शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

बालनिबन्ध : समस्याका कारण

शनिबार, १० मंसिर २०७९, १० : ५९
शनिबार, १० मंसिर २०७९

जीवनमा समस्या अनेक हुन्छन् । आइरहन्छन्, गइरहन्छन् । एउटा जान भ्याएको हुन्न अर्को खडा भइसकेका हुन्छ । केमा छैन समस्या ? कहाँ छैन समस्या ? जहाँ पनि छ, जहिले पनि छ । संसार आफैँ समस्याको पोको हो । जीवन आफैँ समस्याको घर हो तर ती सबै नजान्दासम्म समस्या हुन् । मूल पत्ता नलाग्दासम्म समस्या बनेर दुःख दिने हुन्छ । जरो पत्ता लाग्नासाथ अथवा भनौँ पत्ता लगाउन सक्नासाथ स्वतः समाधान बनेर सुख दिन थाल्छन्, थाल्ने छन् ।

साँच्चै भन्ने हो भने हामीले जसलाई समस्या भनेका छौँ, ठानेका छौँ ती आफैँमा समस्या नै होइनन् । हामीले नै मानेका हौँ, ठानेका हौँ । उसको आफ्नै न रूप छ न रङ्ग नै भेटिन्छ । खासमा हामी जस्तो छौँ त्यस्तै हुन्छ, बनिदिन्छ ऊ । यस अर्थमा भन्न्ुपर्दा यसलाई हाम्रो आफ्नै प्रतिविम्ब भन्नुपर्ने हुन्छ । 

वास्तवमा नचाहेको चीज प्राप्ति र चाहेको चीज  अप्राप्ति अर्थात् प्राप्तिको मार्गमा उत्पन्न हुने विभिन्न खाले वाधा–व्यवधान नै समस्या हुन् । हामीले केही चाहेका थियौँ, पाएनौँ यही नै समस्या हो, समस्या भयो । यतिबेला हामीले चाहेको चीज नपाउनुमा जे जस्ता वाधा, व्यवधान खडा भएका थिए, आएका थिए ती सबै समस्याकै विविधरूप हुन् ।  

हामी मानौँ नमानौँ यो हाम्रो कुरा हो तर समस्या हाम्रै जीवनको पर्याय हो । यो जहाँ पनि छ र जहिले पनि छ । हामीसितै छ, हामीभित्रै छ । जीवनमा समस्या, जगतमा समस्या, जहाँ पनि समस्या, जता पनि समस्या, जहिले पनि समस्या, समस्या नै समस्या । तथापि मूल खोज्दै जान थाल्यौँ भने यसका दुईवटा रूप भेट्टाउन सकिन्छ, जसलाई रिस र लाग भनिन्छ । यसलाई अर्को शब्दमा लोभ र क्रोध भन्न सकिन्छ । अथवा राग र द्वेष भन्न पनि भन्न सक्छौँ । गीतामा कृष्णले यसको राम्रो व्याख्यान दिएका छन् । यस आलेखमा यीमध्ये लोभका बारेमा चर्चा केन्द्रित गर्ने प्रयास गरिएको छ ।

भाइबहिनीहरूलाई थाहा हुनुपर्छ आफूले चाहेको चीज प्राप्त हुँदा लोभ बढ्छ । एउटा चीज पाएको हृुन्न वा पाउन भ्याएको हुन्न अर्को चीजको आवश्यकता परिसकेको हुन्छ । मानौँ हामी कतै जाँदै थियौँ । सुरूमा गाडी चड्न नसकेर हैरान थियौँ । गाडी खचाखच भरिएको थियो । खुट्टा राख्नेसम्म ठाउँ पाए हुन्थ्यो भन्ने लागि रहेको थियो । बल्लबल्ल गाडी चड्यौँ तत्कालै बस्ने सिट पाए हुन्थ्यो भन्ने लागिसकेको हुन्छ । बल्लबल्ल सिट पायौँ तत्कालै सुत्न पाए हुन्थ्यो भन्ने लागिसकेको हुन्छ । मानौँ गाडी खाली हुँदै गयो र सुत्ने स्थान पनि पायौँ लगत्तै उठ्न मन लागिसकेको हुन्छ ।

उठ्न भ्याएको हुन्न बस्न मन लाग्ने, बस्न भ्याएको छैन सुत्न मन लाग्ने । सुत्न भ्याएको हुन्न उठ्न मन लाग्ने । त्यस्तो नहुनासाथ त्यसैले समस्या बनेर दुःख दिहाल्ने । यही हो संसार, यही हो जीवनको यथार्थ । यो एउटा दृष्टान्त हो । हरेक कुरामा यस्तै नियमले काम गरेको हुन्छ ।

साइकल नहुँदा पनि चलेकै थियो । साइकल पायौँ मोटर साइकल इच्छा गर्न थाल्यौँ । मोटर सइकल पाउन भ्याइएको हुन्न गाडीको आवश्यकता परिसकेको हुन्छ । एउटा गाडी हुनासाथ मनले अर्को गाडी खोजिसकेको हुन्छ । एउटै घर नहुँदा डेराले पनि चलेकै थियो । बल्लबल्ल एउटा घर बनाइयो त्योभन्दा राम्रो घर चाहियो । बिस्तारै त्यतिले पुगेन अर्को घर चाहियो ।  

भनिन्छ लोभको भाँडो कहिल्यै भरिँदैन । लुतो कन्याएको जस्तो, जति कन्यायो उति कन्याउन मन लाग्ने, जति खायो उति खान मन लाग्ने, कस्तोकस्तो । खाएर कहिल्यै नअघाउने, देखेर,  हेरेर, सुँघेर, छोएर कहिल्यै नअघाइने ।

मानौँ कुनै उकालो चड्दै छौँ । चड्दाचड्दै उकालो सकिएला तर चडाई सकिएको छैन, सकिँदैन । सुरूमा लाग्न सक्छ उकालो त्यति नै हुनुपर्छ, जो चड्दै गरेका छौँ तर जब त्यसको टुप्पोमा पुगिन्छ त्यत्तिकै अग्लो, सके त्योभन्दा पनि अग्लो अर्को पहाड, अर्को उकालो खडा भइसेको हुन्छ । 

त्यसैगरी मानौँ हामी कुनै सम्मपरेको ठाउँमा उभिएका छौँ । उभिएर चारैतिर हेर्दै छौँ । हाम्रा आँखा क्षितिजसम्म पुगेका छन् । कतै इन्द्रधनुष जस्तो रङ्गीचङ्गी दृष्य देखिएका छन्, कतै मृगतृष्णा जस्तो देखिएको छ । त्यतिबेला हामीलाई लाग्न सक्छ त्यहीँसम्म संसार हो, त्यहीँसम्म संसारको क्षितिज हुनुपर्छ तर त्यो रूपमा मात्र हो, सारमा होइन । वास्तविकता त्यस्तो छैन, हुँदैन । जहाँसम्मको स्थान देखेका थियौँ त्यहाँ पुगेर हे¥यौँ भने त्यस्तै र त्यत्रै अर्को संसार त्यसभन्दा पर देखिरहेका हुन्छौँ ।

अथवा मानौँ एउटा बालक आँगनमा उभिएर आकाशतिर हेर्दैैछ । यतिबेला ऊ आकाशलाई एउटा नीलो भकुण्डो जस्तो देखेर दङ्ग पर्छ । यतिबेला उसलाई लाग्न सक्छ आकाश भनेको त्यहाँसम्म मात्र हो तर स्वयं आकाश भने त्यहाँसम्म मात्र हुँदैन । त्यहाँ पुगेर हे¥यो भने आकाश त्यति नै पर रहेको पाउनेछ । आकाशको न अन्त्य छ न आदि नै । त्यसैले ऊ आकाश हो, उसलाई आकाश भनिएको हो ।

यही हो लोभ भनेको, यही हो लोभको चमत्कार भनेको, यस्तै हो लोभको अवस्था भनेको । जति हे¥यो उति हेरौँहेरौँ लाग्ने, जति पायो उति पाउँपाउँ लाग्ने, जति खायो उति खाउँखाउँ लाग्ने, खाएर र पाएर कहिल्यै नघाउने । हामी जति लोभ गर्दै जान्छौँ त्यति नै बढ्दै जान्छ र एउटा अन्त्यहीन सृङ्खला सुरू हुन्छ, जसले कहिल्यै चैनको निद सुत्न दिँदैन ।

यसको अर्थ लोभ गर्नुहुन्न भन्ने होइन, गर्नुपर्छ । यो विना व्यवहार नै चल्दैन तर त्यति मात्र गर्नुपर्छ जतिले व्यवहार चल्छ । आवश्यकता भन्दा बढी लोभ गर्न थालियो भने तत्कालै समस्या बनेर दुःख दिन थाल्छ, जसले कहिल्यै सुख दिने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप