शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभीर झरना

शनिबार, २८ साउन २०७९, १२ : २९
शनिबार, २८ साउन २०७९

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास  हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभीर झरना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । 

गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झरना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

पर्यटक झरनासम्म पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन् । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताए । उनले भे, “यो झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गाउँपालिकाको केन्द्र तथा सदरमुकामबाट जनिकै रहेकाले पनि झरना हेर्न दैनिकजसो मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार प्रचारमा ध्यान दिन सके गाउँपालिकाको लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् । 

टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन् । पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ । 

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिन्छन्। यसका लागि अञ्चल डाँडाबाट महभीर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवा भञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । 

त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताउछन् । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप