सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं ३ मा सिंगल-सिंगल भिडन्त, यस्तो छ कृष्ण र सन्तोषको हिसाब-किताब

शुक्रबार, ०४ कात्तिक २०७९, ०८ : ४२
शुक्रबार, ०४ कात्तिक २०७९

आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नंवर ३ मा एमालेका कृष्ण राई र कांग्रेसका सन्तोष चालिसेबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ । राई २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए ।

यता चालिसे २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरप्रमुखमा निर्वाचित भएका थिए । धेरैजसो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएपछि यो क्षेत्रमा भने बिना गठबन्धन दलहरु स्वतन्त्र ढंगले चुनावी मैदानमा खडा भएका छन् । 

सत्तारुढ दलको केन्द्रले गठबन्धन गर्ने निर्णय गरेपनि यो क्षेत्रमा तालमेल हुन सकेन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र स्वतन्त्र ढंगले चुनाव लड्दैछन् । गठबन्धन नभएको फाइदा र कांग्रेसभित्रको अन्तरकलहको फाइदा उठाउने रणनीतिमा एमाले रहेको छ । यद्यपि ०७४ मा बाम गठबन्धनको साथमा चुनाव जितेका राईलाई पनि अहिले एमालेको विभाजन पछिको चुनावी सहज छैन ।

यता कांग्रेस रक्षात्मक ढंगले आफ्नो जनमत कायम राख्दै विना गठबन्धन जित हात पार्ने दाउमा रहेको छ ।  यो क्षेत्रमा एमालेका कृष्णबहादुर राई, कांग्रेसका सन्तोष चालिसे र माओवादी केन्द्रका बद्रिप्रसाद बजगाईबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर जसपाबाट मोहन कुमार विश्वकर्मा, राप्रपाबाट गणेश गिरि, नेमकिपाबाट विशोक डंगोल, लोसपाबाट मोहनबहादुर बस्नेत उम्मेदवार रहेका छन् । 

यस्तै जनमत पार्टीबाट गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपाने, हाम्रो नेपाली पार्टीबाट द्धारिका अधिकारी, मंगोल  नेशनल अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नुर्पु गेन्जेन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राई, आपमपा नेपालबाट नेत्रबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुर्गा विक्रम थापा उम्ेमदवार रहेका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा केदारनाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश विष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा, निरञ्जन पुडासैनी रहेका छन् । 

कृष्ण राई (एमाले)

अघिल्लो ०७४ मा पनि सोही क्षेत्रबाट सांसद रहेका राईले दोश्रो पटक पनि काठमाडौंं क्षेत्र नंबर ३ को उम्मेदवार हुने मौका पाएका छन् । देशका धेरै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएपछि एमालेका उम्मेदवारहरुले चुनौतीको सामना गर्नुपरेको अवस्थामा यहाँ भने एमाले उम्मेदवार राईले राहत महसुस गरेका छन् ।

यहाँ एमालेका उम्मेदवार राई, कांग्रेसका उम्मेदवार सन्तोष चालिसे र माओवादी केन्द्रका उम्मेदवार बद्रीप्रसाद बजगाँई बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
 
गठबन्धन नभएकाले आफूलाई खासै चुनौती नभएको राईले बताए । कांग्रेसबाट बागी उम्मेदवार उठेकाले पनि आफूलाई सहज हुने राईको बुझाइ छ । कांग्रेसका गोकर्णेश्वर नगर सभापति श्रीकृष्ण ज्योती बागी उठेका छन् । कांग्रेसकै निरञ्जन पुडासैनीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ देवकोटा पनि कांग्रेस निकट हुन् । 

यस्तै सोही क्षेत्रको प्रदेशमा पनि कांग्रेसको बागी उम्मेदवारी परेको छ । यसअघि काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समेत रहेका दिपेन लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धन नहुनु र कांग्रेसभित्रको द्धन्द्धको कारण चुनावी नतिजा आफ्नो हातमा आउने राईले अपेक्षा गरेका छन् । यतिबेला जनतामाझ कस्ता एजेण्डा लिएर जाने भन्नेबारेमा छलफल भइरहेको राईले रातोपाटीलाई बताए । 

सन्तोष चालिसे (नेपाली कांग्रेस) 

यसअघि गोकर्णेश्वर नगरप्रमुख समेत रहेका सन्तोष चालिसेलाई कांग्रेसले क्षेत्र नंबर ३ को उम्मेदवार बनाएको छ । उनी सो क्षेत्रको क्षेत्रीय सभापति समेत रहेका छन् । केन्द्रबाट गठबन्धन गर्ने निर्णय भएपनि सो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका १ र प्रदेश सभाका २ उम्मेदवारका लागि पार्टीले टिकट पठाएपछि गठबन्धन हुन नसकेको उनले बताए । 

गठबन्धन नभएपनि नगरप्रमुख भएका बेला गोकर्णेश्वरमा गरेको विकासका आधारमा आफूले चुनाव जित्ने उनले बताए । चालिसेलाई यो चुनावमा आफ्नै दलमा रहेका ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती थपेका छन् । 

उनले भने, ‘गठबन्धन गर्ने भनेर नै निर्णय भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा गरेर ३ क्षेत्रका लागि नै कांग्रेसले टिकट पठायो । माथिबाट यस्तो कसरी के भयो ? चुनावमा चुनौती त भइहाल्छ नै । चुनौतीको सामना गर्दै जित निकाल्न हामी तयार छौं ।’

पार्टीमा प्रतिबद्ध नभएका केही व्यक्तिले स्वतन्त्र उम्मेवारी दिएपनि आफूलाई असर नगर्ने उनको दावी छ । उनले भने–‘पार्टीको प्रतिबद्ध मान्छे कहिलेपनि बागी उठ्दैन । स्वतन्त्र रुपमा चुनाव लड्न जसले पनि पाउँछ । मेरो बागी भनेर हैन स्वतन्त्र रुपमा उठेका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारी दिँदैमा मलाई खास असर पर्दैन ।’

उनी यसअघि २ पटक वडाध्यक्ष, एक पटक गाविस अध्यक्ष र एकपटक नगरप्रमुख भएको आधार, नगरप्रमुख भएका बेला उत्कृष्ट काम गरेको, हालसम्म निष्पक्ष ढंगले जनताका काम गरेको आधारमा पनि आफू निर्वाचित हुनेमा आशावादी रहेको चालिसेले बताए । 

यस्तो छ अघिल्लो निर्वाचनको मत परिणाम 

काठमाडौं क्षेत्र नंबर ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंबर १, २, ३ र काठमाडौं महानगरपालिकाको वडा नंबर ६ पर्दछ । 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्ने हो भने यो क्षेत्रमा कांग्रेसले १५ हजार ७९५ मत पाएको थियो । एमालेले १४ हजार ८७६ मत पाएको थियो । यस्तै माओवादी केन्द्रले १ हजार ७३० मत, एकीकृत समाजवादीले १ हजार ५६ मत र राप्रपाको १ हजार ५१४ मत पाएको थियो ।

तर एमालेका उम्मेदवार कृष्ण राई स्थानीय तहको निर्वाचनमा एमालेको १५ सय मत बढी आएको दावी गर्छन । यो क्षेत्रको मुख्य स्थानीय तह अन्तर्गत गोकर्णेश्वर नगरपालिका रहेको छ । स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा कांग्रेसका दीपक रिसाल विजयी भएका थिए भने उपप्रमुखमा एमालेकी सान्नानी लामा विजयी भएकी थिइन् । 

यस्तै अघिल्लो प्रतिनिधि सभा चुनावमा एमाले केन्द्रीय सदस्य राई १९ हजार १६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन । यस्तै विवेकशील साझा पार्टीकी समित्रा सिंह लामाले २२ सय ५ मत पाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप