शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहको थुनछेक मुद्दा न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको इजलासमा

धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्नेबारे आजै आदेश आउनसक्ने
बिहीबार, १२ जेठ २०७९, ११ : २४
बिहीबार, १२ जेठ २०७९

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो । 

एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए । 
उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त मुद्दा दैनिक पेसी सूचीमा राखेको हो । 

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । उक्त मुद्दामा शाहका म्यानेजर कृष्ण प्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ । 

बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । 
आज उच्च अदालत पोखराले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा थुनछेक प्रयोजनको आदेश दिनेछ । 

सुरुमा आफू शाहबाट बलात्कृत भएको भन्दै एक नाबालिगले जाहेरी दिएपछि सरकारवादी बनेर तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । तर अदालतमा बकपत्र गर्ने क्रममा भने पीडित भनिएकी बालिकाले आफूलाई अरु कसैले उचालेर मुद्दा दर्ता गराएको र शाहले आफूलाई केही नगरेको बताएकी थिइन् । पीडित बालिका होस्टाइल भएपनि अदालतमा बकपत्र गर्ने क्रममा शाहले अदालतमा पेस गरिएको अडियो टेप आफ्नो भएको भन्दै आफैँविरुद्ध प्रमाण पुग्ने गरी तनहुँ जिल्ला अदालतमा बयान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप