शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

मङ्गलबार, १४ भदौ २०७९, १८ : ५७
मङ्गलबार, १४ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । मंगलवार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् ।

तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् ।

मंगलबार पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ । हिजो (सोमवार) दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप