शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी अन्तर्घात समितिको छानबिन सकियो, को–को मुछिए, को–को चोखिए ?

आइतबार, २९ साउन २०७९, १८ : ४४
आइतबार, २९ साउन २०७९

स्थानीय तह निर्वाचनमा भएको भनिएको अन्तरघातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको समितिले आफ्नो काम पुरा गरेको छ।  पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा अन्तर्घात छानविन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  

अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पार्टीको बैठकमा कुरा उठेको थियो । विशेषगरी मधेस प्रदेशमा मातृका यादव र गिरिजामणि पोखरेललगायतका शीर्ष नेता यसमा मुछिएका थिए । तर, 
छानविन समितिले शीर्ष नेतालाई चोख्याउन खोजेको देखिएको छ। अर्थात समितिले अन्तरघातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । छानविन समितिको प्रारम्भिक रिपोर्टमा अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता पुष्टि नभएपनि स्थानीय नेताहरुको भने उल्लेख्य संलग्नता देखिएको अध्यक्ष राईले जानकारी दिए । 

छानविन समितिले यही हप्ता आफ्नो रिपोर्ट स्थायी समितिलाई बुझाउने तयारी गरेको अध्यक्ष राईले बताए । ‘स्थानीय चुनावमा बर्दिया, उदयपुर, सिरहा, महोत्तरी, ताप्लेजुङ, अछाम, दाङ लगायत जिल्लामा अन्तर्घात भएको छ । बागी उठ्ने, असहयोग गर्ने विरोधीलाई सघाउन लगायतका प्रवृत्ति देखा परेका छन्’ राईले रातोपाटीसँग भने,  ‘अन्तर्घातमा शीर्ष नेताहरुको संलग्नता पुष्टि हुन सकेको छैन । त्यसरी पुष्टि हुनेगरी प्रमाण फेला परेका छैनन् । स्थानीय अन्तरद्वन्द्वले तल्लो तहका थुप्रै नेता कार्यकर्ताको संलग्नता भएको पाइयो ।’ अन्तर्घातमा संलग्न हुनेलाई कारवाही गर्न सिफारिस गरिने राईले बताए । 

छानविन समितिले आफ्नो रिपोर्ट तयार पार्ने क्रममा फोन सम्पर्कसहित इमेल र प्रत्यक्ष भेटघाट गरेको थियो । ‘हामीले अन्तर्घात छानविन गर्नेक्रममा फोन सम्पर्क, इमेल, प्रत्यक्ष भेटघाट र स्थलगत अवलोकन गरेका छौँ’ राईले भने, ‘अन्तर्घातको मसिनोगरी अध्ययन गर्नुपर्ने भएपछि उदयपुर, सुन्सरी, मोरङ, सिरहा, महोत्तरी , बर्दिया, दाङ लगायत जिल्लामा पुग्यौँ ।’ छानविन समितिले अन्तर्घात हुँदा २० देखि २५ सिट नोक्सान भएको निष्कर्ष निकालेको छ । यदि पार्टीभित्र अन्तर्घात नभएको भए माओवादीले १५० स्थानीय तह जित्ने आफूहरुको अध्ययनले देखेको उनको भनाइ छ ।

 सबैभन्दा बढी अन्तर्घात मधेस प्रदेशमा भएको छ । मधेसमा पार्टीको कमिटी नहुँदा २०७४ सालमा २१ तह जितेकोमा गत वैशाख ३० गते ९ तह मात्रै जित्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप