शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा आधार क्षेत्र भएका माओवादी नेताहरू अन्य जिल्लामा ‘स्पेस’ खोज्दै

शुक्रबार, ३१ भदौ २०७९, २३ : ४८
शुक्रबार, ३१ भदौ २०७९

रोल्पा जिल्ला नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो । यस जिल्लाबाट माओवादी केन्द्रका कयौं नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर निर्वाचन क्षेत्र कम भएका कारण रोल्पा आधार क्षेत्र भएका माओवादी केन्द्रका कयौं नेता अन्य जिल्लातिर केन्द्रित हुन बाध्य भएका छन् ।

रोल्पामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी प्रत्यक्षतर्फ जम्मा तीन नेतामात्र उम्मेदवार बन्न पाउने भएकाले अन्य नेताहरु रोल्पा छाडेर अरु जिल्लामा उम्मेदवार बन्न बाध्य भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सुशीला पुन, गीता गहतराज रोल्पाकै उत्पादन हुन् ।

सुरुमा २ संघीय निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लामा हाल प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमात्र कायम छ । निर्वाचन क्षेत्र घट्ने तर नेताहरू धेरै रहेकाले चुनावको बेलामा समस्या पर्ने गरेको माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष दीपेन्द्र पुनले बताए ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट रोल्पामा वर्षमान पुन उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यसैले महरा, घर्ती लगायतका नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्न अर्को जिल्लामा जानुपर्ने अवस्था आएको हो ।

२०७० रोल्पाबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा २०७४ सालमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी अहिले पनि दाङबाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

यस्तै २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सभामुख ओनसरी घर्ती पनि काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा छ । घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ नम्बर क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।

सुशीला पुनले पछिल्लो समय ललितपुरलाई राजनीतिक थलो बनाएकी छन् भने गीता गहतराजले गोरखालाई कार्यक्षेत्र बनाएकी छन् । उनी समानुपातिक सांसद समेत हुन् ।

रोल्पाकै परिवर्तन गाउँपालिका–२ का नन्दबहादुर पुन विगतमा रोल्पामा क्षेत्र अभावकै कारण प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाएपछि पार्टीका विभिन्न भूमिका निर्वाह गर्दै उपराष्ट्रपति बन्ने अवसर पाए । उनले पटक पटक निर्वाचनमा जान खोजेका थिए तर क्षेत्र कम भएका कारण अवसर नपाएको माओवादीका कार्यकर्ताहरू बताउँछन् ।

यस्तै हाल समानुपातिक सांसद जयपुरी घर्तीले पनि रोल्पामा उम्मेदवारीका लागि दाबी गरेकी छन् । २०६४ सालको निर्वाचनमा रोल्पा–१ बाट निर्वाचित भएकी उनी त्यसपछि दुई पटक समानुपातिक सांसद बनेकी हुन् । उनलाई रोल्पाबाट पार्टीले प्रत्यक्षमा सिफारिस गरेको छ ।

रोल्पा क्षेत्र नम्बर २ बाट २०६४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए । उनले रोल्पा छाडेपछि सन्तोष बुढा मगरले सो क्षेत्रबाट चुनाव जितेका थिए । बुढा अहिले माओवादी विप्लवतिर लागेका छन् ।

माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष दीपेन्द्र पुनले रातोपाटीसँग भने, ‘रोल्पामा माओवादीका धेरै नेताहरू लगभग एउटै तहका भएपछि सबैलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ, त्यसैले रोल्पामा मौका नपाएकाहरुले अन्यत्र जानु बाध्यता नै हो ।’

स्थानीय तह निर्वाचनमा आ–आफ्नै ढंगले उम्मेदवारी

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी सहित ५ दलको गठबन्धन रोल्पामा भने लागु भएन । दलहरु रोल्पामा आआफ्नै तरिकाले मैदानमा उत्रिए ।

तर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भने दलहरु केन्द्रको निर्णय पर्खिएर बसिरहेका छन् । खासगरी यहाँ गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादीले गठबन्धनभित्र उम्मेदवारीका लागि दाबी गरिरहेका छन् । केन्द्रको निर्देशन अनुसार तालमेललाई अगाडि बढाउने प्रतीक्षामा रहेको नेपाली कांग्रेसका जिल्ला सभापति किशोर आचार्यले रातोपाटीलाई बताए ।

उनले भने, ‘स्थानीय तहजस्तो अब हुँदैन, त्यो अधिकार अहिले हामीलाई छैन, त्यसैले केन्द्रबाट जे निर्देशन आउँछ, त्यसैलाई कार्यान्वयन गर्ने छौं ।’

२०७४ को संसदीय निर्वाचनमा रोल्पाबाट माओवादी केन्द्रले संघ र प्रदेशका गरी सबै सिट जितेको थियो । प्रतिनिधिसभातर्फ वर्षमान पुन र प्रदेशको ‘क’ मा हालका मुख्यमन्त्री कुलप्रसाद केसी, ‘ख’मा दीपेन्द्र पुन(सिजल) ले जितेका थिए ।

अहिले गठबन्धनभित्र नेपाली कांग्रेसले संघ माओवादीलाई दिएर दुवै प्रदेशसभा क्षेत्र आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ आफूले उम्मेदवारी दिएमा प्रदेशसभाको दुवै सिट माओवादी केन्द्रलाई दिने जनाएको छ ।

माओवादीले भने आफूहरूले जितेको क्षेत्र नछोड्ने अडान राखेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले रोल्पामा संघ र प्रदेश दुवै माओवादीलाई दिएर गठबन्धन गर्नुको अर्थ नभएको भन्दै यसमा केन्द्रले मिलाउनुपर्ने बताए । 

गठबन्धन भर्सेस एमाले : यस्तो छ अंकगणित           

२०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन भएको थियो । प्रतिनिधिसभा तर्फ माओवादीका वर्षमान पुनले कांग्रेसका अमरसिंह पुनलाई पराजित गरेका थिए । पुनले ४२ हजार ८४ मत प्राप्त गरेका थिए भने अमरसिंहले २० हजार ३३७ मत पाएका थिए ।

अहिले एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्णबहादुर बुढामगरको नाम सिफारिस भएको छ । बुढामगर पूर्व माओवादी भएकाले माओवादीका मत काट्ने रणनीतिमा एमाले रहेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा रोल्पामा वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको निर्वाचन आयोग जनाएको छ ।

यस्तै स्थानीय तहको चुनावमा जिल्लामा रहेका १० स्थानीय तहमध्ये माओवादीले ७ स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । यस्तै, कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । ७२ वडामध्ये माओवादीले ४८, कांग्रेसले १४, एमालेले ८, एकीकृत समाजवादी र स्वतन्त्रले १÷१ वडाध्यक्ष जितेका थिए ।

रोल्पामा नेपाली कांग्रेस र माओवादी सधैँ प्रतिद्वन्द्वी बन्दै आएका थिए । यी दुई दलबीच गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि रोल्पामा खुलेर गठबन्धन भएन तर आसन्न निर्वाचनमा भने माओवादी र कांग्रेस सम्बन्ध सुधार गर्न तयार देखिएको कार्यकर्ताहरू बताउँछन् । त्यस आधारमा रोल्पामा एमालेलाई सकस पर्ने धेरैको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप