शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टानमा त्रिपक्षीय भिडन्त : एमाले, काँग्रेस र समाजवादी एकातिर, माओवादी अर्कोतर्फ

शुक्रबार, २७ साउन २०७९, १८ : ३३
शुक्रबार, २७ साउन २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनबीच तालमेल हुने भए पनि पर्यटन व्यवसाय सम्बद्ध छाता संगठन ‘ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल’ (टान) मा भने फरक दृश्य देखिएको छ । टानको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी दल सम्बद्ध व्यवसायी एउटा ध्रुवमा छन् भने नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी अर्को ध्रुवमा रहेर प्रतिस्पर्धामा उत्रिँदैछन् ।

टानको नेतृत्वमा दाबी गर्दै तीन पक्ष एक आपसमा चुनावी भिडन्तमा उत्रिएका छन् । एक प्यानलको नेतृत्व व्यवसायी निलहरी बास्तोलाले गरेका छन् भने दोस्रो प्यानलको नेतृत्व रामप्रसाद सापकोटा (कमल) र तेस्रो प्यानलको नेतृत्व बोधराज भन्डारीले गरेका छन् ।

अध्यक्षका प्रत्यासी निलहरी प्यानलमा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समर्थित व्यवसायी ध्रुवीकृत छन् । अर्कोतर्फ अध्यक्षका दाबेदार रामप्रसाद सापकोटा (कमल) को प्यानलमा माओवादी समर्थित व्यवसायीको साथ छ ।

यता व्यवसायी बोधराज भण्डारीले भने स्वतन्त्रबाट अध्यक्षमा आफूसहित वरिष्ठ उपाध्यक्ष र एक सदस्यका रुपमा मैदानमा उतारेका छन् ।​ टानको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुनुको कारण प्रस्ट्याउँदै अध्यक्ष खुम सुवेदी भने, ‘हामीले सक्दो मिलाउने कोसिस गरेकै हौं । सकेसम्म सहमतिमै नेतृत्व चयन गरौं भन्ने थियो । तर साथीहरु मान्ने स्थितिमा देखिएन । लोकतान्त्रिक विधि, पद्धति अनुसार निर्वाचनमा जानु पनि राम्रै हो ।’ त्यसैले सबैलाई आ–आफ्नो तरिकाले निर्वाचनमा जान छाडिदिएको उनको भनाइ छ ।

तर, राजनीतिक चेतसहितको व्यवसायिक क्षेत्र भएकाले को कुन पार्टीको तर्फबाट लड्यो, कुन पार्टीको समर्थितले जित्यो त्यसले कुनै अर्थ नराख्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार तथा टानकी वर्तमान कार्यासमिति महासचिव सरिता लामा बताउँछिन् ।

‘राजनीतिक चेतसहित हामी पर्यटन व्यवसायीहरु हौं । त्यसैले आ–आफ्नो निजी विचार, धारणा वा झुकाव भएको पार्टीको प्यानलबाट चुनाव लड्न सक्छौं,’ उनले भनिन्, ‘तर, चुनावपछि त्यो पार्टीगत अवधारणा रहँदैन, हामी सबै व्यवसायी हुन्छौं ।’

त्यसपछिको हाम्रा साझा मुद्दा व्यवसायिक स्वच्छता र व्यावसायिक हकहितका लागि नै केन्द्रित हुने उनले बताइन् । लामाले माओवादी समर्थित व्यवसायी सापाकोटाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएकी छन् ।

को कसको प्यानबाट लड्दैछन् ?

निलहरी बास्तोला प्यानल

व्यवसायी निलहरी बास्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोतम तिमल्सिना र सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यहरुमा गणेश बहादुर अधिकारी, कुमार लामा, नविननाथ देबकोटा, लाक्पा दोर्जेशेर्पा, सजना त्रिपाठी, हेम कार्की, सुबास भण्डारी, राजु अर्याल र राम बन्जाराले उम्मेदवारी दिएका छन् ।

एमाले, काँग्रेस र एकीकृत समाजवादी समर्थित प्यानलका अध्यक्षका साझा उम्मेदवार बनेका निलहरी बास्तोला यसअघि टानको द्वितीय उपाध्यक्ष भइसकेका छन् ।

रामप्रसाद सापकोटा (कमल) प्यानल

व्यवसायी रामप्रसाद सापकोटा (कमल) प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामाले उम्मेदवारी दिएकी छन् । यस्तै, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे र सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पाले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यहरुमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारीले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका दावेदार सापकोटा यसअघि गाउँघर बास पर्यटन व्यवसाय (होसान) का अध्यक्ष रहेका थिए ।

स्वतन्त्रबाट

यता स्वतन्त्रतर्फबाट बोधराज भण्डारीले टानको अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै स्वतन्त्रबाट वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने र एक सदस्यमा गणेश बहादुर न्यौपानेले समेत उम्मेदवारी दिएका छन् ।

यही साउन ३० गते हुने टानको निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ९ सदस्यहरु गरी कुल १७ उम्मेदवार निर्वाचनबाट चयन भएर आउने छन् । तर, १७ पदका लागि हालसम्म तीन प्यानल गरी ३७ जनाले उम्मेदवारी दिएको अध्यक्ष खुम सुवेदीले जानकारी दिए ।

उम्मेदवारी विरुद्ध माग दाबी साउन २८ गतेसम्मलाई तोकिएको छ । साधारणसभासहितको टानको निर्वाचन साउन ३० गते होटल हायातमा हुनेछ । हाल टानमा एक हजार ८२२ सदस्य व्यवसायी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप