शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली–४ भण्डारीले दाबी नछोड्ने

बिहीबार, १३ असोज २०७९, २० : ४२
बिहीबार, १३ असोज २०७९

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।

भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्ष बाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रिय सभामा पनि आफू नजाने बताए । उनले हालसम्म टिकटको टुङ्गो नलागेको र आफू नै सो क्षेत्रबाट उम्मेदवार बन्ने बताए । कैलाली–४ बाट संघीय निर्वाचनमा आफ्नो सिफारिस भएको हुँदा टिकट पाउने अपेक्षा पनि रहेको उनले बताए । तर टिकट नपाएको अवस्थामा के गर्ने भन्ने बारेमा भने अर्को भेटमा कुरा गर्ने उनले बताए । 

‘म अहिले ७१ वर्षको भएँ,' बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अर्को चुनाव लड्ने मनस्थितिमा छैन, उमेरले पनि साथ दिँदैन, यस पटक अन्तिम उम्मेदवार बन्ने छु, उम्मेदवारी कैलाली–४ बाटै हुने छ ।’ कैलाली–४ बाट टिकट नपाए के गर्ने भन्ने बारेमा अर्को पत्रकार सम्मेलन मार्फत जानकारी दिने बताएका उनले टिकट नपाए राजनीतिमा अहिले जसरी सक्रिय भने नहुने बताए । 

भण्डारी २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्टसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भए पनि त्यस पछि निरन्तर जनतासमक्ष गएको र आफूले जित्ने माहौल बनाएको उनको दाबी छ ।

उता बलायरले पनि आफूले कैलाली–४ बाट टिकट पाउने निश्चित भएको भन्दै सहयोगका लागि विभिन्न माध्यमबाट अपिल समेत गरिरहेका छन् । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप