सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमै रहन बाबुरामलाई प्रचण्डको आग्रह

माओवादीसँगै सहकार्य गर्न बाबुराममाथि दबाब
मङ्गलबार, ०३ साउन २०७९, १६ : ०२
मङ्गलबार, ०३ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् । मंगलबार भएको दुई नेताबीचको छलफलपछि  सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए । 

प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो । दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले गठबन्धनको बारेमा जिज्ञासा राख्दा प्रचण्डले वर्तमान गठबन्धनमा रहन भट्टराई सुझाव दिएको स्रोतले जनाएको छ ।  

जसपामा रहेपनि वा नयाँ पार्टी गठन गरेपनि वर्तमान गठबन्धनमा रहनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार  प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा पनि जानकारी गराएका थिए । यस्तै दुई नेताबीचको भेटमा चुनावी गठबन्धन तथा समाजवादी केन्द्र गठन गर्ने विषयमा समेत छलफल भएको छ । समाजवादी केन्द्र गठन गर्ने प्रकृया चाँडै आगाडि बढाउने कुराकानी भएको हो । त्यसका लागि थप छलफलहरु गर्दै जाने दुईजनाको बीचमा सहमति भएको बताइएको छ ।​

माओवादीसँगै सहकार्य गर्न बाबुराममाथि दबाब 

यता भट्टराईमाथि नेकपा माओवादी केन्द्रसँगै सहकार्य गरेर जान उनीनिकट दबाब बढाउन थालेका छन् ।  नयाँ वैकल्पिक पार्टी बनाएर जान सक्ने अवस्था नभएकाले माओवादीसँगै मिलेर जाने उत्तम विकल्प भएको बाबुराम निकट नेताहरूले सुझाव दिन थालेका छन् । ‘अब फेरी अर्को नयाँ पार्टी बनाएर स्थापित गर्न सक्ने अवस्था छैन । त्यो विगतले देखाई सकेको छ ।’ अरू पार्टीसँग एकता गरेर के भयो त्यो पनि देखियो’ बाबुराम निकट एक नेताले भने, ‘अब विभाजित भएर होइन माओवादीसँगै सहकार्य वा एकता गरेर जानुपर्छ । त्यसका लागि केही प्राविधिक पक्षलाई मिलाउनुपर्छ ।’ 

तर, बाबुराम भने समाजवादी केन्द्र नै बनाएर जानुपर्ने मत राखिरहेका छन् । माओवादी पार्टी वा अर्को कुनै कम्युनिस्ट पार्टी भन्दा समाजवादी केन्द्र बनाएमा सबैलाई समेट्न सकिने बाबुरामको बुझाई छ । यदि उनलाई यस्तै अवस्थामा माओवादीमा फर्किन गाह्रो हुने भएकाले पनि समाजवादी केन्द्र बनाउने बहसलाई छोडेका छैनन् । तर, माओवादी अध्यक्ष प्रचण्ड भने माओवादी केन्द्रसँगै सहकार्य गर्दै एकतामा आउनुपर्ने पक्षमा छन् । त्यसका लागि प्रचण्डले आजको भेटमा समेत आगामी चुनावमा तालमेल गर्दै एउटै चुनाव चिन्ह लिएर जानुपर्ने धारणा राखेका छन् ।  प्रचण्ड निकट र बाबुराम निकट नेताहरूले दुवै नेता मिल्नुपर्छ भन्दै दबाब बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप