शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली र ढाकर

शनिबार, ०४ असार २०७९, १३ : ४४
शनिबार, ०४ असार २०७९

मध्य वैशाख
रापिलो घाम
मरिचझैं चाउरिएको अनुहार
कलेटी परेका ओठ
सेताम्मे भई पाकेका दाह्री
फाटेको स्टकोट 
पसिनाले दङदङ्गी गनाएको दौरा
दश ठाउँमा टालेको सुरुवाल
पैताला टेकिने भैसकेको 
हात्ती छाप चप्पल
प्वाल परेको पुरानो ढाकाटोपी
त्यही प्वालवाट 
चियाइ रहेको लट्टे टुपी
बडेमानको ढाकर
ढाकर लच्किने गरी भरिएको भारी
ढाड कुप्रो परिसकेको टेकुवा
त्यही टेकुवाको आड लगायो
खुइलिएको तालुबाट
नाम्लोको पातो निकाल्दै
लामो सास फेर्यो
अनि
पापी पेटलाई दुई हातले थिचेर
चौतारामा पल्टियो
कथित उपल्लो जातको
कर्णालीको 
सामन्ती बाहुन ।

उसलाई आफ्नो वंशले
ढाकर भन्दा गह्रुङ्गो अंश छोडेको छ
त्यसैले त ऊ
न अधिकार खोज्न सक्छ 
न अधिकार खोस्न सक्छ
निरीह पशुझैं
गोठालाले जता धपाउँछन् 
त्यतै धपिनु दैनिकी बनेको छ 
आफ्नै वंशका सीमित गोठालाहरु
हातमा लौरो बोकेर बसेका छन्
जब उसले टाउको उठाउन खोज्छ
आफूलाई देखाउँछन् र लौरो बर्साउँछन्
चन्दननाथमा घण्टी बजाउने भन्दा 
ठूलो सपना देखेको छैन
दुई छाक सातुका लागि
टट्टीदेखि मट्टीसम्म लतारिन तयार 
उ फेरि
पटुकाको फेरले
तालुको पसिना पुच्छ 
नाम्लाको पातो 
आफ्नो शिरमा सजाउँछ
टेकुवाको आडमा
ढाकर आफूतिर तान्दै
उकाली लाग्छ
त्यही 
कथित उपल्लो जातको
कर्णालीको 
सामन्ती बाहुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप