शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले ढोडको लौरो टेक्ने पार्टी होइन : केपी ओली

शनिबार, १५ असोज २०७९, १६ : २१
शनिबार, १५ असोज २०७९

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको समेत स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।’

उनले एमाले ढोडको लौरो टेक्ने पार्टी नभएको बताउँदै आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएको दाबी गरे । त्यसैले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर समेत उनले गरे । अध्यक्ष ओलीले एमालेको एजेन्डाले  देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनसक्ने बताए । एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले वर्तमान कामचलाउ सरकारले संसद् नभएका समयमा दूरगामी महत्वका अध्यादेश ल्याउनु गलत भएको बताए । उनले यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप