शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अपहरण प्रकरण : मध्यरातमा ५० लाख बुझ्न बिजी मलमा पुगेपछि हतकडी

दुई प्रहरीसहित ६ जना पक्राउ
बिहीबार, १९ साउन २०७९, २३ : ०७
बिहीबार, १९ साउन २०७९

चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई बुधवार साँझ अपहरणमा परे । याङ चिनको सांघाई प्रान्तका हुन् । पेस्तोल र हतकडीसहित लैनचौरस्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरुलाई अपहरण गरेका हुन् । 

मध्यराति ११ बजेर ४० मिनेटमा उनीहरुलाई अपहरण मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । चिनियाँ नागरिकको दरबारमार्ग स्थित उत्तर ढोकामा कल सेन्टर थियो । पछिल्लो समय प्रहरीले कल सेन्टरमा छापा मार्न थालेपछि उनी कल सेन्टर छाडेर फ्ल्याटमा बस्न थालेका थिए । चिनियाँ नागरिक भाग्न लागेको र उनीसँग प्रशस्त पैसा भएको सूचनाका आधारमा प्रहरी हवल्दार ३६ वर्षका कर्ण बहादुर गुरुङसहित ६ जनाले सो योजना बनाएका हुन् । 

हवल्दार गुरुङ उच्च अदालत पाटनमा कार्यरत एकजना न्यायाधीशका नीजि सुरक्षा अधिकृत (पिएसओ) हुन् । अपहरणमा प्रहरी वृत बालाजुमा कार्यरत २८ वर्षका शिव सुनुवार पनि संलग्न छन् । ‘चिनियाँ भाग्न लागेको र पेस्तोल देखाएर तनाव दिएपछि पैसा आउँछ भनेर आरोपीहरुले योजना बनाएको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘पक्राउ परेका ६ जना पूर्व परिचित हुन् ।’ 

अपहरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट घर भएका प्रहरी हवल्दार कर्ण बहादुर गुरुङ, बर्दिया घर भएका प्रहरी जवान २८ वर्षका शिव सुनार, गोरखा घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही घर भएका २९ वर्षीय रोहित मगर र प्यूठान घर भएका २८ वर्षका विशाल मगर छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भएका २७ वर्षका विनोद केसीसहित ६ जनालाई पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए । 

दोभाषेलाई कब्जामा लिएर अपहरण 
ओखलढुंगा घर भई वनस्थली बस्दै आएका २६ वर्षीय सूर्य बहादुर राईलाई अपहणकारीले काम छ भनेर बोलाए । कपुरधाराबाट उनलाई जबर्जस्ती ट्याक्सीमा चढाएर चिनियाँको डेरा देखाउन लगाए । न्यायाधीशका पिएसओ गुरुङसँग पेस्तोल थियो । प्रहरी जवान सुनारसँग हतकडी थियो । उनीहरुले सो हतकडी र पेस्तोल अपहरणमा प्रयोग गरेका छन् । 

राईले चिनियाँको डेरा देखाए । त्यसपछि चिनियाँलाई कञ्चटमा पेस्तोल ताकेर उनीहरुले ट्याक्सीमा राखेर गोंगबुमा लगेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले काठमाडौं महानगर–२६ स्थित मित्रनगरको स्वर्गद्वारी प्यूठान होटल एण्ड लजको तेस्रो तलामा लगेर बन्धक बनाए । 

५० लाख लिन बिजी मलमा पुग्दा...
गेष्ट हाउसमा बन्धक बनाएपछि उनीहरुले दोभाषेमार्फत याङको साथीलाई  फोन गरेर १ करोड फिरौती लिएर आउन भने । त्यसपछि याङको साथी प्रहरीकहाँ पुगे । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरुले अनुसन्धान शुरु गरे । आरोपीहरुले फोन गरेको लोकेशन मित्रनगरमा देखियो । 

अपहरणकारी र अपहरित चिनियाँको साथीको बिचमा ५० लाख दिएर ‘अपहरण मुक्त’ गर्ने सहमती भएपछि प्रहरीसँगै चिनियाँ नागरिक नगद बोकेर गोंगबु पुगेका थिए । ‘अपहरणकारीहरुले बिजी मल अगाडि पैसा लिएर आउन भने’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘दुईजना पैसा लिन बिजी मल अगाडि आए, उनीहरुलाई नियन्त्रणमा लिएर दुईजनालाई अपहरण मुक्त गर्न सफल भयौं ।’ 

बिजी मल अगाडि पैसा लिन राती साढे ११ बजेतिर बिनोद केसी र लक्ष्मण गुरुङ आएका थिए । उनीहरुको हातमा हतकडी लगाएर स्वर्गद्वारी प्यूठान होटल एण्ड लजको तेस्रो तलामा प्रहरी टोली पुगेको थियो । आरोपीहरुको साथबाट प्रहरीले एउटा चोरीको मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट  ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप