चुनावी चर्चा

सुर्खेतको कुन निर्वाचन क्षेत्रबाट को–को छन् आकांक्षी ?

काँग्रेसको गुटबन्दीप्रति माओवादी र एकीकृत समाजवादी सशंकित

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै चुनावी माहोल तातेको छ । दलहरु चुनाव सम्बन्धी जोडघटाउमा व्यस्त देखिन्छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतलाई विभिन्न राजनीतिक दलले निकै महत्त्व दिएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेकपा एमालेका नेताहरु चुनावको तयारीस्वरुप विभिन्न कार्यक्रम लिएर गाउँबस्तीमा प्रवेश गरिसकेका छन् भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने गठबन्धनमा सिट बाँडफाँट नहुँदा अन्योलमा छन् ।


केन्द्रमा गठबन्धन बनाएर जाने सहमति भए पनि सुर्खेतमा नेपाली काँग्रेसमा अन्तरविरोध कायम रहेकाले तालमेल मिलाउन चुनौतीपूर्ण रहेको नेताहरु बताउँछन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसभित्रको गुटबन्दीका कारण अपेक्षित परिणाम निस्कन सकेको थिएन ।



०७४ मा प्रदेशसभा र प्रतिनिधिसभामा एमाले–माओवादीबीच गठबन्धन हुँदा प्रतिनिधिसभातर्फ सुर्खेतका दुवै सिट एमालेले जितेको थियो । एमालेका ध्रुव शाही र नवराज रावत प्रतिनिधिसभामा निर्वाचित भएका थिए । निकटतम प्रतिस्पर्धीका रुपमा काँग्रेसका पूर्णबहादुर खड्का र हृदयराम थानी पराजित भएका थिए ।



अहिले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन एकातिर छ भने एमाले अर्कोतिर छ । माओवादीले आफ्नो राजनीतिक अवस्थालाई सुदृढ बनाएकाले एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सिटमा दाबी गर्नसक्ने देखिन्छ । त्यसो भएको खण्डमा नेपाली काँग्रेसले एउटा प्रतिनिधिसभा  र दुई वटा प्रदेशसभा सिटमा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ । तथापि एकीकृत समाजवादीले पनि प्रदेशसभाका दाबी गर्न सक्ने स्थिति आएमा तालमेल मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

एकीकृत समाजवादीका नेताहरु सुर्खेतमा प्रदेशसभा अन्तर्गत एउटा क्षेत्रमा समाजवादीको दाबी रहने बताउँछन् ।

काँग्रेसभित्रको गुटबन्दी मुख्य चुनौती

काँग्रेसभित्रको द्वन्द्व गठबन्धनका सामु मुख्य चुनौती बनेको देखिन्छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेलका बाबजुद काँग्रेसले आन्तरिक गुटबन्दीका कारण सोचेजस्तो नतिजा ल्याउन सकेन । पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सुर्खेतमा काँग्रेस र एमालेले ४÷४ पालिकाको नेतृत्व पाए भने माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पाएको छ ।

२०७४ सालमा काँग्रेसले सुर्खेतका ६ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । आफ्नो पकड क्षेत्र मानिएका भेरिगंगा नगरपालिका, प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका समेत अहिले काँग्रेसले गुमाएको छ ।

सुर्खेतमा वीरेन्द्र्रनगर नगरपालिकाका वडा नं.–१५ र १६, लेकबेसी नगरपालिका, भेरिगंगा, गुर्भाकोट नगरपालिका र चिङ्गाड र सिम्ता गाउँपालिका क्षेत्र नं.–१ अन्तर्गत पर्छन् भने निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत वीरेन्द्रनगरपालिका (दुई वटा वडा बाहेक), बराहताल र चौकुने गाउँपालिका पर्दछन् ।

०७४ को अंकगणित यस्तो छ

०७४ मा वाम गठबन्धन हुँदा काँग्रेस नराम्रोसँग पराजित भएको थियो । एमाले–माओवादी गठबन्धनले प्रतिनिधिसभातर्फ दुवै सिट एमालेले जितेको थियो । प्रदेशसभा अन्तर्गत चार वटा क्षेत्रमा दुईवटा माओवादी र दुईवटा एमालेले जितेको थियो । 

प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं.–१ मा एमालेका ध्रुवकुमार शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका पूर्णबहादुर खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

निर्वाचन क्षेत्र नं.–२ मा एमालेका नवराज रावत ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका हृदयराम थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं–१ (क) बाट माओवादी केन्द्रका ठम्मर विष्ट १५ हजार ३५२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका टेकबहादुर सिंह ठकुरीले १५ हजार १३२ मत प्राप्त गरे । विष्ट अहिले माओवादीबाट असन्तुष्ट हुँदै एमालेमा प्रवेश गरेका छन् ।

यस्तै, १ (ख) मा एमालेका खड्गबहादुर खत्रीले २१ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका झकबहादुर डाँगीले १७ हजार ७२८७ मत प्राप्त गरेका थिए ।

यस्तै निर्वाचन क्षेत्र नं.–२ (क) मा एमालेबाट प्रभावशाली नेता यामलाल कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए । २ (ख) अन्तर्गत माओवादीबाट विन्दमान विष्ट १५ हजार ६४८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका तप्तबहादुर विष्टले १२ हजार ४७७ मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा को–को छन् आकांक्षी

सुर्खेत निर्वाचन क्षेत्र नं.–१

यो क्षेत्रबाट काँग्रेस उपसभापति पूर्णबहादुर खड्का चुनाव लड्ने लगभग निश्चित छ । यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट अन्य दलले अहिलेसम्म दाबी गरेका छैनन् । यदि गठबन्धन नबनेको खण्डमा भने माओवादीले कृष्ण जिसी, सीता नेपालीमध्येबाट कसैलाई अघि सार्ने देखिन्छ भने समाजवादीले यज्ञ रेग्मीलाई अगाडी सार्न सक्छ ।

एमालेबाट भने अहिलेसम्म दुई जनाको नाम चर्चामा छ । प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही र खड्ग खत्री । खत्री ०७४ मा प्रदेशसभा सदस्य बनेकाले उनी प्रदेशतिर बस्न चाहेको खण्डमा शाहीनै प्रतिनिधिसभाको उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ । यसर्थ यो क्षेत्रमा गठबन्धनबाट खड्का र एमालेबाट शाहीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सुर्खेत निर्वाचन क्षेत्र नं.–२

यो क्षेत्रमा गठबन्धनभित्र तालमेल मिलाउन निकै सकस पर्ने देखिन्छ । यहाँ माओवादीले पनि आफ्नो स्पेश खोज्ने भएकाले निर्णायक भूमिकामा रहेको काँग्रेसलाई तालमेल मिलाउन सकस पर्ने देखिन्छ । किनकि यो क्षेत्र काँग्रेसका संस्थापन इतर पक्षका नेता हृदयराम थानीको क्षेत्र हो ।

काँग्रेसभित्रको अन्तविरोधले उम्मेदवार छनोटमा कत्तिको असर पार्छ त्यो भने हेर्न बाँकी छ । यदि काँग्रेसभित्रको अन्तरविरोध हल भएछ र गठबन्धन भएर जाने भयो भने थानी नै सम्भावित उम्मेदवार हुन् । तर यहाँ प्रतिनिधिसभामा माओवादीले दाबी गर्ने देखिन्छ ।

माओवादीबाट झकबहादुर मल्ल (सुदीप) सम्भावित उम्मेदवार हुन् । यदि गठबन्धन भएन भने हरिमाया शर्मा, पञ्चा सिंह लगायतका नेताहरुलाई माओवादीले अघि सार्न सक्ने देखिन्छ । यस्तै विन्दमान विष्ट पनि सम्भावित उम्मेदवार हुन् । काँग्रेसको पनि जनाधार राम्रै भएकाले यो क्षेत्रमा भागबण्डा मिलाउन निकै चुनौतीपूर्ण छ । 

यता एमालेभित्र पनि रस्साकस्सी नै हुने देखिन्छ । एमालेमा प्रदेश इञ्चार्ज यामलाल कँडेलले संघ र प्रदेश कता रोज्छन् भन्ने टुङ्गो लागिसकेको छैन । कँडेल तत्काल निर्णय लिने पक्षमा छैनन् । ०७४ मा कँडेलले प्रदेश रोज्दा प्रतिनिधिसभामा नवराज रावत विजयी भएका थिए । रावत अहिले अमेरिकामा छन् । यदि कँडेलले प्रतिनिधिसभा रोजेको खण्डमा रावत प्रदेशमा लड्न सक्ने देखिन्छ । तर रावतको विकल्पमा कुलमणि देवकोटा लगायत अन्य केही नेता पनि हाबी हुनसक्ने देखिन्छ ।

प्रदेशसभातर्फ

निर्वाचन क्षेत्र नं.– १

गठबन्धन अन्तर्गत प्रतिनिधिसभातर्फ यो क्षेत्र काँग्रेसलाई छाडेपछि माओवादीले प्रदेशसभाका लागि दाबी गर्ने देखिन्छ । क्षेत्र नम्बर १ (क) भन्दा पनि (ख) मा माओवादीले दाबी गर्ने सम्भावना बढी छ । त्यसैले १ (क) तर्फ काँग्रेसका जिल्ला सभापति खड्ग पोखरेलको नाम चर्चामा छ । उनको विकल्पको रुपमा टेकबहादुर सिंहको नाम पनि चर्चामा छ ।

गठबन्धन नभएको खण्डमा माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउन सक्छन् । एमालेबाट भने (क) मा ठम्मर विष्ट उम्मेदवार बन्ने प्रबल सम्भावना देखिन्छ । ०७४ मा माओवादीबाट निर्वाचित भएका उनी अहिले एमाले प्रवेश गरेका छन् । ०७४ मा उनले काँग्रेसका टेकबहादुर सिंहलाई पराजित गरेका थिए  । ठम्मर विष्टको विकल्पमा कविन्द्र कुमार केसी बलियो उम्मेदवार हुन् भने डण्डी शर्माको नाम पनि सतहमै छ । ०७४ मा सिम्ता गाउँपालिकाको अध्यक्ष बनेर पाँच वर्षे कार्यकाल पूरा गरेका केसीको सम्भावना पनि उत्तिकै रहनसक्ने नेताहरुको भनाइ छ । यद्यपि माओवादी छाडेर आएको हुनाले विष्टले टिकट पाउने सम्भावना धेरै रहेको एमालेका नेताहरुको आकलन छ ।

१ को (ख)मा भने गठबन्धन भएको खण्डमा माओवादीले दाबी गर्ने देखिन्छ । माओवादीबाट यो ठाउँबाट कृष्ण जिसी, जीतबहादुर राना र सीता नेपालीको नाम चर्चामा छ । नेपाली  यसअघि समानुपातिक कोटामा प्रदेशसभा सदस्य हुँदै मन्त्री पद सम्हालिसकेकी छन् । यदि राजनीति परिदृश्य बदलिएको खण्डमा काँग्रेसबाट झकबहादुर डाँगी पनि बलियो दाबेदार छन् भने समाजवादीबाट यज्ञ रेग्मी पनि सम्भावित उम्मेदवार हुन् ।

एमालेबाट (ख) मा खड्ग खत्री नै बलियो दाबेदार हुन् । उनको नाम प्रतिनिधिसभातर्फ पनि चर्चामै छ । त्यसको अलावा गगनसिंह सुनार पनि सम्भावित उम्मेदवारमा पर्छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं.–२

यस क्षेत्रको (क)मा काँग्रेसबाट देवकुमार सुवेदी बलियो उम्मेदवार हुन् । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख बनेर पाँच वर्षे कार्यकाल चलाएका उनको चर्चा केही दिन अघिदेखि नै चलिरहेको छ । उनी लगायत कालिप्रसाद शाक्य,  श्याम भारती, नारायण कोइराला, कमलराज रेग्मीको नाम पनि चर्चामा छ । यद्यपि गठबन्धन भएको खण्डमा यहाँ बदलाब पनि आउन सक्छ । यस्तै एकीकृत समाजवादीले शिव उपाध्यायलाई उम्मेदवार बनाउन सक्ने देखिन्छ भने माओवादीले पनि आफ्नो उम्मेदवार छनोट गर्नेछ ।

निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट भने माओवादीबाट बलियो उम्मेदवार विन्दमान विष्ट नै हुन् । गठबन्धन भएको खण्डमा पनि उनले  नै दाबी गर्ने देखिन्छ । तथापि एकीकृत समाजवादीले पनि यो क्षेत्रमा दाबी गर्ने देखिन्छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका मोहन बडुवाल सम्भावित उम्मेदवार हुन्  । काँग्रेसबाट टोपबहादुर रावत, उपेन्द्र थापा लगायतका नेताहरु सम्भावित उम्मेदवारमा पर्छन् ।

एमालेबाट भने (क)मा अमृत विसी, कुलमणी देवकोटाकै नाम चर्चा छ । यदि यामलाल कँडेल प्रदेशमा आउन चाहेको खण्डमा कँडेलको विकल्प रहँदैन । (ख) मा नवराजको विकल्पमा धीरबहादुर शाही, ताराकेशर गौतम, इन्द्र केसी लगायत नेताहरु सम्भावित उम्मेदवार हुन् ।

काँग्रेसको आन्तरिक एकतामा जोड

सुर्खेतमा गठबन्धन हुनुभन्दा पहिला काँग्रेसको आन्तरिक एकता हुनुपर्ने गठबन्धनभित्रका अन्य दलका नेताहरुको भनाइ छ । काँग्रेसभित्रको अन्तरविरोध कायमै रह्यो भने गठबन्धन हुनेमा नेताहरुको आशंका छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवाल काँग्रेसमा आन्तरिक एकता नभएको खण्डमा गठबन्धन सार्थक नहुने तर्क गर्छन् । माओवादीका जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले पनि काँग्रेसभित्रको अन्तरविरोधको समस्या हल नभएसम्म गठबन्धन गरेर जाने कुरामा सोच्न नसकिने तर्क गरे ।

‘स्थानीय चुनावको परिणमले नै देखिन्छ कि गठबन्धनभन्दा पहिला काँग्रेसको एकता आवश्यक छ,’ उनले भने । काँग्रेसका जिल्ला सभापति खड्ग पोखरेल भने केन्द्रले नै भागबण्डा मिलाउने भएकाले यस विषयमा आफूहरुले अहिले नै बोल्न नमिल्ने तर्क गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।