स भाइरस’

मङ्गलबार, १० जेठ २०७९, १४ : ३८
मङ्गलबार, १० जेठ २०७९

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरुमा यो रोगको लक्षण देखिएकाले यस रोगलाई मङ्कीपक्स भनियो । 

विगतमा देखिएको भाइरसको हो यो, कुनै नौलो भाइरस होइन । मङ्कीपक्स भाइरससँग कोभिड–१९ झैं  डराउनु पर्ने अवस्था छैन । मङ्कीपक्स भाइरसको बारेमा अध्ययन अनुसन्धान विभिन्न चरणमा भइसकेको र हुने क्रम जारी छ । 

पछिल्लो पटक मे ७ मा नाइजेरियाबाट फर्किएका बेलायती नागरिकमा मङ्कीपक्स भाइरस देखिएको बेलायतले जानकारी दिएको थियो । तत्पश्चात मङ्कीपक्स भाइरस देखिने क्रम जारी रह्यो । युरोपियन देश अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका अन्य देशहरुमा देखिने क्रम जारी छ । जसरी हामीले कोभिडको लहर भन्थ्यौं । मैले मङ्कीपक्सको लहर भन्ने गरेको छु । यद्यपि यो भाइरस नेपालसम्म आइ पुग्छ वा पुग्दैन । यसले अझै के के गर्छ, धेरै कुराहरु अज्ञात नै छ । 

सन् २०१९ मा पछिल्लो पटक सिङ्गापुरमा मङ्कीपक्स भाइरस देखिएको थियो । त्यहाँ त्यसबेला एकदमै सावधानी अपनाइएको थियो । यस्तै, सिङ्गापुरसँग जोडिएका छिमेकी देशहरुले पनि निकै सावधानी अपनाएर मानिसहरुको आवजजावतमा कडाइ र निगरानी गरिएको थियो । अहिले पुनः मङ्कीपक्स भाइरस देखिदै गर्दा मानिसहरुमा यो भाइरस कस्तो हो, यो कतै डरलाग्दो नौलो भाइरस त होइन ? भन्ने शंका उपशंका हुनु स्वभाविक हो । यद्यपि यो डराउनुपर्ने भाइरस होइन ।

संक्रमण भएको झण्डै ५ देखि १९ दिनसम्म यो रोगको लक्षण दुई चरणमा देखिन सुरु गर्छ । नेपालमा देखिने जति पनि संक्रामक रोगहरु जस्तै रुघाखोकी, ज्वरो लगायतका समस्याहरु देखिने गर्छन्, ती लक्षणसँग मिल्दोजुल्दो पहिलो चरणमा लक्षण देखिने भएकाले स्वंयम संक्रमितले पनि शंका गर्ने कुरै भएन । त्यसैले, सँगसँगै हामी जस्ता स्वास्थ्यकर्मी पनि रोग खुट्याउनबाट चुक्ने सम्भावना बढी देख्छु । 

यस्तै, दोस्रो चरणमा ज्वरो आएको एकदेखि तीन दिनको बीचमा खास गरी जिव्रो, अनुहार हातखुट्टा लगायतमा विमिरा देखिन सुरु हुन्छ । ती विमिरा पानीफोकामा परिणत भएर फुट्ने, सुक्ने र झर्ने क्रम जारी हुन्छ । 

यो रोगको निदान गर्न त्यति सहज छैन । मङ्कीपक्स भई दोस्रो चरणको जुन लक्षण देखिन्छ, त्यो लक्षण चिकेनपक्स अर्थात् ठेउला हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो छ । त्यसैले, सम्बन्धित विज्ञहरुले मङ्कीपक्स फैलियो नभनेसम्म सम्भवतः यस्तो खालको अवस्थामा सबैजना चुक्न सक्ने अवस्था रहन सक्छ । उदाहरणको लागि यूरोपेली देशहरुमा बेलायतले जानकारी नदिएसम्म मङ्कीपक्स नै हो भनेर शंका गरिएको थिएन । त्यसपछि पुष्टि हुँदै जाँदा सङ्ख्या बढेको देखिन्छ । 

के यो डरलाग्दो रोग हो ?

मङ्कीपक्स भाइरसको संक्रमण कति डरलाग्दो छ त भनेर सर्वत्र चर्चा भइरहेको छ । मृत्युदरको हिसावले हेर्दा यो रोगबाट १ देखि १० प्रतिशत मृत्युदर भन्ने गरिएको छ । यो तथ्याङ्क अफ्रिकामा संक्रमण पुष्टि भएको आधारमा भनिएको हो । अफ्रिकाभन्दा बाहिर मङ्कीपक्स संक्रमणका कारण हालसम्म कसैको मृत्यु भएको छैन । त्यसकारण यो डरलाग्दो रोग हो भन्ने अवस्था अहिलेसम्म भन्न सकिदैन । तर, यो फैलिरहेको जुन तरिका छ, त्यो भने आश्चर्यचकित बनाउने खालको छ । अफ्रिका बाहिर यसअघि पनि मङ्कीपक्स देखिएको हो तर मङ्कीपक्स संक्रमण आयातित रोगको रुपमा देखिएको थियो ।

अहिले संक्रमितसँग सम्पर्कमा नरहेको र अरु देशमा पनि नगएका व्यक्तिमा कसरी सरिरहेको छ भन्ने कुराको जिज्ञासा बढेको छ । किनभने त्यो थाहा नपाएसम्म त्यसलाई रोक्न सकिदैंन । यसलाई रोक्ने उपाय खोज्न गाह्रो छ । त्यसैले यो रोग कसरी सरिरहेको छ भन्ने जानकारी नपाउँदासम्म थप भन्न सक्ने अवस्था छैन । 

सामान्यतया मङ्कीपक्स रोग जनावरबाट मानिसमा सर्ने भएकाले ‘जोनोसिस डिजिज’ पनि भन्ने गरिन्छ । अहिलेसम्म थाहा पाएअनुसार स–साना स्तनधारी जनावर खास गरी अफ्रिकन मुसा लगायतका विभिन्न जनावर र बाँदरबाट सरेको भन्ने कुरा पनि छ । 

तर, हामीलाई मङ्कीपक्स भाइरस प्राकृतिक रुपमा कहाँ रहन्छ, कसरी जनावरसम्म आइपुग्छ, त्यसपछि मानिसको सम्पर्कमा आएर कसरी फैलियो भन्ने कुरा अझै पनि ठोस तरिकाले प्रमाण पाउन सकिरहेको अवस्था छैन । मानिसबाट मानिसमा संक्रमितको मुखबाट थुकको छिटा निस्किदा, नजिकै रहेको अर्को व्यक्तिको नाक, मुख, आँखा, छालाहरु खुल्ला भएमा त्यहाँबाट सर्न सक्छ । 

शरीरमा विमिरा हुने भएकाले ती व्यक्तिले प्रयोग गर्ने लुगा, बेडबाट सर्न सक्ने पनि भनिएको छ । यसरी मानिसबाट मानिसमा सर्न सक्छ । तर, अहिलेको लहरमा देखिएको मङ्कीपक्स अलि फरक छ । विभिन्न अध्ययनहरुमा पुरुषले पुरुषसँग सम्पर्क गर्दा मङ्कीपक्स भाइरस सर्ने भनिएको छ । अर्थात् ‘गे’हरुमा देखिएको भनिएको छ । यदि अध्ययनहरुले यो कुरालाई स्थापित गरेमा यो हो सर्ने तरिका भनेर बुझ्नुपर्ने हुन्छ । अहिलेसम्म जतिलाई मङ्कीपक्स भाइरस संक्रमित भएको छ, उनीहरुमा संक्रमण भएको स्रोत अज्ञात छ ।  

मङ्कीपक्सको खोप

खास गरी यसलाई  स्मलपक्स अर्थात् विफरको दाजुभाइ भन्ने गरिन्छ । यो विफर परिवारको भाइरस हो । स्मलपक्सको खोप मङ्कीपक्सका लागि ८५ प्रतिशत प्रभावकारी भएको भनिएको छ । सन् १९८० मा विश्व स्वास्थ्य संगठनले विफरको उन्मुलनको घोषणा गरिसकेको छ । विफरलाई प्रयोग गरिने खोप मङ्कीपक्स संक्रमितलाई पनि प्रयोग गर्न मिल्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

जोगिने उपाय 

–मुखको छिटा सर्ने भएकाले मङ्कीपक्स संक्रमणबाट जेगिन मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । 

–सावुन पानीले हात धुनुका साथै व्यक्तिगत्त सरसफाइमा ध्यान दिनुपर्छ ।

–शङ्कास्पद संक्रमित व्यक्तिहरुले प्रयोग गरेको लुगा, बेडहरु प्रयोग गर्नु हुँदैन ।

नेपालमा मङ्कीपक्स संक्रमण जोखिम कति ?

हाल नेपालमा मङ्कीपक्स देखिएको छैन । यद्यपि नेपालको हवाइमार्गसँगै स्थलमार्गहरु धेरै देशहरुसँग जोडिएको छ । नेपालमा मङ्कीपक्सको संक्रमण हुने सम्भावनालाई शुन्यचाहिँ मान्न सकिदैन । किनभने चीनमा कोरोना भाइरस देखिदा युरोप अर्थात् अमेरिका, भारत हुँदै नेपालमा संक्रमण आएकै हो । 

नेपालमा मङ्कीपक्स आउने सम्भावना कम भएपनि संक्रमण पुष्टि भइ फैलिएमा रोक्न सकिन्छ । अहिलेको लागि जोखिम नभएपनि भावी दिनमा आउन सक्ने जोखिमबारे सबैले ख्याल गर्नुपर्छ ।

जो व्यक्ति मङ्कीपक्स संक्रमण पुष्टि भएको देशबाट आएको छ । उसमा २१ दिन भित्रमा लक्षणहरु देखिन्छ, देखिदैन भनेर निगरानी गर्नुपर्छ । त्यस अवधिमा शरीरमा विमिरा, पानीफोकाहरु जस्तो देखिए, ज्वरो आए, ज्यान दुखेमा अहिलेको अवस्थामा मङ्कीपक्स संक्रमणको सम्भावना रहन्छ । यस्तो लक्षण देखिएका व्यक्तिहरु स्वास्थ्य संस्थामा सम्पर्क गरेर परीक्षण, उपचार परामर्शका लागि जानुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विषेशज्ञ डा पुनसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप