शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटौलाको पराजयसँग जोडिएको ‘विचारधारा’

शुक्रबार, ०९ मङ्सिर २०७९, १९ : ५६
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–३ लाई निकै चाखका साथ हेरिएको थियो, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला मुख्य प्रतिस्पर्धी थिए । उनीहरुबीचको चुनावी प्रतिस्पर्धामा विचारधारा मिसिएको थियो ।

लिङ्देन हिन्दु राज्यको वकालत गर्छन् भने सिटौला वर्तमान संविधानमा उल्लेखित धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थाका जबरजस्त पक्षधरका रुपमा परिचित छन् । संविधानसभामा मस्यौदा समितिको संयोजक भएकाले पनि वर्तमान व्यवस्थाप्रति सिटौलाको गहिरो लगाव छ ।

झापा–३ ले गणतन्त्र रोज्छ कि राजतन्त्रका पक्षपाती भन्नेमा प्रश्न मिश्रित कौतुहलता थियो । लिङ्देनको साथमा एमाले थियो भने सिटौला सत्ता गठबन्धनको साझा उम्मेदवार थिए । एमालेको बलमा यस पटक पनि झापा–३ ले राजतन्त्र पक्षपाती राजेन्द्र लिङ्देनलाई संघीय सांसदका रुपमा निर्वाचित गरायो ।

लिङ्देनले ३ हजार २७६ मतान्तरले सिटौललालाई पराजित गरे । लिङ्देनले ४० हजार ६४८ मत ल्याएर जित हात पार्दा सिटौलाले ३७ हजार ३२७ मतमात्र पाए ।

योसँगै राजनीतिको उत्तरार्द्धमा रहेका सिटौलाको संसद् यात्रामा ब्रेक लाग्यो । उपनिर्वाचनसमेत गरी संसदीय निर्वाचनमा ८ पटक उम्मेदवार बनेका सिटौलाको यो पाँचौं पराजय हो ।

झापा–३ मा लिङ्देनसँग सिटौलाको लगातारको पराजयलाई विचारधारासँग जोडेर व्याख्या गर्न थालिएको छ । मुलुकबाट राजतन्त्रलाई पाखा लगाउन मुख्य समन्वयकारी भूमिका खेलेका सिटौलालाई लिङ्देनले राजनीतिक रुपमा किनारा लगाइदिए ।

सिटौलाले माओवादीसँगको शान्ति वार्तादेखि राजतन्त्र अन्त्यका सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेका थिए । तर तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको नेता हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका तथा राजतन्त्र र हिन्दु राष्ट्रका पक्षपाती लिङ्देनसँगको प्रतिस्पर्धामा उनी पराजित भए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका हिमायती सिटौलालाई राजसंस्थाका पक्षधर लिङ्देनले हराउँदा हिन्दु राष्ट्र र राजावादीको सामाजिक सञ्जालमा उत्साह देखिन्छ ।

लिङ्देन पञ्चायतकालमा झापामा राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्वमा थिए । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले गरेको ‘कू’ पछि उनी जिविस झापाको मनोनित सभापति भए । लोकतन्त्र स्थापनापछि उनी लामो समय गुमनामजस्तै थिए । २०५६ मा सिटौलाविरूद्ध चुनाव लड्दा तेस्रो भएका उनी ०६४ पहिलो संविधानसभा चुनावी मैदानमा आएनन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–३ मा उनी सिटौलाविरुद्ध चुनावी मैदानमा उत्रिए । चुनाव सिटौलाले जिते पनि उनी मुख्य प्रतिस्पर्धी बन्दै दोस्रो भए । २०७४ मा वाम गठबन्धनको साथमा उनले सिटौलालाई पराजित गरे ।

०७४ मा कांग्रेसले सिटौलालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो । तर सिटौलालले प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने निधो गरे । देशभर कांग्रेस र तत्कालीन राप्रपाबीच चुनावी तालमेल हुँदा झापामा राप्रपा र वाम गठबन्धन एक ठाउँमा उभिए । परिणामस्वरुप लिङ्देनसँग सिटौला पराजित भए ।

राप्रपाले थ्रेसहोल्ड कटाउन नकसेर राष्ट्रिय पार्टीसमेत बन्न नसकेपछि संसदमा लिङ्देनको उपस्थिति थियो । तर उनी संसदको भिडमा हराएनन् । योबीचमा कमल थापालाई राप्रपाबाट पाखा लगाएर उनी नेतृत्वमा उदाए ।

सिटौलालाई दोस्रो पटक पराजित गर्दै लिङ्देनले राष्ट्रिय राजनीतिको मैदानबाट बाहिर राखिदिएका छन् । संघीयता, धर्म निरपेक्षता र गणतन्त्र नरूचाउने एउटा समूहको आकर्षण बनेका लिङ्देन आफै लिम्बू समुदायका सदस्य हुन् । आदिवासी जनजाति समुदायका सदस्य उनले आफ्नै समुदायले पाउने आरक्षणको विपक्षमा उभिएर आरक्षण विरोधीहरूको पनि समर्थन बटुल्दै गए ।

कांग्रेसको १४ औं महाधिवेशनबाटै पार्टीमा युवालाई मौका दिने घोषणा गरेका सिटौलाको संसदीय राजनीतिमा समेत अब करिब–करिब पूर्णविराम लागेको छ । मत गणनाको सुरुवाती चरणमै सिटौला पछाडि परेपछि सूर्यराज आचार्यले राजेन्द्र लिङदेनबाट सिटौलाको पराजय गणतान्त्रिक व्यवस्थामा सुहाउँदिलो नहुने टिप्पणी गरेका थिए ।

उनी भन्छन्, ‘१२ बुँदे र गणतन्त्रविरुद्ध नै जनताको मत देखिने गरी कांग्रेसले किन यस्ता उम्मेदवार उठाउने हुस्सु काम गरेको हो ?’

१२ बुँदेदेखि गणतन्त्रको घोषणासम्म केन्द्रीय भूमिका खेलेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई किन सधैँ हार्ने ठाउँबाट टिकट ? भन्ने आचार्यको प्रश्न थियो । घोषित रुपमै गणतन्त्र विरोधी नेताबाट सिटौला पराजित हुने कुराले १२ बुँदे र गणतन्त्रविरुद्ध नै जनताको मत देखिएको उनको भनाइ छ । यो व्यवस्था कै लागि पनि अलि अप्ठ्यारो लाग्ने कुरो भएको आचार्यले बताए ।

सिटौला थप संकटमा

पछिल्लो समय कांग्रेस र सत्ता गठबन्धनभित्र सिटौला मध्यस्थकर्ताको भूमिकामा थिए । सत्ता गठबन्धनमा सिट बाँडफाँटको नेतृत्व सिटौलाको काँधमा थियो । सिटौलाले सत्ता गठबन्धनलाई सफल रुपमा चुनावी मैदानमा उतारेका थिए ।

सत्ता गठबन्धनको साथमा कांग्रेस पहिलो पार्टी बन्ने दिशामा छ । तर सत्ता र संसदीय राजनीतिका चतुर खेलाडी सिटौला भने आफै संसदमा आउन असफल भए ।

सिटौला ०३३ सालदेखि संगठित रूपमा कांग्रेसमा लागेका थिए । ०४३ मा उनी झापा जिल्ला उपसभापति भए । ०४६ सालमा झापामा जनआन्दोलनको नेतृत्व गरेका सिटौला बहुदलपछि कांग्रेसको जिल्ला सभापति भए । ०५६ मा पार्टीको केन्द्रीय समन्वय विभाग प्रमुख भएका उनी १० औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भए ।

उनी त्यसबेला कृष्णप्रसाद भट्टराईसँग नजिक थिए । पछि उनी गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बने । उनलाई कांग्रेसको गिरिजाकालीन समयमा गृहमन्त्रीसम्म बन्ने अवसर मिल्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधान, रक्षा, कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री बन्ने अवसर पनि सिटौलाले पाए ।

गिरिजाप्रसादको उत्ताराधिकारी सुशील कोइरालाले सिटौलालाई पार्टीको महामन्त्री बनाए । १३ औं महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदवार बने सिटौला पराजित भए । १४ औं महाधिवेशनसम्म उनी कांग्रेसमा तेस्रो धार बनाएर अस्तित्वमा थिए । यतिबेला भने उनी पार्टी राजनीतिबाट विश्राम लिने अवस्थामा पुगे । महाधिवेशनको मुखैमा आफ्नो समूहलाई देउवा समूहमा विलय गराएका उनलाई देउवाको नजिक बसेर ‘पावर एक्सरसाइज’ गर्ने उद्देश्यमा भने धक्का लागेको छ ।

सिटौलाको बलमा टिकट पाएका प्रदीप पौडेल बाहेक सबै पराजित भएका छन् । बारा–१ मा उमाकान्त चौधरी, काठमाडौं–६ मा भिमसेनदास प्रधान र काभ्रे–२ मा शिवप्रसाद हुमागाईँ पराजित भए, जो सिटौला निकट मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप