शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर विषाक्त पुष्टि

खरिद प्रक्रियामै गम्भीर त्रुटि, आयोग भन्छ, ‘क्षति असुल गर्छौँ’
बिहीबार, ०१ मङ्सिर २०७९, २३ : ०३
बिहीबार, ०१ मङ्सिर २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्यधिक रहेको भन्दै यसको प्रयोग नगर्न औषधी व्यवस्था विभागले कडा निर्देशन दिएको छ । स्यानिटाइजरको सम्बन्धमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको मापदपण्ड विपरीत पाइएको भन्दै औषधी व्यवस्था विभागले ती स्यानिटाइजरको प्रयोग नगर्न कडा चेतावनी दिएको हो ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५ सय एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरका दरले स्यानिटाइजर वितरण गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार स्थानका मतदान केन्द्रमा ती स्यानिटाइजरहरू पठाइसकिएको थियो भने काठमाडौँकै कतिपय मतदान केन्द्रमा स्यानिटाइजर पुगिसकेको थियो । 

तर मंगलबार साँझ एकाएक निर्वाचन आयोगले आफ्नो सिस्टममार्फत् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमस पठाएर आयोगले पठाएको स्यानिटाइजर प्रयोग नगर्न सूचित गर्दै स्यानिटाइजर आयोगमै फिर्ता पठाउन आग्रहसमेत गर्‍यो । निर्वाचनको मितिभन्दा ४ दिन अगाडि मात्रै पठाइएको उक्त एसएमएसमा स्यानिटाइजर प्राविधिक परीक्षणअनुसार उक्त स्यानिटाइजर योग्य नदेखिएको उल्लेख गरिएको थियो । 

बुधबार बिहान अर्थात् कात्तिक ३० गते मात्रै औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै ग्लोबल हेल्थकेयर, कुञ्जपुरा, कर्नाल, भारतको उत्पादन रहेको जिएचसी ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक पाइएको भन्दै उक्त स्यानिटाइजरको विक्री वितरण बन्द गर्न र बजारमा गइसकेको भए पनि फिर्ता लिन सूचित गरिएको थियो । विभागको सूचनामा उक्त कम्पनीको ब्याच नम्बर CARE-11-22-DEC, 2024 र उत्पादन मिति जनवरी २०२२ अर्थात् एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा कैफियत पाइएको बताएको छ । स्मरणीय के छ भने यो त्यही स्यानिटाइजर हो, जुन स्यानिटाइजर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको थियो र मतदान केन्द्रहरूमा पठाएको थियो ।

 

निर्वाचन आयोगले कोभिड १९ तथा अन्य केही रोगहरुबाट बच्नमा मद्दत गर्न सक्छ भने प्रत्येक मतदान केन्द्रहरूमा १० थानका दरले पठाउने निर्णय गरेको थियो । सोही अनुसार दुर्गमका सबैजसो मतदान केन्द्रमा ती स्यानिटाइजर पुगिसकेको छ भने कतिपय स्थानमा पुग्ने प्रक्रियामै छ । तर मतदान केन्द्रहरूमा स्यानिटाइजरहरू पठाइसकेपछि निर्वाचन आयोगले प्रयोगशाला परीक्षणका लागि उक्त स्यानिटाइजर पठाएको थियो । मंगलबार परीक्षणबाट उक्त स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक रहेको पाइएको थियो । त्यसलगत्तै आयोगले एसएमएस पठाएर उक्त स्यानिटाइजर प्रयोग नगर्न र नगराउन सूचित गरेको थियो । 

खरिद प्रक्रियामै गम्भीर त्रुटि

निर्वाचन आयोगले स्यानिटाइजर खरिद प्रक्रियासँग सम्बन्धित कागजात त सार्वजनिक गरेको छैन, यद्यपि मतदान केन्द्रमा पठाइसकिएको स्यानिटाइजर फिर्ता लिने सूचना पठाउनुले खरिद प्रक्रिया र वितरणमै गम्भीर त्रुटि भएको सङ्केत गरेको छ । 

सामान्यतः औषधी वा औषधीजन्य र विषादीको टेण्डर गर्दा न्यूनतम मापदण्ड के के हुनुपर्ने भनेर पहिले नै तोकेको हुन्छ । न्यूनतम मापदण्ड अनुसार कम मूल्य कबुल गर्ने उत्पादक वा वितरकको बोलकबोललाई स्वीकार गरी सोही उत्पादक वा वितरकबाट लिने गरी आशय पत्र अर्थात् ‘लेटर अफ इन्टेण्ट’ दिने गरिन्छ । यही बीचमा टेण्डर आव्हान गर्ने कम्पनीलाई प्रयोगशालाको रिपोर्ट वा उक्त ब्याचको सामान ल्याई प्रयोगशालाको परीक्षणका लागि दिनुपर्ने हुन्छ । प्रयोगशाला परीक्षणपछि उक्त कम्पनीको उत्पादन प्रयोगका लागि योग्य वा न्यूनतम मापदण्ड अनुसारको रहेमा मात्रै त्यसलाई बिक्री वितरण र उपयोगका लागि स्वीकृति प्रदान हुन्छ । स्वीकृति प्रदान भएपछि मात्रै उक्त सामान आपूर्ति गर्नुपर्ने हुन्छ । 

तर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाटै खरिद गरिएको भनिएको भारतीय कम्पनी ग्लोबल हेल्थ केयरको उत्पादन रहेको सिएचसी ह्याण्ड स्यानिटाइजर प्रयोगका लागि अयोग्य मात्रै होइन अत्यधिक हानिकारक केमिकल रहेको पाइएको छ । निर्वाचन आयोगले ल्याब टेष्ट नगरी ती स्यानिटाइजरहरू स्वीकार गर्दा विषाक्त ह्याण्ड स्यानिटाइजर मतदान केन्द्रसम्म पुगेको हो । 

औषधी व्यवस्था विभागका अनुसार सिएचसी ह्याण्ड स्यानिटाइजरको ब्याच नम्बर CARE-11-22-DEC, 2024, उत्पादन मिति जनवरी २०२२ र एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा विभाग र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा फरक र स्वास्थ्यका लागि अति हानिकारक केमिकल फेला परेको हो ।

स्यानिटाइजरको मापदण्ड एउटा, आयात अर्कै

औषधी व्यवस्था विभागले तयार पारेको ‘इन्स्ट्याण्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी निर्देशिका, २०७६’ मा ह्याण्ड स्यानिटाइजरमा के केको मात्रा कति कति हुनुपर्ने भनेर उल्लेख गरेको छ । मापदण्ड अनुसार नेपालमा उत्पादन वा विक्री वितरण हुने ह्याण्ड स्यानिटाइजरमा इथाइल अल्कोहल वा आइसोप्रोपाइल अल्कोहलको मात्रा कम्तीमा ७० प्रतिशत हुनुपर्ने उल्लेख छ । त्यसबाहेक ग्लिसेरिन लगायतका अन्य तत्त्व पनि ह्याण्ड स्यानिटाइजरमा राख्नुपर्ने हुन्छ । ह्याण्ड स्यानिटाइजरको उत्पादन गर्दा मिथाइल अल्कोहल राख्न निषेध गरिएको छ । 

तर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको ह्याण्ड स्यानिटाइजरमै विषाक्त मिथाइल अल्कोहलको मात्रा ६७ प्रतिशत पाइएको छ । कम्तीमा ७० प्रतिशत हुनुपर्ने इथाइल अल्कोहलको मात्रा भने मात्रै २ प्रतिशत पाइएको छ । 

मिथाइल् अल्कोहल इथाइल अल्कोहलको तुलनामा ज्यादै सस्तो हुन्छ भने मिथाइल अल्कोहलमा एसिडको मात्रा बढी रहन्छ । जसका कारण मिथाइल अल्कोहल प्रत्यक्षरुपमा छालामा परेमा त्यसले एलर्जी गराउने, छाला कालो बनाउने, घाउ बनाउने, पोल्ने लगायतको समस्या निम्त्याउन सक्छ । 

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ग्लोबल हेल्थ केयरले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा ६७ प्रतिशत पाइएको थियो । त्यसपछि उक्त ह्याण्ड स्यानिटाइजरको प्रयोगमा प्रतिबन्ध लगाउँदै बजारमा विक्री वितरण भइसकेको भए तत्काल फिर्ता लिन कडा निर्देशन दिइएको हो । उक्त ह्याण्ड स्यानिटाइजरको प्रयोगले छालालाई गम्भीर असर गर्ने र मानिसको श्वासप्रश्वास प्रणालीसँग जोडिएमा वा पेटमा पुगेमा मृत्युसमेत हुन सक्नेछ । 

आयोग भन्छ, ‘पैसा तिरेको छैन, क्षति असुल गर्छौँ’

निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी टेण्डर मार्फत लिएको ह्याण्ड स्यानिटाइजर विषाक्त रहेको पाइएपछि उक्त स्यानिटाइजर प्रयोगमा नल्याउन सूचित गरिसकेको छ । आयोगले टेण्डर प्रक्रिया पूरा गर्नेदेखि स्यानिटाइजरलाई विभिन्न जिल्लामा ढुवानी गर्ने प्रयोजनमा पनि लाखौं रकम खर्च गरिसकेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्यानिटाइजर वापतको रकम भुक्तानी नदिइएको दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले टेण्डर प्रक्रियाबाटै खरिद गरिएको भएपनि पहिले ल्याब टेष्ट नगरिएको र अहिले ल्याब टेष्ट गर्दा विषाक्त रहेको पाइएपछि प्रयोग नगर्न भनिएको बताए । सामान आएपछि ल्याब टेष्ट गरेर मात्रै वितरण गर्नुपर्ने होइन र भन्ने प्रश्नमा प्रवक्ता पौडेलले केही स्थानमा मात्रै स्यानिटाइजर पुगेको र धेरैजसो स्थानमा पुगिनसकेको बताए । स्यानिटाइजर पठाउँदा हुने ढुवानी खर्चसमेत भराउने गरी आपूर्तिकर्ताको धरौटीबाट असुल गर्न सकिने प्रवक्ता पौडेलले बताए । 

पौडेलले भने, ‘दुर्गमका मतदान केन्द्रहरूमा पुगिसकेको छ । शहरी इलाकाका धेरैजसो स्थानमा पुगिसकेको छैन । अब ढुवानी र अन्यमा गरी के कति क्षति भयो, त्यसको विश्लेषण गरेर आयोगले केही निर्णय गर्ला । टेण्डर पाउनेले राखेको धरौटी बाटै पनि हामी हाम्रो क्षति भराउन सक्ने अवस्थामा छौँ ।’

अर्को स्यानिटाइजर पठाउन असम्भव

प्रवक्ता पौडेलले हाल टेण्डर गरी ल्याइएको स्यानिटाइजर विषाक्त रहेको पाइएपछि अर्को स्यानिटाइजर पठाउन सम्भव नरहेको बताए । उनले भने, ‘अब निर्वाचनका लागि मात्रैै ४ दिन बाँकी छ । चार दिनको समयमा अर्को स्यानिटाइजर पठाउन सकिने सम्भावना छैन । अर्को स्यानिटाइजरको प्रयोगको कुरा असम्भव नै हो, आयोगले पठाउन सक्दैन ।’

स्पेशीफिकेशन तोकेर मापदण्ड अनुसारको स्यानिटाइजर ल्याउन टेण्डर स्वीकृत गरेको भएपनि के कति कारणले विषाक्त स्यानिटाइजर आएको हो, सो सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले भने, ‘हामीले टेण्डरबाट ल्याएको स्यानिटाइजर विषाक्त र प्रयोग गर्न नमिल्ने भन्ने ल्याबको रिपोर्ट आइसक्यो । अब यस सम्बन्धमा क–कसको के कस्तो कमजोरी भयो, त्यसको छानबिन हुन्छ र दोषीलाई कारबाही गरिन्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप