मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अब प्रकाशमानको दाबी प्रधानमन्त्री पदमा !

मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : १४
मङ्गलबार, ०६ मङ्सिर २०७९

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् । 

उनले मतदाताको भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए । उनले भने, ‘मलाई चौथो पटक काठमाडौँ १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरूलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनासो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौँका नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । बागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरे । उनले भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरूको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेसमा जान्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरूसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’

सत्ता गठबन्धनबाट साझा उम्मेदवार काँग्रेस नेता सिंह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी बनेका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सके । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप