एमालेको भविष्यको दिशा
सारांश
- नेकपा (एमाले) को सङ्गठन विभाग र पार्टी जीवन पार्टीका दुई प्रमुख आधार स्तम्भ हुन् जसले पार्टीलाई संरचनात्मक शक्ति, वैचारिक दिशा र जनसम्बन्धको निरन्तरता प्रदान गर्दछन् ।
- पार्टी जीवनलाई औपचारिकताबाट बाहिर निकालेर वास्तविक वैचारिक बहस, नियमित आत्मालोचना र जनसम्बन्ध केन्द्रित अभ्यासमा रूपान्तरण गर्नुपर्ने, युवा नेतृत्व विकासलाई संस्थागत गर्दै उनीहरूलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता दिनुपर्ने, गुटगत प्रवृत्ति नियन्त्रण गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता छ ।
- एमालेको शक्ति कुनै एक व्यक्ति वा समूहमा नभई सङ्गठनात्मक संरचना, विचार र कार्यकर्ताको एकतामा निहित छ, जसले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा संस्थागत हितलाई प्राथमिकता दिनुपर्छ ।
नेपालको राजनीतिक दल प्रणालीमा नेकपा (एमाले) ऐतिहासिक, जनआधारित र सङ्गठनात्मक रूपमा सुदृढ दलका रूपमा स्थापित छ । यसको दीर्घ राजनीतिक यात्रामा सङ्गठन विभाग र पार्टी जीवन दुई प्रमुख आधार स्तम्भका हुन् । यसैले पार्टीलाई संरचनात्मक शक्ति मात्र होइन, वैचारिक दिशा र जनसम्बन्धको निरन्तरता पनि प्रदान गर्दै आएको छ । सङ्गठन विभागले पार्टीलाई व्यवस्थित संरचना, कार्यकर्ता व्यवस्थापन र सङ्गठन विस्तारमार्फत मजबुत बनाउँछ भने पार्टी जीवनले त्यस संरचनालाई विचार, अनुशासन र जनसम्बन्धको अभ्यासमार्फत गतिशील बनाउने गर्छ ।
सङ्गठन विभाग नेकपा एमाले को मेरुदण्ड हो । यसले सदस्यता व्यवस्थापन, कार्यकर्ता वर्गीकरण, प्रशिक्षण, नेतृत्व विकास र सङ्गठन विस्तारको काम गर्छ । हालका निर्वाचन अनुभवहरूले देखाएका छन् कि बलियो सङ्गठनात्मक सञ्जाल भएका क्षेत्रमा एमाले अझै पनि प्रतिस्पर्धात्मक शक्ति हो । विशेषतः ०७९ सालको स्थानीय तह तथा संघीय निर्वाचनमा पार्टीले धेरै स्थानमा बलियो प्रतिस्पर्धा गर्नु यसको सङ्गठनात्मक क्षमताको प्रमाण हो ।
तर, केही स्थानमा देखिएको उम्मेदवार चयन विवाद, आन्तरिक प्रतिस्पर्धा र गुटगत प्रभावले सङ्गठनात्मक एकरूपता कमजोर भएको तथ्य पनि उत्तिकै वास्तविक छ । यसले सङ्गठन विभाग अझ प्रभावकारी, पारदर्शी र संस्थागत बन्नुपर्ने आवश्यकता देखाउँछ ।
पार्टी जीवन भने विचार, अनुशासन र जनसम्पर्कको निरन्तर अभ्यास हो । एमालेभित्र पार्टी जीवन वैचारिक प्रशिक्षण, नियमित बैठक, आत्मालोचना अभ्यास र जनसंगठन सक्रियतामार्फत सञ्चालन हुन्छ । तर वर्तमान समयमा पार्टी जीवन धेरै तहमा औपचारिकतामा सीमित हुँदै गएको आलोचना पनि बढ्दै गएको छ । कतिपय स्थानीय कमिटीहरूमा नियमित बैठक, सामूहिक निर्णय प्रक्रिया र आत्मालोचना संस्कृतिको कमीले सङ्गठनात्मक गतिशीलता कमजोर बनाएको छ । त्यसमाथि डिजिटल युगको तीव्र प्रभावले परम्परागत पार्टी जीवन शैलीलाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि बढाएको छ ।
समकालीन राजनीतिक परिस्थितिले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र गुटगत प्रतिस्पर्धा, कतिपय अवस्थामा पार्टी कब्जा गर्ने वा आफ्नै नेतृत्व स्थापित गर्ने प्रवृत्तिले सङ्गठनात्मक एकताको आधार कमजोर पार्न सक्ने जोखिम देखिन्छ । यदि यस्तो प्रवृत्ति नियन्त्रणमा आउन सकेन भने, संगठनको आन्तरिक स्थायित्व मात्र होइन, दीर्घकालीन रूपमा पार्टीको अस्तित्वमै प्रश्न उठ्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले पार्टीभित्रको शक्ति संघर्षलाई व्यक्तिगत लाभभन्दा माथि उठाएर संस्थागत हितमा केन्द्रित गर्नु आजको अनिवार्य आवश्यकता हो ।
यस सन्दर्भमा हालैका राजनीतिक घटनाक्रमहरूले पनि स्पष्ट सन्देश दिएका छन् कि बलियो सङ्गठन मात्र पर्याप्त हुँदैन, त्यसलाई सञ्चालन गर्ने संस्कार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । स्थानीय तहदेखि केन्द्रसम्म देखिएका केही विवादहरूले सङ्गठनात्मक शक्ति हुँदा हुँदै पनि आन्तरिक व्यवस्थापन कमजोर भएमा त्यसले चुनावी परिणाम र सार्वजनिक छविमा असर पार्न सक्छ । यसले सङ्गठन विभागलाई केवल प्रशासनिक निकाय होइन, वैचारिक र अनुसन्धानात्मक नेतृत्व केन्द्रका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औँल्याउँछ ।
युवा पुस्ताको सहभागिता पनि आजको अर्को महत्त्वपूर्ण मुद्दा हो । युवा संघ, अनेरास्ववियु जस्ता संगठनहरू सक्रिय भए पनि पार्टिका निर्णायक तहमा युवा नेतृत्वको प्रभाव अपेक्षाकृत कम देखिन्छ । यसले दीर्घकालीन नेतृत्व विकासमा चुनौती सिर्जना गरिरहेको छ । यदि युवा पुस्तालाई निर्णय प्रक्रियामा समुचित जिम्मेवारी र स्थान दिइएन भने सङ्गठन भविष्य उन्मुख बन्न कठिन हुन्छ ।
यी सबै परिस्थितिलाई दृष्टिगत गर्दा नेकपा (एमाले) का लागि केही स्पष्ट सुधार आवश्यक देखिन्छ । पहिलो, सङ्गठन विभागलाई पूर्ण रूपमा पारदर्शी प्रणालीमा रूपान्तरण गर्नुपर्छ, जसले सदस्यता, कार्यकर्ता मूल्याङ्कन र प्रशिक्षण प्रणालीलाई व्यवस्थित बनाओस् । दोस्रो, पार्टी जीवनलाई औपचारिकताबाट बाहिर निकालेर वास्तविक वैचारिक बहस, नियमित आत्मालोचना र जनसम्बन्ध केन्द्रित अभ्यासमा रूपान्तरण गर्न आवश्यक छ । तेस्रो, युवा नेतृत्व विकासलाई संस्थागत गर्दै उनीहरूलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता दिनुपर्छ । चौथो, गुटगत प्रवृत्ति नियन्त्रण गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ, ताकि सङ्गठन एकताबद्ध र स्थिर रहोस् ।
अन्त्यमा, नेकपा एमालेको शक्ति कुनै एक व्यक्ति वा समूहमा होइन, यसको सङ्गठनात्मक संरचना, विचार र कार्यकर्ताको एकतामा निहित छ । आजको संवेदनशील राजनीतिक अवस्थाले स्पष्ट सन्देश दिएको छ कि व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा संस्थागत हित ठुलो हो । यदि हाबी हुने भन्दा पनि हामी बन्ने सोच विकास गर्न सकियो भने मात्र सङ्गठन सुदृढ, अनुशासित र दीर्घकालीन रूपमा प्रभावकारी रहन सक्छ । अन्यथा, आन्तरिक कमजोरीले बलियो देखिने संरचना पनि संकटमा पर्न सक्ने यथार्थलाई अस्वीकार गर्न सकिँदैन । त्यसैले आजको मूल आवश्यकता शक्ति केन्द्रित सोच होइन, साझा सङ्गठनात्मक चेतना हो, जसले पार्टीलाई भविष्यतर्फ मजबुत रूपमा अघि बढाओस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण