एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
सारांश
- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले विराटनगरमा भेला आयोजना गरी पार्टी नेतृत्वको कार्यशैली र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
- नेताहरूले पार्टीभित्र गुटबन्दी, मानवताको अभाव र विधि-विधान विपरीतका गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
- विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षको विरुद्धमा देउवा, कोइराला र सिटौला समूह एक भएका छन् ।
विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद र शक्ति संघर्ष कोशी प्रदेशबाट थप चर्किने देखिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापा पक्षको विरुद्धमा यसअघि छुट्टा छुट्टै समूहमा रहेर गतिविधि गरिरहेका तत्कालीन सभापति शेरबहादुर देउवा समूह, नेता शेखर कोइराला समूह र कृष्ण सिटौला समूहले विराटनगरमा आइतबार भेला आयोजना गरेसँगै यस्तो स्थिति देखिएको हो ।
उक्त समूहले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेताहरूले पार्टीको वर्तमान नेतृत्व, कार्यशैली र क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘वृहत् एकता, साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई र पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद केदार कार्कीले विशेष महाधिवेशनबाट आएको नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गरे । पत्रकार सम्मेलनमा नेताहरूले पार्टीभित्रको चरम गुटबन्दी, मानवताको अभाव र विधि–विधान विपरीत गतिविधि भइरहेको भन्दै विरोध गरे ।
नेपाली कांग्रेसकोशी प्रदेश समितिको ब्यानरमा हुन लागेको भेला विराटनगरस्थित मनास्लु होटलमा हुनेछ । भेलाको मूल नारा वृहत् एकता, साझा प्रतिबद्धता, हाम्रो भविष्यको सुनिश्चितता र ‘तपाईको उपस्थिति – कांग्रेसको शक्ति !’ जस्ता नारा राखिएको छ ।
यस प्रदेश स्तरीय बृहत् भेलाका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रहनेछन् । भेलालाई केन्द्रीय तहका नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बल बहादुर केसी, एन.पी. साउद, राजीव कोइरालालगायतले सम्बोधन गर्ने बताइएको छ ।
भेलामा कोशी प्रदेशका १४ वटै जिल्ला, पालिका तथा वडा तहका पदाधिकारीहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरू र कार्यकर्ताहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईले पार्टीको पुरानो छवि र चरित्र हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
‘तत्कालीन पार्टी सभापति शेरबहादुर देउवामाथि त्यति विघ्न ठुलो सांघातिक हमला भयो, तर मानवीय रूपमा हाम्रो पार्टीभित्र शेरबहादुर देउवालाई आक्रमण भएको कुरामा विज्ञप्ति पनि आएन । यतिबेला तपाईंहरू कल्पना गर्नुहोस्, बिपी कोइराला यतिबेला हुनुहुन्थ्यो र यही घडीमा बिपी कोइरालाले जेल जीवन आठ वर्ष भोग्दै गर्नुभएको हुन्थ्यो भने हाम्रा पार्टीका नेताहरू बिपीलाई भेट्न जानुहुन्थ्यो कि जानुहुन्नथ्यो ? तर अहिलेको रूपमा हेर्नुभयो भने जानुहुन्नथ्यो जस्तो देखिन्छ,’ उनले भने, ‘जेनजी आन्दोलनको आरोपमा पूर्व गृहमन्त्री रमेश लेखकलाई मुद्दा चलाएर कारागार चलान गर्दै गर्दा, कस्टडीमा राख्दै गर्दा पनि पार्टीका शीर्षस्थ नेतृत्वहरू भेट्न जानुभएन । भनेपछि बिपी कोइरालालाई त्यो बेलामा भेट्न जानुहुन्थ्यो होला र ? त्यसैले कांग्रेसको चरित्र पनि हरायो । हामी कांग्रेसको चरित्र पनि निर्माण गर्न चाहन्छौँ, पुरानो छवि कायम गराउन चाहन्छौँ र कांग्रेसभित्र मानवता पलाओस् पनि भन्न चाहन्छौँ ।’
पार्टीभित्र हालै सुरु गरिएको क्रियाशील सदस्यता अद्यावधिक (अपडेट) गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै महामन्त्री राईले यसलाई कब्जा गर्ने रणनीतिको रूपमा ब्याख्या गरे । ‘अद्यावधिक त वर्षैभरि गरिरहने कुरा हो । पार्टी कुनै पनि किसिमले कब्जा गरिरहने हो कि भन्ने हाम्रो आशङ्का हो । त्यसकारण पनि हामीले दबाब दिनुपर्ने भयो । पार्टी बृहत् रूपमा एकता हुनुपर्छ भन्नका खातिर यो आयोजना गरिएको हो,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने र कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउनेहरू नै अहिले सदस्यता अद्यावधिक गर्न हतारिएको उनले बताए । ‘हिजो कांग्रेसको विरुद्धमा लाग्ने साथीभाइहरूले सबैभन्दा चाँडो अद्यावधिक गरे । किनभने छिटो–छिटो देखिनु परेको छ । हामीलाई के कन्फिडेन्स छ भने हामी रुखमा भोट हालेको, रुखमा भोट मागेको, लडेको, भिडेको मान्छेलाई यो कांग्रेस कसैले लान सक्दैन । तर जसले हिंजो बिगार्नुभएको थियो, उहाँहरूलाई छिटो–छिटो गर्नु परेको छ,’ राईले भने ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी नेतृत्वको बौद्धिक क्षमता र सांगठनिक बुझाइमाथि नै प्रश्न गरे । विशेष महाधिवेशनको मागबाट आफू पछि हटेको भन्ने चर्चाको खण्डन गर्दै उनले आफू सधैँ पार्टीको विधि र ट्र्याकमा रहेको दाबी गरे । ‘म रिटर्न ब्याक भएको होइन, म ट्र्याकमा छु । र तपाईंहरूले राम्ररी सुन्नुभयो भने हामीले विशेष महाधिवेशन अगाडि के भन्यौं भने नियमित महाधिवेशन हुनुपर्छ । निर्वाचन अगाडि नियमित महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशन गरेर भए पनि फ्रेस लिडरसिप लिएर निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो अभियान थियो,’ उनले भने ।
पार्टी नेतृत्वले अद्यावधिक शब्दको गलत व्याख्या गरेर कार्यकर्ता अलमल्याएको आरोप लगाउँदै उनले थपे, ‘अद्यावधिक भनेको पुनः नवीकरण होइन । त्यसैले अहिलेका केन्द्रीय समितिका मान्छेहरू कि त किताब पढेका, तर शब्द अर्थ नबुझेकाहरू भए, त्यसकारण यिनीहरूसँग बस्नु हुँदैन, यिनीहरूलाई दण्ड अराउनुपर्छ भन्ने कुरा हो । अद्यावधिक होइन, हाम्रो कि त पुनः नवीकरण भन्नु पर्यो । लहडमा, आवेशमा बोलेर देश चलाउने र पार्टी चलाउने कुरा हुँदैन ।’
कार्कीले सभापति गगन थापा लक्षित प्रहार गर्दै नेतृत्वले पार्टीलाई गुटको सङ्कुचित घेराभित्र राखेको आरोप लगाए । ‘हामीले छानेको नेतृत्व बरालिन लाग्यो, अल्लारे बन्यो । पार्टीको यत्रो बोझ लिन सकेन । ५४ प्रतिशतको मात्रै नेता हुन्छु भन्छ । हामीले त नेपाली कांग्रेसको शतप्रतिशतको सभापति छान्न खोजेको हो । म बोझ नै लिन्न भनेपछि हामीले होइन, तिमी शतप्रतिशतको हुनुपर्छ भन्ने हाम्रो अभियान हो,’ कार्कीले भने, ‘क्रियाशील सदस्यता अद्यावधिकको नाममा पार्टीलाई कब्जा गर्न खोजिएको छ, यसले पार्टीलाई हित गर्दैन । हामी कांग्रेसका सच्चा कार्यकर्ता हौँ । हिजो बागी उम्मेदवार उठेकाहरूले पनि आज अद्यावधिक गरिसकेको परिस्थिति छ । यो त कस्तो हो भने हिजो मतदान नगर्नेहरू चाहिँ अत्तालिँदै, आत्तिँदै, बा छुटिइहालिन्छ कि, बा खुस्किइहालिन्छ कि भनेर लागिरहेका छन् ।’
नेपाली कांग्रेसको इतर पक्षले विराटनगरमा गरेको यो कार्यक्रम केन्द्रीय राजनीतिकै प्रतिविम्ब भएको पार्टीका नेताहरू बताउँछन् । डा. शेखर कोइराला पक्षले कोशी प्रदेशलाई आफ्नो बलियो गढ मान्दै आएको छ भने र सभापति गगन थापा पक्षले यहाँ आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन् । विशेष गरी क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने विषयलाई लिएर दुई पक्षबिच लामो समयदेखि विवाद जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण