शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ १ मा काँग्रेसका लिम्बू निर्वाचित

शनिबार, १० मङ्सिर २०७९, २१ : १८
शनिबार, १० मङ्सिर २०७९

मोरङको क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । उनले यसअघिका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडालाई पराजित गरेका हुन् ।  लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याए । अन्तिम समयमा लिम्बूले अग्रता लिएर विजय भएका हुन् । 

खतिवडा र लिम्बूको प्रतिस्पर्धाको इतिहास

२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेदवार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । हाल प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका डिकबहादुर लिम्बूलाई भने खतिवडाले २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन लेटाङको गाविस अध्यक्षमा पराजित गरेका थिए । 

त्यसपछि भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिम्बूसँग पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा उनै लिम्बूलाई पराजित गर्न सफल भएका थिए ।

यता, २०६४ सालको निर्वाचनमा माओवादी उम्मेदवार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने  संविधानसभा सदस्य बन्न सफल भए । त्यसबेला लिम्बूले तत्कालीन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।  

पुनः २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडाले ३७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । दोस्रो स्थान ल्याएका परिचित प्रतिस्पर्धी काँग्रेसका लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप