शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउत बने ओशो सन्यासी : नयाँ नाम ‘आनन्द मैत्रय’

बिहीबार, १२ साउन २०७९, १४ : ०६
बिहीबार, १२ साउन २०७९

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् । 
तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् । 
ओशो तपोवन व्यवस्थापनकी एक सदस्य सोभिता सिंखडाले रातोपाटीसँग भनिन्–‘उहाँले यहाँ ९ दिनको ध्यान पूरा गर्नुभएको हो । मिस्ट्रिक रोज भन्ने हाम्रो एउटा थेरापी हुन्छ । त्यसका लागि पूर्णरुपमा यहाँ १० दिन बस्नुभयो । साउन ११ गते बुधबार साँझ उहाँले सन्यास लिनुभएको हो ।’

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टि’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।  

तपोवनकी सदस्य सिंखडाले भनिन्– ‘सन्यास लिँदा नयाँ जन्म भएको मान्यताको आधारमा नयाँ नाम दिने प्रक्रिया हुन्छ । नयाँ सन्यासलाई हामी नयाँ जन्म भन्छौँ । सन्यासपछि पुरानो नाम छोडेर नयाँ नाम दिइन्छ । आनन्द मैत्रयको रुपमा उहाँको नयाँ जन्म भएको छ ।’ राउतले पहिलेदेखि नै ओशोको पुस्तक पढ्ने र ध्यान गर्ने गरेको उनले बताइन् । उनले राउत पहिलेदेखि नै आध्यात्मिक रहेको बताइन् । 

उनले भनिन्– ‘उहाँलाई नजिकबाट हेर्ने हो भने पहिलेदेखि नै आध्यात्मिक व्यक्ति नै हुनुहुन्छ । पहिले पनि हरिद्वार लगायत नेपाल भारतका विभिन्न गुरुहरुको आश्रममा जानुभएको रहेछ । ओशोको १ सयभन्दा बढी पुस्तक पढिसक्नु भएको रहेछ । आश्रममा पनि बेला बेला आइरहनुहुन्थ्यो त्यही सिलसिलामा अहिले फेरि शिविर बस्न आउनुभएको हो ।’

राउत ओशो सन्यासी बनेपछि राजनीति र पार्टीमा केही असर पर्छ ?

शब्दकोषमा हेर्ने हो भने सन्यास शब्दको अर्थ–‘सम्पूर्ण त्याग, परिपूर्ण समर्पण’ भन्ने हुन्छ । सन्यासीको अर्थ ‘सबै कुराको परित्याग गर्नु, बैराग्य, त्यागी, बैरागी, योगी’ भन्ने अर्थ लाग्छ ।  शब्दकोषमा भएको यो शब्दको माने अनुसार ओशो सन्यासीहरुले घरबार, आफन्त, गरिरहेको पेशा छोड्ने भने गर्दैनन् । ओशो सन्यासी भएपछि उनीहरुले आफूभित्रको इगो छोड्ने तर गरिरहेको अरु काम छाड्न नपर्ने सिंखडाले बताइन् । 

उनले भनिन्–‘सन्यास धारण गर्दैमा उहाँले राजनीति छाड्ने भन्ने कुरा हुँदैन । हाम्रो सन्यासको मतलब के हुन्छ भने आफू भित्र बाटै जाग्ने, बुद्धत्वको खोज गर्ने, अध्यात्मको खोज गर्ने र बाहिरबाट जे काममा लागिरहेको छ, त्यसलाई अझ परिष्कृत अझ राम्रोसँग लिएर जाने हो । आफ्नो इगो छोड्ने सन्यास हो । संसारमा आफूले गरिरहेको काम छोड्ने सन्यास हैन ।’

ओशो सन्यासी भएपछि राउतले गुरुले दिएको माला र सन्यासी पोषाकमा देखिने उनले बताइन् । 

पार्टीको सिद्धान्त नै आध्यात्मिक, पार्टीमा अरु पनि ओशो सन्यासी
अध्यक्ष राउत आध्यात्मिक कर्ममा लागेको यो पहिलो उदाहरण भने हैन । राजनीतिमा आउनुभन्दा अघि पनि उनी अध्यात्ममा लागेका थिए ।  जनमत पार्टीका नेता वीपी साह भन्छन्– ‘राजनीतिमा आउनुभन्दा पहिलेदेखि नै उहाँ अध्यात्ममा लाग्नुभएको थियो । उहाँको बैरागदेखि बचावसम्म भन्ने आत्मकथा प्रकाशित पनि भएको छ । इन्जिनियरिङमा स्नातक सकेपछि उहाँ बैरागमा जाने भनेर भारतको बैंङलोरको तीर्थयात्रा पनि गर्नुभएको थियो । उहाँको तीर्थयात्राको तस्विर त्यो किताबको कभरमै छ ।’

उनले पहिलेदेखि नै ओशोका किताब पढ्ने गरेको अहिले पनि उनको झोलामा  ओशोको किताव नछुट्ने साहले बताए । पार्टीको सिद्धान्त र कार्यनीति हेर्ने हो भनेपनि आध्यात्मिक नै रहेको उनले बताए ।  साहले भने– ‘हाम्रो पार्टीको कार्यनीतिमा अष्टदल बुद्धको साम्यक सिद्धान्तको अध्यात्म जोडिएको छ । अष्ट दलको नीतिअनुसार पार्टीले अध्यात्मलाई अझ बढी प्राथमिकता दिने नीति छ । हाम्रो पार्टीको सिद्धान्त वौद्धमार्गको सिद्धान्तको वरिपरि नै छ ।

पार्टीको झण्डा हेर्नुहुन्छ भने पनि अष्टकमलको चित्र छ । हाम्रो पहिलेको स्वतन्त्र मधेश गठबन्धनको झण्डा हेर्नुभयो भने ८ वटा धर्सा भएको बुद्धको जुन धम्म हुन्छ, त्यसलाई समावेश गरिएको थियो । जसलाई ओशोका चक्र पनि भनिन्छ । अहिले हाम्रो पार्टीको झण्डामा पनि अष्टकमल छ, बुद्धको मुख्य सिद्धान्त हाम्रो पार्टीको राजनीतिक सिद्धान्त पनि हो ।’

उनले अध्यक्ष राउत ओशो सन्यासी बन्नु पार्टी र कार्यकर्ताका लागि नयाँ कुरा नभएको बताए । पार्टीभित्र अरु नेता कार्यकर्ता पनि ओशो सन्यासी रहेको नेता साहले बताए । उनले आफू पनि पहिले–पहिले ओशो तपोवन जाने गरेको उल्लेख गर्दै सन्यासी भने भइनसकेको बताए । उनले पार्टी अध्यक्ष ओशो सन्यासी बन्दैमा पार्टीको गतिविधिमा कुनै असर नपर्ने बताए । 

उनले भने– ‘यो भनेको स्थानीय चुनावपछिको कार्यव्यस्थताको बीचबाट निकालिइएको समय र प्रतिनिधिसभा चुनाव तयारी भन्दा अगाडिको १० दिनको विश्रामको समय मात्र हो । उहाँले भोलिदेखि नै पार्टी कार्यालयमा आएर राजनीतिक काम गर्नु थाल्नुहुन्छ । यसबाट उहाँलाई काम गर्न थप जोश जाँगर थप्छ होला ।’

के रोकिएला अब विगतको जस्तो हिंसात्मक आन्दोलन ?

सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले विगतमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविधि समेत गरेको थियो ।  मधेश प्रदेशका ६ जिल्लामा जनमत पार्टीले अनिश्चितकालीन आम हड्ताल गर्ने क्रममा २०७८ साल पुसमा सो दलका कार्यकर्ताहरूले धनुषा र सिरहामा दुईवटा ट्रकमा आगो लगाएर ध्वस्त बनाएका थिए । 

यस्तै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई कालोमोसो दल्नुका साथै हिलो छ्यापेर जनकपुर शहर परिक्रमा गराएका थिए । विगतमा उनीहरुले कटबाँस लिएर सडक प्रदर्शन समेत गर्ने गरेका थिए । अब पार्टी अध्यक्ष सिके राउत ओशो सन्यासी ‘आनन्द मैत्रय’ नै बनेपछि सो दलले आगामी दिनमा पनि यस्तै गतिविधि गर्छ वा शान्तिपूर्ण राजनीति गर्छ त्यो भने हेर्न बाँकी नै छ । 

राउत ओशो तपोवनमा १० दिनको ध्यान पूरा गरेर सन्यास बनेपछि जनकपुर फर्किदैछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप