सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपा पुनर्गठनको लफडा छाडेर नयाँ पार्टी गठन गर्दै बाबुराम

आइतबार, ०१ साउन २०७९, १४ : ०५
आइतबार, ०१ साउन २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको पुनर्गठनका लागि आह्वान गरेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्तत: आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेका छन् । 

जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए । जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ । 

बाबुराम पक्षका एक नेताले भने, ‘शनिबारको बैठकले नयाँ पार्टी नै बनाएर अगाडि बढ्ने निर्णय भइसकेको छ । कस्तो पार्टी बनाउने त्यसको बारेमा कुरा टुंग्याउन बाँकी छ । बाबुरामजी आज गोरखा जानु भएको कारणले बैठक बसेन, भोलि बस्ने बैठकले सायद सबै कुराको टुङ्गो लगाउने छ ।’ 

पार्टीको नामदेखि विधानबारेमा भोलि बस्ने बैठकले तय गर्ने उनको भनाई थियो । ‘हाम्रै पक्षमा रहनुभएका एकजना नेताले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर राख्नुभएको छ । आवश्यकता परेमा त्यसलाई पनि प्रयोग गर्न सकिन्छ,’ ती नेताले भने । निर्वाचनको मुखमा नयाँ पार्टी दर्ता गराउन आयोगले नमाने यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै प्रयोगमा ल्याउने बाबुरामको तयारी छ । 

नयाँ पार्टीका लागि विभिन्न नामहरू प्रस्ताव भएका छन् । त्यसमाथि पनि छलफल भइरहेको छ । संघ र प्रदेशको चुनावमा भाग लिने गरी पार्टी दर्ता गराउने सोच डा. भट्टराईको छ । ‘जसपा नेपाललाई नै पुनर्गठन गर्नेतिर लाग्यो भने त्यहाँ कानुनी झन्झट हुन्छ । अनेक लफडा आइलाग्छ । त्यतिबेलासम्म आफूसँग चुनाव लड्ने पार्टी नहुनसक्छ,’ ती नेताले भने । त्यसैलाई मध्यनजर गर्दै बाबुराम पक्षले जसपालाई पुनर्गठन गर्ने झन्झट छाडेर नयाँ पार्टी गठनकै गृहकार्यमा जुटेको छ । 

अहिले पार्टीमा एकजना संयोजक र आयोगको आवश्यकता अनुसार अन्य पदाधिकारीहरू राखेर पार्टी दर्ता गराउने बाबुराम भट्टराई पक्षको सोच रहेको छ । पार्टी गठन भइसकेपछि थप छलफल गरेर पार्टीको संरचना निर्माण गर्ने बाबुराम पक्षको तयारी छ । 

पार्टीमा महिन्द्रराय यादवलाई उचित स्थान दिइनेछ । पार्टीको संरचनाबारे दुईजनाको बीचमा छलफल भएपछि मात्र संरचना तयार हुने एक नेताले रातोपाटीलाई बताए । पार्टीको संयोजक बाबुराम भट्टराई नै रहने निश्चित छ । महेन्द्र राय यादवलाई वरिष्ठ नेता, संघीय परिषद्का अध्यक्ष वा उनकै सल्लाहमा कुनै पद दिन सकिने गृहकार्य भइरहेको बताइएको छ । 

जसपा बाबुराम पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘अहिले कुनै कुराको टुङ्गो लागेको छैन । नेताहरूको बीचमा आन्तरिक छलफल चलिरहेको छ केही दिनमा सबै कुराको टुङ्गो लागि हाल्छ ।’ भट्टराईले जसपा पुनर्गठनका लागि आह्वान गरेका कारण पहिलो प्रयास त्यसकै लागि हुने उनको भनाई छ । ‘त्यो नभएपछि मात्र अर्को विकल्पमा जाने सोच्न सकिन्छ,’ उनले भने । 

बाबुराम पक्षका नेताहरूले अझै पनि आफूहरूसँग ४० प्रतिशत बहुमत रहेको दाबी गर्दै आएका छन् । पार्टी विभाजन वा अर्को नयाँ पार्टी गठन गर्नेबेलासम्म यो सङ्ख्या सार्वजनिक गर्ने गरी नै आउने सो पक्षका नेताहरूले दाबी गरेका छन् । 

वीरगञ्ज बैठकपछि थप केही नेताहरू बाबुराम भट्टराईको सम्पर्कमा आएका छन् । ८–१० सांसदहरू पनि सम्पर्कमा छन् तर कारबाहीको डरले खुलेका छैनन् । चुनावको मिति घोषणापछि अन्य नेता तथा सांसद खुलेर आउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप