सरोकार

सावधान ! तपाईंलाई कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिइरहेको त छैन ?

person explore access_timeभदौ २९, २०७९ chat_bubble_outline0

 वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए ।


सोही आधारमा विभागको टोलीले उनलाई पक्राउ गरेको थियो । एजुकेसन कन्सल्टेन्सी सञ्चालनका लागि अनुमति लिएका शर्माले अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि पक्राउ गरिएको विभागले जनाएको छ । गत भदौ १ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गर्‍यो । भक्तपुर, मध्यपुर ठिमी–९ का २८ वर्षीय सुरेश भन्ने प्रदिप कर्माचार्यसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।



उनीहरूले कञ्चनपुरका निरज पाण्डेको नागरिकताको दुरूपयोग गर्दै एभरेष्ट लिंक इन्टरनेशनल एजुकेसन प्रालि खोलेका थिए । सोही मार्फत उनीहरूले वैदेशिक रोजगारीमा रसिया पठाइदिने भन्दै लाखौं रूपैयाँ असुल्दै आएका थिए । पाण्डेको हराएको नागरिकता प्रमाणपत्र फेला पारेर उनीहरूले दुरूपयोग गर्दै २०७८ मंसिर २८ गते कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा कन्सल्टेन्सी दर्ता गराएका थिए ।



यसरी विद्यार्थीलाई विदेश अध्ययन गर्न परामर्श दिन भनेर खोलिएका कन्सल्टेन्सीले अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउन लागेका हुन् । उनीहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर लाखौं असुल्दै अवैध रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गरेका हुन् ।

नेपालको कानुनले एजुकेसन कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारीमा पठाउन दिँदैन । वैदेशिक रोजगारीमा पठाउनका लागि मेनपावर व्यवसाय दर्ता गर्नुपर्छ । तर, पछिल्लो समय कन्सल्टेन्सीहरूको ध्यान वैदेशिक रोजगारीमा पठाउनतिर बढी देखिएको छ । उनीहरूले विशेषगरी अमेरिका, अष्ट्रेलिया, जापान, यूरोप लगायतका देशमा कामदार भिसामा पठाउने भन्दै लाखौं रकम असुल्ने गरेका हुन् ।

चितवनकी पार्वती (नाम परिवर्तन) लाई एक एजेन्टले माल्टा पठाइदिने भने । ती एजेन्टले त्यसबापत ८ लाख रूपैयाँ खर्च लाग्ने भने । पार्वतीले एडभान्स स्वरूप डेढ लाख रूपैयाँ दिइसकेकी छन् । त्यो एजेन्टले कुनै एक कन्सल्टेन्सी मार्फत भिसा प्रोसेस गर्दैछ ।

त्यसका लागि उसले भारतबाट प्रक्रिया थालेको पार्वतीले बताइन् । ‘पठाइदिन्छु भनेको लगभग ४ महिना भयो । अझै पनि काम हुँदैछ मात्र भनेको छ । तर, कहिले हुन्छ, केही टुङ्गो लागेको छैन,’ उनले भनिन् ।

मकवानपुरका जोगबहादुर (नाम परिवर्तन) ले क्यानडा जाने भन्दै कन्सल्टेन्सीलाई २ लाख रूपैयाँ बुझाइसकेका छन् । तर, चार महिना भइसक्यो कन्सल्टेन्सीले अहिलेसम्म पठाउने सुर गरेको छैन ।

उनलाई १२ लाख रूपैयाँ खर्च लाग्ने भनेको थियो । उनलाई एजुकेसन कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारीमा जान मिल्दैन भन्ने थाहा थिएन ।

 

‘एजेन्टले हाम्रो कन्सल्टेन्सी मार्फत पठाउँछौं भनेपछि पत्याइयो । अनि पैसा पनि दिएँ तर, अहिलेसम्म पठाएको छैन । ४ महिना भइसक्यो पैसा दिएको पनि,’ उनले भने । कन्सल्टेन्सी सञ्चालकहरूले खाडी मुलुकबाहेक अन्य देशमा कामदार पठाउने गरेको पाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले कन्सल्टेन्सीको गैरकानुनी धन्दा बढ्दो क्रममा देखिएको बताए ।

 

‘एजुकेशन कन्सल्टेन्सी भनेर दर्ता गरेपछि मान्छे पठाउनु भनेको गम्भीर अपराध हो । यसमा हामी अनुगमन र कावाहीलाई तीव्रता दिन्छौं,’ महानिर्देशक आचार्यले भने । शिक्षा मन्त्रालयले उनीहरूमाथि अनुगमन तथा निगरानी राख्न सकेको छैन । जसले गर्दा उनीहरू शैक्षिक परामर्श दिनुको साटो वैदेशिक रोजगारीमा पठाउन थालेका हुन् ।

महानिर्देशक आचार्यले शिक्षा मन्त्रालयले यसमा ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । कन्सल्टेन्सी खोलेर मान्छेलाई वैदेशिक रोजगारीमा पठाउनेलाई कडा कारवाही गरिने उनको भनाइ छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।