आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बैंकविरुद्ध अर्थमन्त्रीको एक्सन : ब्याजदर नियन्त्रणका लागि ७ सदस्यीय अध्ययन समिति गठन

आइतबार, ०९ असोज २०७९, १९ : ३२
आइतबार, ०९ असोज २०७९

बैंक ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्री जनार्दन शर्मा एक्सनमा उत्रिएका छन् । असोज महिनाका लागि बैंकहरुले आफू खुशी १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेसँगै चौतर्फी विरोध भइरहेको छ । यसै विरोधका बीच आइतबार अर्थमन्त्री शर्माले ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गराएका हुन् ।

आइतबार दिउँसो अर्थमन्त्रालयमा राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरूलाई बोलाएर मन्त्री शर्माले छलफल गरेका छन् । सोही छलफलमार्फत मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय  ब्याजदर अध्ययन समिति गठन गरेका हुन् । उक्त समितिलाई ब्याजदर वृद्धि सम्बन्धि अध्ययन गरी ५ दिन भित्रै अध्ययन प्रतिवेदन बुझाउन समेत मन्त्री शर्माले निर्देशन दिएका हुन् । 

समितिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना तीन वटै व्यवसायिक संगठनहरुबाट १/१ जना गरी ७ जना रहने छन् । सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव रहेका छन् । यस समितिमार्फत प्राप्त अध्ययन प्रतिवेदनले औंल्याएको विषयमा थप छलफल गरी ब्याजदर संशोधनको लागि राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन दिइने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

असोज महिनाका लागि बैंकहरुले यसअघिको भद्र सहमति तोड्दै आफू खुशी ब्याजदर वृद्धि गरेसँगै उद्योग व्यवसायीहरु  असन्तुष्ट बन्दै आइरहेका छन् । ब्याजदर वृद्धिकै कारण लगानीको वातावरण नबन्नुका साथै थप उत्पादनशिल क्षेत्रको लगानी समेत पलायन हुने अवस्था बनेको भन्दै व्यवसायीहरुको चिन्ता व्यक्त गरिरहेका छन् । यसैबीच अर्थमन्त्रीले बैंकहरुमाथि एक्सन लिने गरी ब्याजदर घटाउने नीति लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप