शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकनाथ शिन्दे : अटोरिक्सा चालकदेखि महाराष्ट्रको मुख्यमन्त्रीसम्म

बिहीबार, १६ असार २०७९, २० : १०
बिहीबार, १६ असार २०७९

शिवसेनाबाट विद्रोह गरेका एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतले विश्वासको मत लिनुपर्ने फैसला गरेपछि मुख्यमन्त्री उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

ठाकरेको राजिनामापछि सबैको नजर शिन्देको आगामी कदममा नजर थियो । राजनीतिक विश्लेषकहरुले सिन्देको समर्थनमा महाराष्ट्रका पूर्व मुख्यमन्त्री र भाजपा नेता देवेन्द्र फडणवीस पुनः मुख्यमन्त्री बन्ने चर्चा आंकलन गरेका थिए । तर अनुमानविपरित फडणवीसले आफैले महाराष्ट्रको आगामी मुख्यमन्त्रीका रुपमा एकनाथ शिन्देको नाम घोषणा गरे । 

सिन्दे र फडणवीसले महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीसँग भेटेपछि यस्तो घोषणा आएको हो । भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी गरेको छ । 
महाराष्ट्रको राजनीतिक संकट
शिव सेनाका वरिष्ठ नेता र विधायक एकनाथ शिन्देले विद्रोह गरेपछि महाराष्ट्रमा पछिल्लो राजनीतिक संकट सुरु भएको थियो । शिव सेनाका वरिष्ठ नेता एकनाथ शिन्देले धेरै विधायकहरू लिएर रातारात गुजरातको सुरत पुगेपछि महाराष्ट्रको राजनीतिमा भूकम्प आयो । शिन्देले केही निर्दलीयसहित ५० विधायकको समर्थन रहेको दाबी गरिरहेका थिए । सिन्देसहितको विधायकको समूह सुरतबाट गुवाहाटी पुगेपछि शिवसेनाका थप विधायकहरू उनको शिविरमा सामेल भए ।

यसैबीच राज्यका गर्भनर भगत सिंह कोश्यारीले उद्धव ठाकरेलाई जुन ३० मा विश्वासको मत लिन आग्रह गरे । निर्णयविरुद्ध शिव सेनाले सर्वोच्च अदालतमा गयो । तर सर्वोच्च अदालतले पनि उद्धव ठाकरेलाई कुनै राहत दिएन । अदालतले पनि विश्वासको मत लिनुपर्ने बताएपछि बुधबार राति ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिए । पार्टी विद्रोहको नेतृत्व महाराष्ट्रमा भर्खरै भएको विधान परिषद्को चुनावपछि शिवसेना र सत्तारुढ गठबन्धन ‘महाविकास अघाडी’बीच विवाद सुरु भएको थियो । विवादको वास्तविक कारण बाहिर आउनुअघि नै  शिवसेना विधायकहरूले विद्रोह गरे । हिन्दूत्ववादी दल शिव सेनाको एक तप्कामा पहिलेदेखि धर्मनिरपेक्षतावादी कंग्रेससँग गठबन्धन बनाएकोमा असन्तुष्टि थियो । सोही असन्तुष्टिलाई सिन्देले निकास दिएका हुन् । 

धेरै दशकदेखि पार्टीको महत्वपूर्ण नेता रहेका एकनाथ शिन्दे ठाणेको कोपरी–पाँचपाखाडी सिटका विधायक निर्वाचित भएका हुन् । उनका छोरा श्रीकान्त शिन्दे कल्याण क्षेत्रबाट दोस्रो पटक लोकसभा सांसद निर्वाचित भएका छन् । एकनाथ शिन्दे धेरै वर्षदेखि शिवसेनाका सदस्य छन् । लामो समयको राजनीतिपछि थाने नगर निगमबाट उनी सन् २००४ मा पहिलो पटक विधायक बनेका थिए । हाल भारतको सबैभन्दा ठूलो अर्थतन्त्र भएको राज्यको मुख्यमन्त्री बनेका सिन्देले करियर अटोरिक्सा चालकबाट सुरु गरेका थिए । 

ठाणे वैभव अखबारका सम्पादक मिलिन्द बल्लालको नजरमा, एकनाथ शिन्देको राजनीतिक यात्रा ‘आक्रामक शिवसैनिकदेखिबाट सुरु भएर शाखा प्रमुख र त्यसपछि जिम्मेवार मन्त्रीमा पुगेको’ देखिन्छ ।
‘एकनाथ शिन्देको गृहनगर सातारा हो । उनी पढाइका लागि थाने आएका थिए, जहाँ उनी आनन्द दिघेको सम्पर्कमा आए । त्यहीँबाट उनको राजनीतिक करियर सुरु भयो,’ एकनाथ शिन्देबारे मिलिन्द बल्लालले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप