शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षलाई ‘माननीय’ चुन्न हिँडेकाहरु...

शुक्रबार, ०२ मङ्सिर २०७९, १७ : ३६
शुक्रबार, ०२ मङ्सिर २०७९

शुक्रबार बिहान ६ बजेतिर काठमाडौंको जडीबुटी चोकमा गाडीको घ्यारघ्यार–घुरघुर, ट्यारट्यार–टुरटुर अलि बढी नै थियो । हातमा, पिठ्यूूँमा ‘ब्याग’ बोकेर मानिस यताउता दौडदै थिए । उनीहरु कतैको यात्रामा निस्किएका जस्ता देखिन्थे । कसैले आफ्ना साना नानीबाबु डोर्‍याइरहेका देखिन्थ्यो भने धेरै जना फोनमा ‘कहाँनेर, कतिबेला आउँछ, कति नम्बर रे,’ भन्ने जस्ता समान प्रश्न सोधिरहेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोट हाल्न जानेहरुको गतिविधि थियो त्यो । विभिन्न राजनीतिक दलले आफ्ना मतदातालाई गाउँ लान चोकमा जम्मा गरिरहेका थिए । आफू चढ्ने गाडी भेट्नका लागि मानिसहरु दौडिरहेका देखिन्थे भने गाडी फेला पार्न नसकेकाहरु फोन गरेर गाडी कहाँ छ, कतिबेला आउँछ वा कति नम्बरको गाडी हो भन्ने सोधिरहेका थिए ।

चोकदेखि लोकन्थलीतिर लागेपछि फुटपाथमा भेटिए एकजना वयस्क । उनी घरी खल्तीबाट मोबाइल झिक्थे, कसैलाई फोन डायल गरे जस्तो गर्थे र फेरि खल्तीमा राख्थे । अलि बेचैनी जस्तो अवस्थामा देखिन्थे उनी ।

‘तपाईंहरु गाडीको मान्छे हो ?’ रातोपाटीले ‘के भयो दाइ’ भनेर प्रश्न गर्दा उनले उल्टै प्रतिप्रश्न गरे । उनको ध्यान खल्तीको मोबाइलमा र आँखा कोटेश्वरतिरको सडकमा थियो । उनको नाम छविराम विश्वकर्मा रहेछ । उनी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोट हाल्न आफ्नो गाउँ सिन्धुलीको महादेवडाँडा जाँदै रहेछन् ।

‘बिहान साढे ५ बजे नै जडीबुटी चोकमा आइपुग्नु भनेको थियो, उसले भनेको समयभन्दा अघि नै आइपुगें, यहाँ आएर हेर्दा न गाडी आएको छ, न उसको फोन लाग्छ, मोबाइल नै अफ गरेको छ,’ केहीबेर कुराकानी गरेपछि विश्वकर्माले बेचैनीको कारण खुलाए ।

कुन पार्टीको गाडीमा आफू जाँदैछु भन्ने उनलाई थाहा रहेछ । सायद उनले आफ्नो पार्टीलाई भोट दिँदैनन् भन्ने बुझेपछि उनलाई गाउँ लान तयार भएको व्यक्ति फोन अफ गरेर अर्काे बाटो लागेको पनि हुन सक्छ ।

जडीबुटी चोकमा भेटिएका तलक मगर भोट हाल्नका लागि रामेछापको खाडाँदेवी जान लागेका हुन् । काठमाडौंमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै रहेका मगर आफ्नो मताधिकार प्रयोग गर्न गाउँ जान लागेका हुन् । उनी पनि पार्टीले व्यवस्था गरेको गाडीमा जान लागेका छन् ।

सप्तरीको फत्तेपुरमा मताधिकार प्रयोगका लागि सपरिवार जान लागेका देवी कार्कीलाई पनि गाडीको व्यवस्था रहेछ । सुनसरीको इटहरी जान लागेका एक युवा गाडी पर्खिरहेका थिए । २०७४ को निर्वाचनमा पहिलो पटक भोट हालेका उनी काठमाडौंको ग्लोबल कलेजमा एमबीए अध्ययनरत छन् । अहिलेसम्म लगातार भोट हाल्दै आएकाले यसपाली पनि छुटाउन मन नलागेको उनले सुनाए ।

कोटेश्वरबाट जडीबुटी आकाशेपुल नजिकै दुईवटा बोरामा सामान राखेर गाडी पर्खिरहेका भेटिए दिपेन्द्र कुमार सहनी । उनको स्थायी घर सर्लाहीको बलरा नगरपालिका हो । तर, उनी बाग्लुङबाट काठमाडौं आएका थिए । र, उनी दोलखाको सित्का जानुपर्ने छ ।

‘बागलुङको एउटा स्कुलमा पढाउँथेँ, मावि दरबन्दी पाइयो, त्यसैले दोलखाको सित्का जान लागेको तर, गाडी नै रहेनछ,’ सहनीले भने ।

चुनाव नजिकिएपछि राजनीतिक दलहरुले आफ्ना मतदाता गाउँ लैजान सबै गाडी बुक गरेका छन् । दलहरुले गाडी लगेपछि सो क्षेत्रमा चल्ने अरनिको यातायातले मंसिर १ गतेदेखि नै काउन्टरबाट टिकट काट्न बन्द गरेको छ । टिकट खोज्न जानेहरुलाई नजिकैको सडकमा रहेका गाडीमा निःशुल्क चढ्न सुझाव दिइरहेका छन् काउन्टरका कर्मचारीहरु ।

आज बिहान जडीबुटी चोकमा गाउँ जानेहरुको भिड देखिन्थ्यो । उनीहरु आगामी ५ वर्षका लागि आफ्नो क्षेत्रका ‘माननीय’ चुन्न गाउँ जाँदै थिए । र, राजनीतिक दलहरु पनि अबको ५ वर्ष सरकार बनाउने लाइसेन्स पाउनका लागि आफ्ना मतदातालाई गाडीमा ओसार्न व्यस्त देखिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप